आगामी आर्थिक बर्षका लागि बीमाको कुन-कुन बिषय सरकारले समेट्यो ?

१५ जेष्ठ २०८१, मंगलवार १७:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले बीमा सम्बन्धी बुँदाहरु समेटे पनि बीमा क्षेत्रले सोचेको जस्तो बिषय भने समेटिन सकेन ।

विगतमा जस्तै चालू आर्थिक वर्षको बजेटमा पनि बीमाको धेरै बिषयहरु सुझाव दिएपनि कार्यान्वयनमा भने आउन सकेन ।

नेपाल सरकारले प्रत्येक बर्ष हरेक सरकारी तथा निजि निकायहरुसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव माग्ने गर्दछ ।सरकारले सुझावको आधारमा निति तथा कार्यक्रममा समावेश गर्ने बिषय हेरेर पेश गर्ने गर्छ । सो बिषय बजेटमा समावेश हुने हो ।

आगामी आर्थिक वर्ष २०८१।८२ को बजेट आज प्रस्तुत गरिएको छ। अर्थमन्त्री वर्षमान पुनले संयुक्त सदनमा बजेट प्रस्तुत गरेका हुन्।

बीमा क्षेत्रमा समेटेको बिषयहरु यस्ता छन्,

नियमनकारी नेपाल बीमा प्राधिकरणलाई थप प्रभावकारी बनाईने

नेपाल बीमा प्राधिकरणको नियमनकारी भूमिकालाई सरकारले थप प्रभावकारी बनाउने बजेटमार्फत घोषणा गरेको छ।
नियमनकारी निकाय नै फितालो हुँदा बीमा क्षेत्र नै समस्यामा पर्ने भन्दै नेपाल बीमा प्राधिकरणले नियामनकारी निकायलाई थप प्रभावकारी बनाईनेमा सरकारले जोड दिएको हो ।

नेपाल बीमा प्राधिकरणको संस्थागत क्षमता सुधार गरिने
नेपाल राष्ट्र बैंक ऐन र विदेशी विनिमय नियमित गर्ने ऐन संशोधन गरिनेछ। धितोपत्र बोर्ड नेपाल र नेपाल बीमा प्राधिकरणको संस्थागत क्षमता सुधार गरिनेछ।

न्यून आय भएका वर्गलाई लघुबीमामा समावेश गरिने
सरकारले न्यून आय भएका वर्गलाई लघुबीमामा समावेश गर्ने लक्ष्य लिएको छ।
आगामी आर्थिक बर्षमा न्यून आय भएका जनताहरुलाई पनि बीमाको पहुँचमा ल्याउन लघुबीमा कार्यक्रममा समावेश गर्ने घोषण गरेको छ।

१०० बिघाभन्दा ठूलो परिधिमा धानखेती गर्ने कृषकलाई बीमाशुल्कमा छुट
१०० बिघाभन्दा ठूलो परिधिमा धानखेती गर्ने परियोजनालाई सहज रूपमा मल, बीउ, प्राविधिक सेवा तथा सहुलियतपूर्ण कर्जा दिने र बीमाशुल्कमा छुटको व्यवस्था बजेटले गरेको छ।

साना किसानलाई बीमाको प्रिमियममा अनुदान
साना किसानलाई बीमाको प्रिमियममा अनुदान दिने बजेटले समावेश गरेको छ।ती कृषकहरुको लागि बाली तथा पशुपन्छी बीमाको प्रिमियममा अनुदान प्रदान साढे १ अर्ब रुपैयाँ छुट्याएको छ।

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन
सरकारले आगामी वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमाको पहुँच विस्तार गरेर स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गरिने बताए।

सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रम बीच अन्तर आबद्धता कायम गरिने
सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रम बीच अन्तर आबद्धता कायम गरिने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई कोषबाटै स्वास्थ्य बीमा गराउने व्यवस्था गर्ने बताएका हुन । ‘सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा कार्यक्रम बीच अन्तर आबद्धता गरेर कोषमा सहभागी योगदानकर्ताको स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोष मार्फत गरिने व्यवस्था गरिनेछ, मन्त्री पुनले भने।

बाल सुधार गृहमा रहेका सम्पूर्ण बालबालिकाको स्वास्थ्य बीमा गरिने
बाल सुधार गृहका भौतिक संरचना सुदृढ गर्दै बाल सुधार गृहमा रहेका सम्पूर्ण बालबालिकाको स्वास्थ्य बीमा गरिने बिषय बजेटमा समावेश गरिएको छ।

अति अशक्त अपांगता वर्गमा परेका व्यक्तिलाई स्वास्थ्य बीमामा आबद्ध
सरकारले राज्य सुविधा परिचयपत्र प्राप्त परिवारका अति अशक्त अपांगता वर्गमा परेका व्यक्तिलाई स्वास्थ्य बीमामा आबद्ध गरिने जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*