लघुवित्तका सूचकमा संकुचनः ४६ प्रतिशतले घट्यो लगानी, खराब कर्जा समेत निरन्तर उकालो

६ बैशाख २०८१, बिहीबार १३:३९

काठमाडौँ । लघुवित्तको लगानी विस्तार झन्डै ओरालो लागेको छ। राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले तयार पारेको लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार २०८० असार मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको लगानी विस्तारमा ४६.१३ प्रतिशत गिरावट आएको छ । अघिल्लो वर्षको असार मसान्तमा लघुवित्तहरुको लगानी २ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो । तर, गत असार मसान्तसम्म आइपुग्दा भने घटेर १ अर्ब ३७ अर्ब रुपैयाँमा सीमित भएको छ ।

२०८० असार मसान्तमा सरकारी सुरक्षणमा ८२ करोड, शेयर तथा डिवेन्चरमा ८ करोड, मुद्दती निक्षेपमा ४० करोड तथा सूचिकृत नभएको शेयरमा ४ करोड लगानीमा रहेको देखिन्छ । २०८० असार मसान्तमा शेयर तथा डिवेञ्चरमा लगानी भएको रकमको प्राथमिक पुँजीसँगको अनुपात ०.१५ रहेको छ भने अघिल्लो आर्थिक वर्षमा उक्त अनुपात ०.५६ रहेको थियो । लघुवित्त संस्थाहरुले यस बैंकको निर्देशन बमोजिम संगठित संस्थाको शेयर तथा डिबेन्चरमा गरेको लगानी विनिवेष गर्नुपर्ने व्यवस्थाका कारण २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा यस्तो लगानी ७२.१८ प्रतिशतले घटेको देखिन्छ ।

लघुवित्त वित्तीय संस्थाहरुको खराब कर्जा पनि बढेको छ । २०८० असार मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा निष्क्रिय कर्जा अघिल्लो वर्षको तुलनामा ७८.०९ प्रतिशलते बढेर २४ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

२०८० असार मसान्तसम्म निष्क्रिय कर्जाको अनुपात ५.६० प्रतिशत रहेको छ । राष्ट्र बैंकले एक लघुवित्त एक ऋणी नीति लिएपछि लघुवित्तको निष्क्रिय कर्जामा भारी वृद्धि भएको हो। लघुवित्तको २०७८ असार मसान्तसम्मको निष्क्रय कर्जा अनुपात २ दशमलब ७२ प्रतिशत रहेकोमा २०७९ असार मसान्तमा ३ दशमलब ०२ प्रतिशत र २०८० असार मसान्तसम्म आइपुग्दा निष्क्रिय कर्जा अनुपात बढेर ५ दशमलब ६० प्रतिशत पुगेको छ ।

लघुवित्त कम्पनीको कुल कर्जा सापटीमा समेत व्यापक गिरावट आएको छ । २०८० सालको असार मसान्तसम्म लघुवित्त कुल कर्जा अघिल्लो आवको तुलनामा ३ दशमलब ८८ प्रतिशतले गिरावट आई ४ खर्ब ३२ अर्ब २४ करोड पुगेको हो । केन्द्रीय बैंकको उक्त वार्षिक प्रतिवेदनमा केन्द्रीय बैंकको निर्देशनको प्रभाव र समग्र वित्तीय क्षेत्रमा कर्जाको मागमा आएको संकुचनका कारण कर्जाको मागमा व्यापक गिरावट देखिएको उल्लेख गरिएको छ ।

लघुवित्त कम्पनीको व्याज आम्दानीको वृद्धि दर ३२ दशमलब ५२ प्रतिशतबाट १ दशमलब ९६ प्रतिशतमा झर्दा व्याज खर्चमा भने दोहोरो अंककै वृद्धि देखिएको छ । व्याज आम्दानीको वृद्धि दर घटने तर व्याज खर्च भने बढने गर्दा लघुवित्तको सञ्चालन आम्दानीको वृद्धि दर विस्तारै ओरालो लागेको छ ।

Annual-Supervision-Report-of-MFIs-2079-80

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*