बीमा क्षेत्रमा ‘एआई’को प्रभावकारिता र सम्भाव्यता

प्रकाश कुमार श्रेष्ठ
११ जेष्ठ २०८१, शुक्रबार १५:२०

प्रविधिको बिकासक्रमसँगै नेपाली बीमा क्षेत्रमा पनि विभिन्न सकारात्मक परिवर्तनहरू भइरहेका छन् । हालै मात्र नियामक निकाय नेपाल बीमा प्राधिकरणले अबदेखि बीमकले बीमालेख डिजिटल गर्न सकिने व्यवस्था पनि लागू गरेको छ । बीमालेख कर्जा तथा सरेण्डर, दाबी भुक्तानी जस्ता कार्यहरु प्रायः बीमकहरूले अनलाइन गरिसकेका छन् । विस्तारै बीमा क्षेत्र प्रविधि मैत्री बन्दै गएको यी ज्वलन्त उदाहरणहरू हुन् ।

अहिले बीमा सम्बन्धि सम्पूर्ण जानकारीहरू एउटा सानो मोवाइलमा नै हेर्न सक्दछौं । जुन प्राधिकरण, बीमक र पूनर्बीमाहरूले आफ्नो वेभसाइटमा राखेका छन् । पहिले पहिले बीमा गर्न कै लागि ५/६ पेज प्रस्ताव फारमहरू मात्रै भर्नु पर्दथ्यो, बीमाशुल्क निर्धारण गर्न विद्यालयमा गृहकार्य गरे झै कापीमा हिसाब गर्नु पर्दथ्यो । विभिन्न प्रावधानहरूमा छुट दिइने हुदाँ प्रायः हिसाब फरक पनि पर्दथ्यो । जुन अहिले मोबाइलबाट सजिलै सम्भव भएको छ ।

केहि महिना अघि एआई AI (Artificial Inteligence) द्वारा निर्मित आकर्षक र सुन्दर फोटोहरू बीमा क्षेत्रमा निकै भाइरल भए । ब्राण्डिङमा प्रयोग भएका ति फोटाहरुले सकारात्मक सन्देश दिन सफल भएका छन् । AI ले विश्वलाई नै परिवर्तनकारी नयाँ दिशामा बदलिदिएको छ । जसले करोडौ मानिसहरूको बौद्धिक क्षमता बराबर अस्वभाविक रूपमा कार्य प्रदर्शन गर्दछ । साना साना नानीहरूदेखि बृद्धबृद्धाहरूसम्मको फोटो, चियादेखि चौरासी व्यञ्जनसम्मको फोटो, जनावरदेखि देविदेवतासम्मको फोटो, स्कूलदेखिको मन्दिरसम्मको फोटोहरू भाइरल भएका थिए । यसैगरी बीमा क्षेत्रमा पनि त्यतिबेला धेरै बीमा कम्पनीहरूले बीमा सम्बन्धि फोटोहरू बनाएर फेसबुकमा राख्ने लहर नै चलेको थियो । जुन अहिलेसम्म पनि छ ।

AI ले फोटो मात्र नभई भिडियो र अडियोद्धारा पनि काम गरिसकेको छ । हालै मात्र छिमेकी राष्ट्र भारतमा AI ले टिभीमा समाचार बाचिकाको काल्पनिक भिडियो निर्माण गरी प्रशारण गरिरहेको छ । यसले सञ्चार क्षेत्रमा मात्र नभै विभिन्न क्षेत्रमा मानव संसाधनको प्रतिस्थापन गरेको छ । यसरी नै भोलिका दिनमा थप प्रभाव पर्ने पक्का छ भने बीमा क्षेत्रमा पनि अवश्य प्रभाव पार्नेछ । बीमाको बारेमा सम्पूर्ण प्रायः विषयबस्तुहरूमा प्रस्तुत हुनेछ । बीमा जानकारीहरू दिनेछ । बीमा कम्पनी, प्राधिकरण, पुनर्बीमा, जोखिम, अभिकर्ताहरूको काम कर्तव्य तथा सेवा सुविधाहरू, बीमालेख र यसका विशेषताहरू साथै सम्भावित बजार अनि ग्राहकहरूको बारेमा पनि मात्र एक क्लीकमा सजिलै बताउन सकिनेछ । यसले तथ्याङ्कको व्याख्या मात्र गर्दैन, भूत र भविष्यको आंकलन पनि गर्न सक्दछ, जसले सबै पक्षलाई सुसुचित हुन सहयोग गर्दछ ।

AI ले प्राविधिक रूपमा सम्पूर्ण जानकारी दिए पनि भौतिक रूपमा प्रत्यक्ष सेवा भने दिन गाह्रो छ किन कि यो अमूर्त छ । बीमामा उत्तरदायित्व तथा जवाफदेहिता अनिवार्य छ जुन AI मा हुदैन । तर भोलिका दिनमा AI प्रयोग गरी संस्थागत रूपमा खडा भएर यी यावत कुराहरू समेटी परिस्कृत रूपमा नआउला भन्न सकिन्न ।

तसर्थ अबको प्रतिस्पर्धा भनेको AI सँग हुने भएकोले बीमासँग सम्बन्धित सरोकारवालाहरूले यसलाई आत्मसात गरी तयारी अवस्थामा रहनु नै उत्तम विकल्प हुनेछ । प्रविधियुक्त एआईका बारेमा हरेक बीमा कम्पनीहरुले आवश्यक तयार पनि गर्नुपर्ने देखिन्छ । (लेखक सिटिजन लाइफका कान्तिपथ शाखा प्रबन्धक हुन् । प्रस्तुत लेख लेखकको निजि विचार हो, संस्स्थागत प्रतिनिधित्व गर्दैन ।)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*