प्रगतिशील लेखक संघको परिषद् बैठक सम्पन्न

धनबहादुर मगर
११ जेष्ठ २०८१, शुक्रबार २०:३१

 

इलाम ११ प्रगतिशील लेखक संघको परिषद् बैठक प्रलेसका अध्यक्ष डा.मधुसूदन गिरीको अध्यक्षतामा भरखरै साँझ ६ बजे सम्पन्न भएको छ ।

नेपाली अर्थतन्त्रमा ५ ‘अ’ को नामले परिचित जिल्ला इलामको अन्तुडाँडामा अन्तर्राष्ट्रिय प्रगतिशील वाङ्मय सङ्गोष्ठीमा पहिलो चरणको केन्द्रीय समितिको बैठक सम्पन्न भई दोस्रो चरणमा केन्द्रीय परिषद्को बैठक पनि सम्पन्न भयो ।

परिषद् बैठकका प्रमुख अतिथि प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा.जीवेन्द्रदेव गिरीले २००९ सालमा श्यामप्रसाद शर्माको नेतृत्व स्थापना भएको प्रगतिशील लेखक संघले नेपालमा सामाजिक, राजनीतिक, आर्थिक परिवर्तनमा ठुलो योगदान पु¥याउँदै आएको बताउनुभयो ।

साथै साहित्यिक इतिहास लेखनलाई निरन्तरता दिई समाज परिवर्तनका लागि साहित्य र सिर्जना महत्त्वपूर्ण साधानको रूपमा समाज परिवर्तनको लागि स्रष्टाहरूले योगदान पु¥याएको बताउनुभयो । उहाँले ‘‘साहित्यिक सिर्जना नै समाजलाई परिवर्तन गर्न सक्ने साधन हो’’ भन्नुु भयो ।

गिरीले ५० रुपियाँको तमसुक, देवासुर संग्राम, नारी मुक्ति र आन्दोलन, बसाइँ सराई जस्ता कृतिहरूले नेपाली प्रगतिवादी आन्दोलनलाई अगाडि बढाउने प्रेरणा प्रदान गरेको बताउनुभयो ।
त्यसैगरी विशिष्ट अतिथि रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले नेपालको प्रगतिशील साहित्यिक क्षेत्रमा विभिन्न धार र उपधारका रूपमा आएर पनि प्रगतिशील लेखक संघ आजपर्यन्त एक भएर नेपालको समाजवादी आन्दोलनलाई मलजल गर्दै आएको बताउनुभयो ।

प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष एवम् यस बैठकका सभाध्यक्ष डा.मधुसूदन गिरीले प्रगतिशील साहित्यिक लेखनका विषय समाजको परिवर्तन चाहने वर्गको भएकाले, वर्गचेत सहितको दार्शनिक पृष्ठभूमि हुनुपर्ने बताउनुभयो । एउटै क्षेत्र र पहिचानको कुरामा अड्किँदा उत्तरआधुनिकतावादमा मात्र सीमित हुने र त्यसले वर्गलाई छोड्ने खतरा रहेको बताउँदै क्षेत्र, पहिचान र उत्तरआधुनिकवादी कुरा लेख्दैमा प्रगतिवादी हुन्छ कि हुँदैन ? केवल पहिचान मात्र आयो भने उत्तरआधुनिकतावादमा सीमित हुने, वर्गीय पहिचान छुट्न सक्ने बताउँदै वर्गीय पहिचान अनिवार्य भएको बताउनुभयो ।

प्रगतिशील लेखक संघ स्थापना भएको ७२ वर्ष पुग्यो । महान् स्रष्टाहरूको महान् प्रेरणाले पनि हुनसक्छ प्रगतिशील लेखन क्षेत्र बलियो इतिहास बन्दै गएको छ र इतिहास लेख्नुपर्ने आवश्यकता छ भन्ने धारणा व्यक्त गर्नुभयो ।
साथै प्रगतिशील लेखन ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादमा आउनुपर्छ । हाम्रो समाजको संस्कार हेजेमोनी प्रकारको छ । हिजोको र आजको सामाजिक कालक्रम फरक छ । पुँजीवादीहरू रूप पक्षलाई जोड दिन्छ । र शोषण गर्ने तरिकाहरु अनेक रूपमा अपनाइएको छ । नेपालका युवाहरू विदेशमा पठाउने र नेपालको जमिनहरू बाँझो राखेर रेमिटेन्स भित्र्याउने र त्यही रेमिट्यान्स फेरि उतै पठाउन प्रपञ्च पनि शोषण अर्को रूप हो ।

बेलायती गोर्खा सैनिकहरूले बेलायती सेना सरह समान सुविधा र पेन्सनको माग राखेपछि उनीहरूलाई बेलायतमै बस्ने गरी सुविधा दिएर आफ्नो देशको पैसा आफै राख्ने वातावरण बनाएको उदाहरण पनि दिनुभयोे ।

त्यसैगरी प्रलेसका उपाध्यक्ष समीर सिंहले बैठकमा उपस्थित केन्द्रीय सदस्य तथा परिषद् सदस्यहरूलाई स्वागत गर्दै इलामको अन्तुडाँडामा बसेको बैठकले नयाँ उभारका साथ परिणाम आउने गरी साहित्यिक लेखन क्षेत्रमा लाग्न लेखकहरूलाई आग्रह गर्नुभयो ।

प्रलेसका महासचिव देवी दुलालले प्रस्तुत गरेको साङ्गठानिक प्रतिवेदनमाथि डा.देवी पन्थी, डम्बरबल्लभ भण्डारी, अगिब वनेपाली, संविधानसभाका पूर्व सदस्य दुर्गा परियार, प्रेम घिमिरे लगायतले प्रतिवेदनमाथि छलफलमा भाग लिएका थिए ।

भोलि जेठ १२ गतेको कार्यक्रम विभिन्न क्षेत्रबाट आएका स्रष्टाहरुबाट अन्तर्राष्ट्रिय बृहत् साहित्यिक सङ्गोष्ठी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*