बीमा अभिकर्ता बन्दा अत्तालिएका बिजय सुनार अब निर्धक्क, बीमितको घर आँगनमा पुगेर बीमा व्यवसाय फैलाउँदै

१२ बैशाख २०८१, बुधबार १६:५०

काठमाडौं । चितवनका बिजय सुनारलाई बीमा अभिकर्ता बन्ने बेला निकै अत्यास लागेको थियो । सुरुमा ५१ जनालाई प्रस्ताव राख्दा बल्ल एक जनाले बीमा गर्न तयार भएका थिए । सुरुवाती चरणमा निकै अप्ठेरो महसुस गरेका सुनारले अहिले रिलायबल नेपाल लाइफमा बरिष्ठ एजेन्सी म्यानेजरका रुपमा गाउँ गाउँका जनताको घरदैलोमा पुगेर बीमा व्यवसायमा जमिरहेका छन् ।

आफू र सिंगो परिवारको जिम्मेबारी काँधमा बोकेर हिडेका सुनारले विगत एक दशकदेखि नागरिकहरुको बीमा गरी जोखिम हस्तान्तरण गर्दैै आफ्नो पनि जीविकोपार्जन गर्दै आएका छन् । उनले नेपाली युवा–युवतीलाई कुनै पनि प्ल्याटफर्मको प्रयोग गरी सक्षम बन्न हौसला प्रदान गर्दै आएका छन् ।

आम बीमा अभिकर्ता झै सुरुवाती चरणमा निकै संघर्ष र कडा मेहनत गरेका सुनार अब भने निर्धक्क बीमा व्यवसाय गरिरहेका छन् ।युवा अवस्थामै जीवन बीमा क्षेत्रमा उल्लेख्य प्रगति गर्न सफल भएका सुनार बीमा क्षेत्रमै लागेर जीवन सफल र समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएका छन् ।

प्रस्तुत छ, उनै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ एजेन्सी म्यानेजर बिजय सुनारसँग बीमापोष्टका लागि राजन कठायतले गरेको कुराकानीको अंशः

तपाई बीमा क्षेत्रमा कसरी आवद्ध हुनुभयो ?

–विभिन्न समस्या र अड्चनबीच २०७६ सालमा म रिलायबल नेपाल लाइफमा आवद्ध भएको हु । पारिवारिक आर्थिक अवस्था र सिङ्गो परिवारको जिम्मेवारी आफ्नो काधमा रहेको थियो । कुनै एउटा ठाँउमा दैनिक आठ घण्टा काम गरेर परिवारको जिम्मेवारी बहन गर्न सकिने अवस्था थिएन् । सोही क्रममा म एक जना बीमा क्षेत्रमा व्यक्तीको चिनजान र उहाँको मोटिभेसनका कारण म बीमा क्षेत्रमा आवद्ध भएको छु । हालसम्म मलाई यस क्षेत्रमा काम गरेको करिव ७ वर्ष भईसक्यो ।

झण्डै ७ वर्षको अवधिमा तपाईले बीमा अभिकर्ता पेशालाई कसरी बुझ्नुभयो ?

–बीमा क्षेत्रमा आवद्ध हुनुभन्दा पहिलो मैले बीमा अभिकर्ता पेशाका बारेमा सुनेको चाँही थिए । मलाई यस पेशाप्रति कुनै चासो नै थिएन । म पहिले होटल म्यानेजरको रुपमा कार्यरत थिए । यसैक्रममा बीमा क्षेत्रकै एकजना सरसँग भेटघाट भयो । उहाँले बीमा अभिकर्ता पेशा भनेको होटलमा काम गरेर महिनाबारी तलवको लागि पर्खिनु नपर्ने बताए ।

उहाँले बीमा अभिकर्ता भनेको त जति बीमा गराउन सक्यो र आफ्नो दुःख गरे अनुसारको कमाई पनि हुन्छ भन्ने थाँहा पाएपछि बीमा अभिकर्ता बने । मलाई सुरुको १ वर्षदेखि त धेरै गाह्रो भएको थियो । पछि मिहिनेत गर्दै गए र बीमा अभिकर्ता भनेको सेवामुलक पेशा हो भन्ने तरिकाले बुझे । अहिले मलाई यो पेशाप्रति गर्व लागेको छ । म आजभोलि यस पेशामा रातदिन गरी काम गरिरहेको छ । मैले यो पेशामा आवद्ध भएर सम्पत्तिको नाममा धेरै मानिसहरु कमाए । मेरो निरीक्षणमा हाल ४५ जना अभिकर्ताहरु काम गरिरहेका छन् ।

बीमा कम्पनी र बीमितप्रति अभिकर्ताहरुको दायित्व के हुन्छ र बीमितहरुलाई बीमा गर्न कसरी प्रेरित गर्नुहुन्छ ?

– बीमा अभिकर्ता बनिसकेपछि एउटा जिम्मेवारी चाँही बढ्दो रहेछ । हामीहरुले कित बीमा अभिकर्ता बनेर बीमा नै नगरौ तर बीमा अभिकर्ता भई काम गरिसकेपछि जिम्मेवारी र इमान्दारिता पूर्वक आफ्नो काम गर्नुपर्छ ।

मैले आफ्नो पेशामा कहिल्यै पनि गरिव र धनी भनेर बीमितहरुको घर हेरिन् । मेरो नजरमा गरिव मानिसको जिन्दगी पनि त्यति कै मुल्यवान छ जती धनीको छ । उहाँहरुलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा बीमा गर्न वातावरण सिजना गर्न मैले एउटा पुल चाँही निर्माण गरेको छु । किनभने भोलिका दिनमा कुनै परिवारमा कुनै न कुनै दिन समस्या तथा दुर्घटनाका कारण आर्थिक रुपमा समस्या त निम्ताउछ सोही समस्याको थोरै भएपनि समाधान गर्न बीमा मात्र एक उपाय हो भन्दै बीमितहरुलाई बीमा गर्न हौसला प्रदान गर्छु ।

मैले बीमितहरुलाई बीमा गर्नुपर्छ भनेर कहिल्यै पनि भनिन् । उनीहरुलाई बीमा दैनिक जीवनमा धेरै आवश्यक र जरुरी रहेको छ भन्दै रिलायबल नेपाल लाइफमा बीमा गराउदै आएको छु । बीमा वाध्यता भन्दा पनि जरुरी बनाए ।

पहिलो बीमा गराउदाँ तपाईलाई कस्तो महशुस भएको थियो ?

–मैले पहिलोपटक बीमा गर्नको लागि झण्डै ५० जनालाई आग्रह गरे । म बीमा बजारमा नयाँ–नयाँ भएको कारणले पनि उहाँहरुले मलाई विश्वास गर्नुभएन् । उनीहरुले उल्टै मलाई विभिन्न इन्स्योरेन्सले पैसा खाएर भागे भन्दै कुरा सुनाए । तरपनि मैलै हिम्मत हारिन् । यस कार्यमा म निरन्तर लागि रहे । सोही क्रममा ५१ जनामध्ये १ जना मानिसले बीमा गर्नुभयो ।

त्यो पनि पाँच लाख रुपैयाँ बीमा गर्नुभयो । उहाँले मेरो दुःख देखेर स्याङ्जाका एक जना सरले बीमा गर्नुभएको थियो । उहाँको बीमा गराएपश्चात मलाई पहिलो पटक ७ हजार ७ सय रुपैयाँको कमिशन आएको थियो । त्यही पैसाले मलाई यहाँसम्म लिएर आएको हो ।

 

तपाईको बुुझाईमा सफल अभिकर्तामा हुनुपर्ने गुण के हुन् जस्तो लाग्छ ?

– सफल अभिकर्तामा हुनुपर्ने पहिलो गुणहरु भनेको विश्वास, इमान्दारिता, सत्यता र आफ्नो पेशाप्रति जिम्मेवारी बहन गर्नु हो । हामीहरुले बीमितहरुको बीमालेखको दावी भुक्तानी तथा परिपक्क अवधि पुगुन्जेल बीमितप्रति जिम्मेवार हुनुपर्छ ।

अभिकर्ताले बीमा गराएपश्चात बीमितप्रति निभाउनुपर्ने दायित्व के–के हुन् जस्तो लाग्छ ?

– हामीहरुले बीमा गरिसकेपश्चात उहाँहरुलाई चटक्कै बिर्सिने होइन् । किनभने उहाँहरुले दोस्रो वर्षको किस्ता तिर्ने अवधि पनि आउछ र अन्य विभिन्न वाधा, अड्चनको सामाधान गर्नको लागि बीमितप्रति अभिकर्ताहरुको दायित्व रहन्छ । बीमा गरीसक्यौ, हामीलाई कमिसन आईहाल्यो भन्दै बीमितहरुको मत्लब नगर्नु चाँही अभिकर्ताहरुको एकदमै नराम्रो सोचाई हो । मैले हालसम्म जति बीमितहरु छन् । उनीहरुलाई फलो गर्दै आएको छु ।

बीमा दावी भुक्तानीलाई लिएर बीमितहरुले जहिले समस्या भाग्र्दै आउनुभएका छन् । तपाईको विचारमा यसले बीमा क्षेत्रको भविष्यमा कस्तो असर पार्ला ?

– मानिसहरुले कित बीमा गराउनै हुदैन् । बीमा गराई सकेपछि कम्पनीले तोकेको मापदण्ड र बीमा दावी भुक्तानीको प्रक्रिया अनुसार त कागजातहरु संकलन गर्नै पर्ने हुन्छ । कम्पनीले उपलब्ध गराएको सुविधाको परीधिभित्र रहेर बीमित र बीमा अभिकर्ताले काम गर्न आवश्यक रहेको छ ।

बीमा क्षेत्रको भविष्यको सन्दर्भमा भन्नुपर्दा हिजोको बीमा बजार भन्दा पनि आजको बीमा बजारको दायर धेरै फराकिलो बनीसकेको छ । कुनै समय आम नागरिकहरुले बीमा आवश्यक छैन् । बीमा कम्पनीहरुले पैसा खाएर भाग्ने प्रवृद्धि रहेको थियो । तर वर्तमान बीमा बजारलाई मध्यनजर गर्ने हो भने धेरै चेतनामुलक र बीमाको दायरा बिस्तार भैसकेको छ ।

 

बीमा पोलिसी अध्ययन नै नगरी बीमा गर्ने प्रवृद्धिले पनि समस्या उत्पन्न गर्ने गरेको छ भन्ने कुरा सुनिन्छ । तपाई यो समस्यालाई कसरी लिनु भएको छ ?

– वास्तवमा भन्ने हो भने कतिपय अवस्थामा बीमितहरुले बीमा पोलिसी, बोनशदर लगायतका कुराहरु अध्ययन नै नगरी बीमा गराउने प्रबृद्धिले पनि समस्या उत्पन्न गरेको छ । साथै, कतिपय अभिकर्ताहरुले बीमितहरुसँग विभिन्न कारण देखाई रोई कराई गरेर पनि बीमा गराउने गरेका छन् । यस कारणले झन बीमा क्षेत्रमा समस्या सिर्जना गरेको हो ।

बीमा त आफ्नो लागि गर्ने होनी । अर्काको लागि बीमा गर्ने त होइननी । हिजो आज बीमा क्षेत्रमा आएका नानीहरुले रोई कराई गरेर बीमा गराउछन् अनि कमिशन खान्छन् । त्यसपश्चात केही समयपश्चात विदेशतीर गैहाल्छन् । अनी बीमितहरु समस्यामा पर्ने गरेका छन् । बीमा पोलिसीको झुटो तारिफ गरेर अभिकर्ताहरुले बीमा पोलिसीहरु बीमितहरुलाई भिडाउँदा पनि समस्या आएको छ ।

तपाईले हालसम्म कति वटा बीमा पोलिसी बिक्री र दावी भुक्तानी गर्नुभएको छ ?

–मैले हालसम्म कुनै पनि बीमा पोलिसीको दावी भुक्तानी गरेको छैन् । गर्न पनि नपरोस् भन्ने मेरो धारण रहेको छ । मैले विक्री गरेका बीमा पोलिसीहरु धेरै छन् । तर बिबिध कारणले गर्दा म खुलाउन चाहाँदैन् । मैले कम्पनीको भण्डारा, गण्डकी लगायत पर्सा शाखा कार्यालयबाट बीमा गर्दै आएको हु ।

रिलायबल नेपाल लाइफको दावी भुक्तानीप्रति बीमितहरुको प्रतिक्रिया चाँही कस्तो आइरहेको छ ?

–हाम्रो कम्पनीको दावी भुक्तानीप्रति बीमितहरु एकदम खुशी र सन्तुष्ट रहेका छन् । हाम्रो कम्पनी दावी भुक्तानीमा एकदम स्पष्ट रहेको छ । बीमितहरुको भोग्नु भएका पीडा तथा भएको क्षतिहरुको भरपाई त गर्न सकिदैन तर परिवारको आर्थिक जिविको पार्जन गर्न चाँही सकिरहेका छौं । जसले गर्दा गाँउ समाज नै खुशी भएको छ ।

One thought on “बीमा अभिकर्ता बन्दा अत्तालिएका बिजय सुनार अब निर्धक्क, बीमितको घर आँगनमा पुगेर बीमा व्यवसाय फैलाउँदै

  1. बिक्रम अर्याल says:

    कसरी मानिसलाई प्रोत्साहन गर्ने बिमा गर्न।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*