माल्दिभ्सले हटायो भारतीय सेना, काठमाडौंस्थित विमानस्थलमा भारतीय सेनाको परेड कहिले बन्द होला ?

२९ बैशाख २०८१, शनिबार १७:५४

काठमाडौं । जनयुद्धको उत्तराद्र्धको समयमा तत्कालिन जनमुक्ति सेनाका सुप्रिमोले घोषणा गरे ‘आवश्यक परे भारतसँग सुरुङ युद्ध लड्छौं, जस अनुसार देशैभरि जनमुक्ति सेनालाई सुरुङ खन्न लगाइयो । औपचारिक तथ्याङ्क नभए पनि उतिबेला करिब दुई हजार वटा सुरुङ (साना साना खाल्डा र प्वाल) खनिएका थिए । भारतविरुद्ध सुरुङ खन्ने आदेश दिने उनै प्रचण्ड अहिले नेपालको प्रधानमन्त्री छन् । माल्दिभ्सले भारतीय सेना फिर्ता गरेसँगै भारतीय जहाजसँगै एयरमार्शलको रुपमा काठमाडौं आउने सेनालाई रोक्न प्रधानमन्त्री प्रचण्डको ऐतिहासिक भूमिका हुनसक्ने चर्चा राष्ट्रिय सुरक्षा संयन्त्रमा चलिरहेको छ ।

तत्कालिन माओवादी समेतको सहमतिमा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको पालामा एयरमार्शललाई बैधानिक बनाउने प्रयास भएको थियो । तर चर्को विरोधसँगै रोकिए पनि हिउँदको समयमा भारतीय सेनाले हतियारसहित काठमाडौंमा राति बिताउने गर्दै आएका छन् ।
सन् १९९९ को डिसेम्वर २४ मा काठमाडौंबाट उडेको इण्यिन एयरलाइन्सको आईसी ८१४ जहाज अपहरणपछि भारतीय सेना एयरमार्शलको रुपमा काठमाडौं आउने गरेका छन् । जहाजमा आउने र जहाजबाटै जाने सेनाको टोलीमा दुई जना हतियारधारी कमाण्डो हुने गर्दछ । २०६३ सालमा हिसिला यमी पर्यटन मन्त्री भएको बेला उक्त भारतीय सेनालाई थप बैधानिकीकरण गरिएको थियो । जसबाट जाडो याममा बेलुका काठमाडौंस्थित विमानस्थलमा आएर बास बस्ने भारतीय एयर इण्डियाको जहाजमा आउने सैनिकलाई हतियारसहित बाहिर निस्केर होटलमा पुगेर बास बस्ने छुट दिइएको थियो । व्यवस्था हालसम्म पनि जारी नै छ ।

भर्खरै माल्दिभ्सबाट भारतीय सेना हटाएको घट्नाले नेपालबाट पनि दैनिक रुपमा आउने हतियारसहितका भारतीय सेनाका कमाण्डोलाई रोक्नुपर्ने आवाज उठ्न थालेको छ । एउटा देशमा दुई देशका सेना हुन सक्दैन भन्दै माल्दिभ्सका नव निर्वाचित राष्ट्रपति मोहम्मद मुईज्जुले भारतीय सेनालाई हटाउन सफल भएका छन् । उनले आफू निर्वाचित भए लगत्तै भारतीय सेनालाई १० मेभित्र माल्दिभ्स छोडेर जान निर्देशन दिएका थिए । सो बमोजिम हिजो विहान हुनुअघि नै भारतीय सेनाहरुले माल्दिभ्स छोडेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चा र बहसको बिषय बनिरहेको भारतीय सेनाले माल्दिभ्स छोडेको घट्नाले नेपालमा पनि भारतीय सेनाको बाक्लो उपस्थिति र दैनिक दर्जनबढि भारतीय सैनिकले त्रिभुवन विमानस्थलमा गरेको गतिविधिको घटनालाई रोक्नुपर्ने बहस सुरु भएको छ । अधिवक्ता विष्णु प्रसाद बास्तोलाले भारतीय कमाण्डो लिएर नेपाली आकाशमा उडान अनुमति दिनु घातक रहेको भन्दै सरकारले रोक्न कुटनीतिक पहल गर्नुपर्ने बताउँछन् । अर्का पुराना पत्रकार प्रेम कैदी पनि भारतीय सेनाको काठमाडौंस्थित त्रिभुवन विमानस्थलको गतिविधिले राष्ट्रिय सुरक्षामा धज्जी उडाएको तर्क गर्दछन् । त्यसो त, भक्तपुरका स्थायी राजनीतिज्ञ नारायणमान बिजुक्छेले लामो समयदेखि काठमाडौं विमानस्थलको एयरमार्शल रोक्नुपर्ने माग गर्दै आएका छन् ।

लामो समयदेखि काठमाडौंस्थित विमानस्थलमा भारतीय सेनाको उपस्थिति जनाउँदै आएको छ । एयरमार्शलको रुपमा भारतबाट काठमाडौं आउने सेना जहाजबाट बाहिर जमिनमा ननिस्कने पनि त्यहाँ जमिनमाथि एउटा चेकजाँच गर्ने पोर्ट बनाएर चेक जाँच गरिरहेका हुन्छन् । नेपालको सुरक्षा संयन्त्रलाई विश्वास नगर्ने भारतले आफ्नो जहाजमा जोसुकै यात्रु चढ्नुअघि आफ्नो सेना (हतियारसहित) लगाएर चेक जाँच गर्ने गर्दछ ।

लोकतन्त्रको नाममा भएको आन्दोलनपछि भइरहेको यो गतिविधि अझै कहिलेसम्म जान्छ थाहा छैन । यो देशका जनतालाई सार्वभौम बनाउने घोषणा गरेको माओवादीले यसअघि भारतीय डिजाईनमा सेनापति रुक्माङ्गत कटवाल घटनापछि लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री प्रचण्डले राजिनामा दिन बाध्य भएका थिए । सो लगत्तै माओवादीले ऐतिहासिक विद्रोहको घोषणा गर्यो । छ दिनसम्म चलेको सो विद्रोहमा नयाँ बानेश्वरमा सभा गर्दै तत्कालिन माओवादी नेता अग्नि सापकोटाले भनेका थिए, ‘हामी नेपालका दाससँग होइन अब असली मालिक भारतसँग वार्ता गर्छौ ।’ तर, नेता प्रचण्ड आफै भारतीय दुताबास छिरेको समाचार बाहिर आएसँगै उक्त आन्दोलन बीचमै तुहिन पुगेको थियो ।

अहिले उनै प्रचण्ड प्रधानमन्त्री पदमा रहेका बेला भारतीय सेनाले काठमाडौंस्थित विमानस्थलमा गर्ने गतिविधि रोक्न भूमिका खेल्नुपर्ने आवाज उठ्न थालेको छ । अझ यसअघिका पर्यटन मन्त्री सुदन किराँतीले भारतीयलाई नै काठमाडौंस्थित विमानस्थल भाडामा दिएर हिसिला यमीभन्दा पनि कडा राष्ट्रघात गर्न खोजेका थिए । भलै किराँतीलाई प्रचण्डले पर्यटन मन्त्रीबाट हटाएसँगै उक्त राष्ट्रघात रोकिएको छ ।

अब प्रधानमन्त्री प्रचण्डको काँधमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सेनालाई हटाउने पालो आएको छ । नेपालले भैरहवामा अर्बौ रुपैयाँ खर्च गरेर बनाएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेपनि भारतले छोटो हुने हवाई रुट नदिँदा राम्रोसँग चल्न सकेको छैन । त्रिभुवन विमानस्थलमा भारतीय सेना राखेर नेपालको राष्ट्रियताको हुर्मत लिने अनि नयाँ बनाएको विमानस्थललाई समेत सञ्चालन गर्न रुट नदिने भारतीय नीतिमाथि नेपालले दरिलो कुटनीति अपनाउन नसक्दा दोहोरो अप्ठेरो परिरहेको छ ।

काठमाडौंस्थित विमानस्थलमा भारतीय सेनाबाट हुँदै आएको गतिविधि रोक्न सकिए भैरहवा विमानस्थललाई रुट दिने बिषय पनि प्याकेजमा डिल गर्न सकिने अवस्था समेत आउन सक्नेछ । त्रिभुवन विमानस्थलको सुरक्षा संयन्त्रबारे भारतलाई शंका लागेमा विमान बाहिर भारतीय सेनाले चेकजाँच गरे जसरी नै नेपाली सुरुक्षाकर्मीबाटै थप चेकजाँच गरेर भारतलाई विश्वास दिलाउने तर भारतीय सेना हटाउने योजनाका लागि परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको पनि दायित्वभित्र पर्छ हैन र ? अनि यही बिषयले भैरहवा विमानस्थल सञ्चालनको पनि रुट पाउन सकेमा नेपालका लागि थप उपलब्धी भएन र पर्यटन मन्त्री हित बहादुर तामाङज्यु ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*