शेयर बजारमा देखिएको उतारचढाव शंकास्पद, साना लगानीकर्ताको शेयर कब्जा गर्ने झुण्ड सक्रिय

२ जेष्ठ २०८१, बुधबार २१:४०

काठमाडौं । आर्थिक वर्षको करिब उत्तरार्धतिर आएर जेठ महिनाको पहिलो दिन मंगलबार शेयर बजार मापक नेप्सेमा अंकगणितीय सुधार आएको देखेर लगानीकर्ताहरु दंग परे । शेयर बजारको हरियालीले एकाएक खुसीयाली छायो । तर, त्यो खुसी २४ घण्टा पनि टिक्न सकेन ।

जेठ महिनाको पहिलो दिन मंगलबार शेयर बजार मापक नेप्से परिसूचक २८ अंकले बढेर दुई हजारको विन्दुमा उक्लियो । भोलिपल्ट बुधबार पनि बजार खुलेको ३० मिनेटभित्र दोहोरो अंकको सुधार देखिएको नेप्सेले कारोबार बन्द नहुँदै ओरालो यात्रा समात्यो । बुधबार नेप्से परिसूचक ९ दशमलव ५४ अंकले घट्यो । दुई हजारको विन्दु कायमै रहेपनि तीनवटा उपसूचक बाहेक सबै राताम्य भए ।

नेप्सेमा यसरी आइरहेको उतारचढाव शंकास्पद ठानिएको छ । नेपाल स्टक एक्सचेन्जका पूर्वप्रमुख चन्द्रसिंह साउँदले नेप्सेमा देखिएको अंकगणितीय उतारचढाव शंकास्पद रहेको बताए । उनका अनुसार मंगलबार सरकारको नीति तथा कार्यक्रम, घटेको ब्रोकर कमिसन लागू, सरकारको सक्रियता र मौद्रिक नीतिले गर्ने सम्बोधनलगायत कारणले नेप्से उचालिएको भन्न मिल्दैन ।

बीमापोष्टसँग उनले भने, ‘लगानीकर्ताको सेन्टिमेन्ट प्रमुख कुरा हो । तर, अहिले नेप्से उचालिनु र पछारिनुको कारण अर्कै छ । अहिले साना लगानीकर्ताको शेयर सस्तोमा कब्जा गरेर नाफा उठाउने दाउमा रहेका झुण्डहरु सल्वलाएका कारण नेप्से उचालिएको देखिन्छ । जसले जे भने पनि यो, क्षणिक हो । बजार आफ्नै लयले उचालिनु पर्नेमा त्यस्तो देखिएन ।’

सरकारले पोलिसी ल्याइदिने र राष्ट्र बैंकलगायतका नियामकले वातावरण बनाइदिने हो भने बजारमा सुधार हुन यो वा त्यो कारणहरु खोजिरहन नपर्ने उनको भनाइ छ । राष्ट्र बैंकले लगाएका क्यापहरु नहट्दासम्म बजार आफ्नो लयमा हिँड्न सक्दैन, साउँद भन्छन, ‘ब्रोकरको कमिसन घटेर बजारमा तात्विक असर पर्दैन ।’

आयको वितरण नै असमान छ, यस्तो बेला नेप्सेको अंकगणितीय उतारचढाव अस्वभाविक छ । शेयर बजारमा लाखौँ लगानीकर्ता छन् भन्ने भ्रम छरिएको छ, तर वास्तविक एक डेढ सय लगानीकर्ताले बजारलाई उभ्याइरहेका छन् । राष्ट्र बैंकले शेयर कर्जामा लगाएको क्यापका कारण ती लगानीकर्ताहरु समेत रिक्समा छन् ।

नेपाल इन्भेस्ष्टर्श फोरमका पूर्वअध्यक्ष एवं शेयर लगानीकर्ता छोटेलाल रौनियार भने घटेको ब्रोकर कमिसन लागू हुनासाथ लगानीकर्तामा सकारात्मक प्रभाव पर्न थालेको रुपमा अथ्र्याउँछन् । यद्यपि, यस्तो अवस्थामा करेक्सन हुनुलाई सामान्य मान्नुपर्ने उनको भनाइ छ । पहिले यस्तो नियम लागू हुने नहुने शंकाले दोधार बनाउँथ्यो, उनी भन्छन्, ‘यो पल्ट साँच्चिकै घटेको ब्रोकर कमिसनदर लागू भयो । सरकारले ल्याएको नीति तथा कार्यक्रमले पनि पूँजी बजारलाई उचित सम्बोधन गर्ने भनेका कारण पनि बजारमा सकारात्मक मनोविज्ञान छिरेको छ ।’

ब्रोकर कमिसन, नीति तथा कार्यक्रम, मौद्रिक नीतिले गर्ने सम्बोधन र धितोपत्र बोर्डले नेतृत्व पाउने ज्ञारेन्टीलगायत कारणले पनि नेप्सेमा सुधार देखिएको रौनियारको धारणा छ । उनी भन्छन्, ‘अस्तिसम्म लगानीकर्ताको मनोबल कमजोर थियो । अहिले, बजार पोजेटिभ बनेको छ । यद्यपि, बुधबार सामान्य करेक्सन भएको छ । यसलाई स्वभाविक मान्नुपर्छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*