भूकम्प गएको नौ वर्षपछि पनि सरकारको प्राथमिकतामा परेन बीमा

१२ बैशाख २०८१, बुधबार १५:३१

काठमाडौं । भूकम्प पछिको नौ वर्षपछि पनि सरकारको प्राथमिकतामा बीमा क्षेत्र पर्न सकेन ।जोखिम रक्षावरण गर्ने माध्यम बीमा हो भनेर जनचेतना फैलाउने काममा प्राधिकरणले तिव्रता राखेपनि सरकारको प्राथमिकतामा बीमा नपर्दा बीमा आम जनस्तरसम्म पहुँच विस्तारमा धक्का परेको बीमाकर्मीहरु बताँउछन् ।

बजेटमा होस् वा सरकारी प्राथमिकतामा होस् बीमा प्रत्येक योजनामा छाँयामा नै पर्ने गरेको छ। बामे सर्दै गरेको बीमा प्राधिकरणलाई सरकारले प्राथमिकतामा नराखेको गुनासो बीमाकर्मीहरुको छ ।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रतिरोधी संरचना निर्माण र व्यवस्थित संरचनाका लागि भौतिक संरचनाहरूको अनिवार्य बीमा गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।भौतिक संरचनाको अनिवार्य बीमा गर्ने व्यवस्थामा जान आवश्यक रहेको बताउँदै मन्त्रिपरिषद्ले त्यसबारे अध्ययन गर्ने निर्णय गरेको बताएको जानकारी दिएपनि नौ बर्ष बितिसक्दा पनि यस बिषयमा कुनै निर्णय आउन सकेको छैन ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्रत्येक सार्वजनिक कार्यक्रममा सरकारले बीमाको निति ल्याउनुपर्ने र सरकारी संरचनाको बीमाको बिषयमा सरकारलाई सचेत गराउदै आईरहेका छन् ।सरकारबाट बीमा क्षेत्रलाई राहतको सट्टा पिडा दिने काम भएको छ । उधारो बीमा रोक्न लगाएको सरकारले कृषि बीमाको २ अर्ब रुपैयाँ अनुदान उधारो राखेर बीमा कम्पनीहरुलाई थप संकटमा पार्ने काम गरेको बीमक संघको धारणा रहेको छ।

त्यस्तै, कोरोना बीमाको दोस्रो चरणको रकम दिने बाटो सरकारले नदेखाँउदा बीमितमाझ कम्पनीको विश्वनीयता गुम्ने खतरा समेत बढेर गएको छ।२०७२ बैशाख १२ गतेको गएको विनाशकारी भुकम्पको असरबाट बीमा क्षेत्रमा केही सुधार हुने आश गरिपनि बीमा विज्ञहरुले सोचे अनुरुप विस्तार हुन सकेन ।

जोखिमको रक्षावरण गर्ने बीमा कम्पनीप्रति आम सर्वसाधारणको चेतना आएपनि भुकम्प गएको दिन बिर्सिदै बीमाको अवस्था पुरानै लयमा फर्कन थालेको देखिएको छ।नेपाल मात्रै नभएर सिंगै दक्षिण एसिया हल्लिएको भुकम्पमा भारतमा समेते केही सय मानिसको ज्यान गयो, कैयौं घरहरु भत्किए भने भुटान र बंगलादेशसम्म भुकम्पको धक्का पुग्यो । चीनतर्फ पनि केही मानिसहरु मरेर धनजनको क्षति भएको बिनाशकारी बैशाख १२ ले नेपाली बीमा क्षेत्रलाई जोखिम रक्षावरण सम्बन्धी ठूलो पाठ सिकाएर गएको थियो ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको नवौं स्मृति दिवस आज मनाइँदैछ ।

सम्पूर्ण नेपालीले बिर्सन नसक्दे दिन हो आज अर्थात वैशाख १२ । वि.सं.२०७२ वैशाख १२ गते मध्यान्ह ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.९ म्याग्निच्युडको भूकम्प गएको आज ७ वर्ष पुरा भएको छ ।

भूकम्पले गोरखा, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो । यसै १४ जिल्लालाई सरकारले अति प्रभावित जिल्ला भनि घोषणा समेत गरेको थियो । घनाबस्ती भएको राजधानी काठमाडौंबासीले पुरै पिङ् खेले ।

भुकम्पपछि गएको हजारौं परकम्पले करिब वर्षदिन भुकम्पमय भयो ।तथ्यांक अनुसार उक्त भूकम्पबाट ९ हजार मानिसको मृत्यु भएको थियो । अति प्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्लामा गरी भूकम्पबाट कुल ७ लाख ५५ हजार भन्दा बढी निजी घरहरुमा क्षति तथा नोक्सानी हुन पुगेको थियो । त्यसमध्ये ४ लाख ९८ हजार भन्दा बढी घरहरु पूर्ण रुपमा क्षति भएका थिए भने २ लाख ५६ हजार भन्दा बढी घरहरु आंशिक रुपमा क्षति भएका थिए । २०७२ सालको महाभूकम्पका कारण ठूलो मात्रामा मानवीय र भौतिक क्षति समेत हुन पुगेका कारण नेपाली बीमा क्षेत्र मात्रै नभएर विश्वकै बीमा क्षेत्रले बैशाख १२ लाई बिर्सन सक्दैनन् ।

२०७२ बैशाख १२ मा गएको भुकम्पबाट निर्जीबन बीमातर्फ त झनै ठूलो क्षति गरेको थियो । अनौपचारिक तथ्याङ्क अनुसार बिनाशकारी भुकम्पका कारण सात खर्ब ६ अर्ब बराबरको क्षति भएको थियो । सो क्षति मध्ये धेरै कम मात्रामा बीमा भएको भएपनि बीमा क्षेत्रमा ठूलो मात्रामा दावी भुक्तानी गर्नु परेको थियो । त्यतिबेलाको बीमा समितिले कडा नियमन तथा बीमा कम्पनीहरुले आफ्ना बीमाहरु पुनर्बीमा गरेकोले थला पर्ने गरी कुनै पनि कम्पनीहरु अप्ठेरोमा त परेनन् तर दावी भुक्तानीमा ठूलो रकम व्यहोर्नु पर्यो ।

आव २०७२।०७३ सम्ममा विभिन्न पोर्टफोलियो जस्तै अग्नि, मोटर, सामुन्द्रिक, ईन्जिनियरिङ्ग तथा विविध गरी जम्मा ११ हजार ६२३ वटा दाबी योग्य बीमा परेको थियो । भुकम्पबाट कुल १३ अर्ब २६ करोड ५ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी भएको थियो ।

बीमा प्राधिकरणले तयार पारेको रिपोर्टका अनुसार निर्जिबन बीमा कम्पनीहरुको आर्थिक वर्ष २०७२।०७३ मा चार अर्ब १५ करोड ६८ लाख रुपैयाँ खुद दाबी भुक्तानी भएको थियो । जुन अघिल्लो आर्थिक वर्ष २०७१।०७२ को तुलनामा ४०.२३ प्रतिशतले बढी थियो । आव २०७१।०७२ मा दुई अर्ब ९६ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानी परेको थियो । भूकम्प आएको आर्थिक वर्षभित्रै निर्जिबन बीमा ब्यबसायबाट खुद दाबी भुक्तानी ४० प्रतिशतले बढेको थियो ।

त्यस्तै, आव २०७०।०७१ मा दुई अर्ब २८ करोड रुपैयाँ दाबी भुक्तानी भएकोमा सो रकम बढेर आव २०७४।०७५ मा छ अर्ब ३२ करोड रुपैयाँ पुगेको थियो । आव २०७३।०७४ मा दाबी भुक्तानी तीन अर्ब आठ करोड पुगेतापनि आव २०७४।०७५ मा ह्वात्तै बढेको थियो । आव २०७२।०७३ मा भूकम्पका कारण दाबी अत्याधिक बढेकोले दाबी भुक्तानीमा तीव्र बृद्धि भएको हुँदा सो आवको तुलनामा आव २०७३।०७४ को बृद्धिद्धर ह्वात्तै बढेको थियो ।
उक्त विनाशकारी भूकम्पबाट २०७४ सालसम्म भौतिक संरचना र सम्पत्ति क्षति भई दाबी परेका बीमितमध्ये ९८ प्रतिशतको दाबी भुक्तानी गरिसकिएको थियो भने बाँकी त्यसपछि मात्रै भुक्तानी भएको थियो । निर्जीवन बीमा कम्पनीमा परेको कुल दाबीमध्ये २०७४ सालको असोज मसान्तसम्ममा ती बीमितले क्षतिपूर्ति पाइसकेको समितिको तथ्याङ्कले देखाएको छ ।

विकसित मुलुकमा विभिन्न प्राकृतिक प्रकोपको दाबी भुक्तानी गर्न एक दशकसम्म लाग्ने गरे पनि नेपालमा भने भूकम्पको दाबी भुक्तानी छिटै भएको बीमा समितिको तथ्याङ्कले देखाएको छ । अमेरिकामा सेप्टेम्वर ११ मा भएको आतंकवादी हमलाको दावी भुक्तानी १० वर्षसम्म गरिएको थियो । भूकम्पपछि क्षतिपूर्तिको माग गर्दै विभिन्न निर्जीवन बीमा कम्पनीमा जम्मा १७ हजार ७ सय ९८ दाबी परेको थियो।

प्राधिकरणका अनुसार भूकम्पपछि दाबी गरिएका ठूला, विवादित र जटिल बीमाको दाबी संख्या करिब हजार रहेको छ । ठूला दाबी गर्नेहरूमा अपार्टमेन्ट, होटल, ठूला भवन, मिडिया हाउस, शपिङ मल, जलविद्युतलगायत कम्पनी रहेका थिए ।
आम बिनाशकारी भुकम्प गएको आज ९ वर्ष पुगिसकेको छ । नेपालीहरुले भुकम्प गएको कुरा विस्तारै विर्सन थालिसकेका छन् । बीमा गर्ने बानी अझै विकास गरेर भुकम्पीय जोखिमबाट जनतालाई सुरक्षित राख्न सरकार, बीमा प्राधिकरणले बैशाख १२ कै दिनमा पारेर विशेष अभियानहरु थाल्नुपर्ने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*