धितोपत्र बोर्डको अध्यक्ष सष्टलिष्ट नामावलीप्रति अर्थमन्त्रीको असन्तृष्टी

४ बैशाख २०८१, मंगलवार १५:२६

काठमाडौं । गत पुस २० यता रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष छनोट प्रकृया अझ लम्बिने भएको छ। पहिलो चरणमा छानिएका उम्मेदवारको विषयमा अर्थमन्त्री वर्षमान पुन सहमत नभएपछि प्रक्रिया लम्बिने भएको बुझिएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना उम्मेदवार छनोट गरेको थियो । सो छनोट समितिले चयन गरेको सष्टलिष्टको नामावलीप्रति अर्थमन्त्रीले असन्तृष्टी जनाएको बुझिएको छ ।

अर्थमन्त्री बैशाखकोे पहिलो साता अमेरिकाको कार्यक्रमको लागि प्रस्थान भईसकेका छन् ।

अमेरिका भ्रमण जानु अघि नै बोर्डमा सष्टलिष्टमा चयन भएकामध्ये छनोट गर्ने बाटो नदेखिएपछि उनी अमेरिका भ्रमण गएर आएपछि मात्रै छनोट प्रकृया अघि बढाउने भएको हो । वैशाख१० गतेसम्म अर्थमन्त्री देशबाहिर जाँदै हुनुहुन्छ, उहाँ फर्केपछि मात्र प्रक्रिया अघि बढ्ने देखिन्छ,’ स्रोतले जानकारी दिएको छ।

समितिले निकै ढिलो गरी आवेदन आह्वान गरेको र आवेदन प्राप्त भएको करिब एक महिनापछि मात्र पहिलो चरणको छनोट गरेकाले त्यसै पनि अध्यक्ष चयन प्रक्रियामा ढिलाइ भएको छ । यसैबीच पहिलो चरणमा छनोट भएकाहरूको कार्यपत्र प्रस्तुति प्रक्रिया नै रोकिएपछि अध्यक्ष चयन अनिश्चित बनेको हो ।

श्रेष्ठ संयोजक रहेको सिफारिस समिति सदस्यमा अर्थ सचिव कृष्णहरि पुष्कर र विज्ञ सदस्यमा उदय निरौला छन् । खासगरी सिफारिसमा परेका पाँच जनामध्ये सन्तोष नारायण श्रेष्ठका नाममा अर्थमन्त्री पुन सहमत नभएपछि पहिलो चरणमा छानिएका सबैको कार्यपत्र प्रस्तुति रोकिएको हो ।

सिफारिस समितिले गत फागुन १६ मा आवेदन आह्वान गरेको थियो, जसमा १९ वटा आवेदन परेको थियो । त्यसमध्ये पहिलो चरणमा गत आइतबार पाँच जना कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं, नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठलाई छनोट गरेको थियो । छनोट भएकाहरूलाई कार्यपत्र प्रस्तुतिका लागि बिहीबार (चैत २९) डाकिएको थियो ।

तर, कुनै औपचारिक सूचना जारी नगरी गत बुधबार अर्थ मन्त्रालयका कर्मचारीले उम्मेदवारहरूलाई टेलिफोन गरेर कार्यपत्र प्रस्तुति स्थगित भएको जानकारी दिएका थिए ।
यसअघि धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्दा तत्कालीन सिफारिस समितिले पहिलो चरणमा पाँच जना छनोट गरेसँगै जारी भएको सूचनामा उनीहरूको कार्यपत्र प्रस्तुति र अन्तर्वार्ताको दिन र समय पनि तोकेको थियो ।
‘यसपालि न कार्यपत्र प्रस्तुतिको तालिका सार्वजनिक गरियो, न त स्थगित भएको सूचना नै जारी भएको छ।
अर्थ मन्त्रालय र सिफारिस समितिका संयोजक एवं सदस्यहरूलाई पटकपटक सम्पर्क गर्दा उनीहरूले औपचारिक रूपमा केही बताउन चाहेका छैनन् ।

बोर्डको अध्यक्षका लागि उल्लिखित पाँच जनासहित कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट, नीरज गिरी, केशवप्रसाद श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, रघुराज काफ्ले, प्रविन पन्दाक, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, विमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल र मुक्ति अर्यालले आवेदन गरेका थिए । पहिलो चरणमा छनोटमा परेका पाँच जनामध्ये कृष्णबहादुर कार्की हाल नेप्सेका प्रमुख कार्यकारी अधिकृत हुन् ।

नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन भने चिरञ्जीवी चापागाईं साविकको नेपाल बिमा समितिका पूर्वअध्यक्ष हुन् । सन्तोष नारायण श्रेष्ठ जलविद्युत् कम्पनी र लघुवित्त वित्तीय संस्थाका सेयरधनी हुन् ।

पछिल्लो समय राजनितिकर्मी मात्रै हैन व्यवसायिक घरानाको आँखा पनि धितोपत्र बोर्डमा रहेको छ ।

व्यवसायिक घरानाका मान्छेलाई बोर्ड अध्यक्ष बनाउँदा आफ्नो हित हुने गरी विभिन्न संस्थाको लाइसेन्स फुत्काउन सकिने, प्रिमियममा सेयर निष्कासन गर्न सकिनेलगायत विभिन्न व्यावसायिक लाभ लिन सकिने भएपछि व्यवसायीहरू मरिहत्ते गरेरै भए पनि आफ्नो मान्छेलाई अध्यक्ष बनाउन लागिपरेको जानकारहरू बताँउछन् ।
अध्यक्ष छनोट प्रक्रिया नै पारदर्शी नभएपछि, छानिने व्यक्ति सर्तसहित आएपछि उसले गर्ने काम कारबाही ठीक नहुने पूर्व अध्यक्षको तर्क छ ।

बोर्डको अध्यक्षमाथि व्यापारीहरू पहिले अलि कम हाबी हुन्थे, तर तत्कालीन अध्यक्षद्वय भीष्मराज ढुंगाना र रमेशकुमार हमालको कार्यकालदेखि बाहिर छताछुल्ल हुने गरी नै व्यापारिक घरानाहरू हाबी हुन थालेका छन्,’ ती अधिकारीले थपे, ‘त्यतिबेला निश्चित व्यापारिक घरानाकै हितका लागि नीति र निर्देशिकाहरू परिमार्जन गरिएर, नाजुक कम्पनीहरूलाई पनि महँगो मूल्यमा सेयर जारी गर्न दिइयो, मनपरी रूपमा लाइसेन्स बाँडियो । यसरी चलखेल गर्न पाएपछि व्यापारीहरू जीउज्यान लगाएर शक्ति संघर्षमा लागेका हुन् ।

अब आउने अध्यक्षले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्नुपर्ने छ । यसकारण पनि व्यापारिक घरानाहरू आफ्नो मान्छे अध्यक्ष पठाउन शक्ति संघर्ष गरिरहेको देखिन्छ ।
धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन दिने अन्तिम म्याद गत फागुन ३० सम्म थियो । यसरी आवेदन दिने अन्तिम मिति सकिएको २५ दिनपछि मात्र समितिले सर्ट लिस्ट तयार पारेको थियो ।

समितिले पहिलो चरणमा छनोट गरेका ५ जनामध्येबाट दोस्रो चरणमा ३ जना छनोट गरी नियुक्तिका लागि सरकारलाई सिफारिस गर्नुपर्नेछ । समितिले सिफारिस गरेका ३ जनामध्ये एक जना सरकारले बोर्ड अध्यक्षमा छनोट गर्नुपर्ने व्यवस्था छ ।

बोर्ड अध्यक्षका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको व्यक्ति हुनुपर्नेछ । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनका लागि गठन भएको समितिले सोही दफाको उपदफा (५) मा रहेको व्यवस्थाबमोजिम कार्यविधि निर्धारण गरेको छ ।

गत पुस २० देखि सेबोनमा अध्यक्ष पद खाली छ । नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले गत माघ पहिलो साता सिफारिस समिति गठन गरेको थियो । अध्यक्ष नहुँदा कम्पनीहरूको प्रारम्भिक निष्कासन, हकप्रद, बोनस, ऋणपत्रलगायत सबै प्रकारका धितोपत्र निष्कासन अनुमति रोकिएको छ भने नयाँ लाइसेन्स र कारबाही प्रक्रिया ठप्प छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*