फाइनान्स र माइक्रोफाइनान्समा लगानीकर्ताको नजर, बैंकिङ सेक्टरमा किन आइरहेको निरन्तर सुस्तता ?

दिपक बिष्ट
८ जेष्ठ २०८१, मंगलवार ०८:३०

काठमाडौँ । चैत महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५७ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चैत महिनामा मात्र १५ करोड ५९ लाख १२ हजार कित्ता शेयर किनबेच हुँदा ५७ अर्ब २२ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

फागुनको तुलनामा चैतको कारोबार भने ४ अर्ब ४५ करोड ५८ लाख रुपैयाँले कम हो । फागुनमा भने ६१ अर्ब ६८ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भएको थियो । धितोपत्र बोर्डका अध्यक्ष नियुक्ति नहुनु र नीतिगत अवरोध कायमै हुँदा चैतमा कारोबार केही सामान्य खस्किएको हो ।

यता, चालु आर्थिक वर्षको ९ महिनामा भने साढे ४ खर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । केन्द्रीय बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म १३ समूह, बैङ्कहरूको ऋणपत्र, संस्थापक सेयर र अग्राधिकार सेयर गरी १ अर्ब ४१ करोड ३३ लाख ४३ हजार कित्ता बराबरको ४ खर्ब ७३ अर्ब ६० लाख रुपैयाँको शेयर कारोबार भएको देखिएको हो ।

जुन गत आर्थिक वर्षको सोही तुलनाको अवधि भन्दा ४६.८४ प्रतिशतले बढी कारोबार हो । गत आर्थिक वर्षको नौ महिनामा ८८ लाख ५२ हजार ८९ हजार कित्ता बराबरको ३ खर्ब २२ अर्ब ११ करोड ३७ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको हो ।

चैत महिनामा फाइनान्स र माइक्रोफाइनान्सको शेयरमा लगानीकर्ता नजर

चैत महिनामा लगानीकर्ताका आँखा फाइनान्स र माइक्रोफाइनान्स सेक्टरमा परेको छ । चैत महिनामा माइक्रोफाइनान्स सेक्टरको ७ अर्ब ४४ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जुन मागको तुलनामा १४२.६५ प्रतिशतले बढी हो । फागुन महिनामा भने माइक्रोफाइनान्स सेक्टरको ३ अर्ब ६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । पछिल्ला समय सुस्ताएको माइक्रोफाइनान्सका लगानीकर्ताको आकर्षण थपिँदै गएको छ । अन्य सेक्टर भन्दा माइक्रोफाइनान्सको वित्तीय विवरण राम्रो हुँदा यसमा लगानीकर्ताको झुकाप रहेको छ ।

यता, चैत महिनामा फाइनान्स सेक्टरको ६ अर्ब ७८ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ । जुन फागुनको तुलनामा ६८.२७ प्रतिशतले बढी हो । फागुन महिनामा फाइनान्स सेक्टरको ४ अर्ब ३ करोड ५ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । फाइनान्स सेक्टर सबल रहँदै आएको हुँदा अझै उचाइमा पुग्ने लगानीकर्ता दीपेन्द्र अग्रवालले बताए । उनले भने, ‘फाइनान्स सेक्टरमा अहिले लगानीकर्ता झुम्मिएका छन् । यो क्षेत्र अन्य सेक्टर भन्दा उत्कृष्ट छ । यसमा गरेको लगानीकर्ता सुरक्षित छ ।’

वाणिज्य बैंकमा सुस्तता, विकास बैंकमा भने उछाल

वाणिज्य बैंकको शेयर निरन्तर ओरालो लागि रहँदा यता विकास बैंकको शेयरमा भने लगानीकर्ता झुम्मिएका छन् । पछिल्लो समय वाणिज्य बैंकहरु निरन्तर ओरालो लाग्दा शेयर मूल्य न्यूनतम मूल्यमा पुगी सकेको छ । तर, जानकारहरू भने बैंकिङ सेक्टरको लगानी लामो समयसम्म राख्नेका लागि रहेको राम्रो रहेको बताउँछन् । ‘बैंकिङ सेक्टर अहिले केही सुस्त छ । तर, यो क्षेत्रमा गरेको लगानी डुब्दैन ढुक्क हुनुहोस् । शेयर बजारमा ठुलो हिस्सा बोकेको बैंकिङ सेक्टरमा लामो समयसम्म टिक्न सक्ने लगानीकर्ता मालामाल हुने पक्का छ’ एक जानकारले बीमा पोष्टलाई बताए ।

चैत महिनामा वाणिज्य बैंक समूहको २ अर्ब ९९ करोड ९७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । जुन फागुनको तुलनामा २८.०६ प्रतिशतले कम हो । फागुन महिनामा वाणिज्य बैंक सेक्टरको ४ अर्ब १७ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

यता, विकास बैंकको शेयर कारोबार भने फागुनको तुलनामा चैतमा २७.१६ प्रतिशतले बढेर २ अर्ब ९३ करोड ५ लाख रुपैयाँ पुगेको छ । फागुनमा विकास बैंक सेक्टरको २ अर्ब ३० करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

बैंकहरुको लाभांश दिने क्षमता समेत निरन्तर घट्दै जाँदा केहि असर परेको जानकारी सुमन श्रेष्ठले बताए । उनले भने, ‘वाणिज्य बैंकहरुले पछिल्लो समय दिने लाभांश घटाउँदै लगेको छ । सोहि कारण पनि लगानीकर्ताको मोह कम हुँदै गइरहेको छ । खराब कर्जा समेत वृद्धि भइरहेको छ । जसले गर्दा नाफा पनि प्रभावित भइरहेको छ ।’

किन घट्यो बीमा सेक्टर ?

फागुनको महिनाको तुलनामा बीमा सेक्टर केही घट्नु पुगेको छ । जीवन बीमा समूहको चैतमा ३ अर्ब ६३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जुन फागुनको तुलनामा १२.८५ प्रतिशतले कम हो । फागुनमा भने जीवन बीमा समूहको ४ अर्ब १७ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

यता, निर्जीवन बीमा सेक्टरको फागुनको तुलनामा चैतमा २५.८४ प्रतिशतले घटेर १ अर्ब ८८ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ । फागुनमा बीमा सेक्टरको २ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

लगानीकर्ता फाइनान्स र माइक्रोफाइनान्स सेक्टरमा झुम्मिँदा बीमा सेक्टरमा सामान्य करेक्सन देखिएको लगानीकर्ता सोहन थापाले बताए । उनले भने, ‘चैतमा प्रायः लगानीकर्ता माइक्रोफाइनान्स र फाइनान्समा झुम्मिएका थिए । फागुनमा बीमा सेक्टरको राम्रा शेयर किनबेच भएको थियो । सोही कारण पनि चैतमा केही कारोबार घटेको हो । बीमा सेक्टर सकारात्मक नै छन् ।’

‘बीमा कम्पनी आम्दानी वृद्धि भइरहेको र लाभांश दिने क्षमता बिस्तार हुँदै छ । बीमा प्राधिकरणले निर्जीवन बीमाको साढे दुई अर्ब, जीवन बीमा कम्पनीको पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउन समेत भनेको छ । सोही अनुसार कम्पनीहरू अघि बढी रहेका छन् । सोही कारण समेत बीमा लगानीकर्ताको आकर्षण रहनेछ । यसको लगानी सुरक्षित छ’ उनले भने ।

बीमा गर्नुपर्छ भन्ने कुरा बिस्तारै सर्वसाधारणमा महसुस हुन थालेको र बीमाको दायरासमेत वृद्धि भइरहेको हुँदा लगानीकर्ता यसमा लगानी राम्रो रहेको लगानीकर्ताहरूका तर्क छन् ।

हाइड्रोपावर समूहको घट्यो

चैतमा हाइड्रोपावर समूहको शेयर कारोबार घटेको छ । फागुनको तुलनामा चैतमा हाइड्रोपावर समूहको शेयर ३५.७६ प्रतिशतले घटेर १५ अर्ब २ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फागुनमा हाइड्रोपावर सेक्टरको २३ अर्ब ३९ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।

अन्य सेक्टरको अवस्था कस्तो ?

फागुनको तुलनामा चैतमा म्युचुअल फण्डको शेयर कारोबार ८.३७ प्रतिशतले बढेर १० करोड ५९ लाख रुपैयाँ, इन्भेस्टमेन्ट समूहको ४५.४५ प्रतिशतले घटेर २५ अर्ब १२ करोड ५९ लाख रुपैयाँ, व्यापार समूहको ३२.३६ प्रतिशतले घटेर २० करोड ६६ लाख रुपैयाँ, होटेल तथा पर्यटन समूहको ६.५० प्रतिशतले घटेर १ अर्ब १ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कोभिडले थला परेको होटेल तथा पर्यटन क्षेत्रले बिस्तारै लयमा फर्की रहेको छ । पछिल्ला केही महिना यता नेपालमा पर्यटनको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ । वातावरणले भरिपूर्ण नेपालमा होटेल तथा पर्यटन क्षेत्रको लगानी समेत सुरक्षित रहेको लगानीकर्ताहरूका तर्क रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*