‘बजेटले पुँजी बजारको केहि बिगारेको छैन, लगानीकर्ताको मनोबल दरिलो हुनुपर्छ’

तुलसीराम ढकाल
१८ जेष्ठ २०८१, शुक्रबार १९:१३

काठमाडौँ । शेयर बजार निकै सबल तरिकाले हेर्नु पर्छ । मैले पनि सकारात्मक तरिकाले नै नियाली रहेको छु । अर्थमन्त्रालयले आर्थिक वर्ष २०८१।८२ को बजेट मार्फत शेयर बजारका लगानीकर्ताले माग गरेको बुँदा सम्बोधन हुन सकेनन् । हामीले पुँजीगत लाभकरसम्बन्धी व्यवस्था संशोधन गर्न सरकारसँग माग गरेका थियौ । अहिले प्राकृतिक व्यक्तिले सेयर कारोबारबाट प्राप्त आम्दानीमा अल्पकालीन भए ५ प्रतिशत र दीर्घकालीन लगानीमा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ । यसलाई नै अन्तिम कर कट्टी हुने कानुनी व्यवस्था गर्नुपर्ने लगानीकर्ताको माग रहेको थियो ।

त्यस्तै, अल्पकालीन भए ५ प्रतिशत र दीर्घकालीन लगानीमा ७.५ प्रतिशत अग्रिम कर असुल गर्नुपर्ने ब्यवस्था अहिले रहेको छ । उक्त व्यवस्थालाई अल्पकालीन भए ५ प्रतिशत र दीर्घकालीन लगानीमा ३ प्रतिशत कायम गर्न माग हामीले गरेको थियौ । सो ब्यवस्थाले लगानीकर्ताहरुको मनोवल उच्च हुने र कारोबार रकम बढेर सरकारको राजस्वसमेत बढोत्तरी हुने सुझाव दिएका हौं । तर, यो माग सम्बोधन हुन सकेन ।

बजेट मार्फत पुँजी बजारका लागि राम्रो पनि गरेको छैन र नराम्रो पनि गरेको छैन । अब यसलाई हाम्रो कुरा सुनेको भन्ने कि नसुनेको भन्ने हामीनै अन्यौलमा छौं ।

किन घट्यो बजार ?

लगानीकर्ताले अहिलेका अर्थमन्त्री वर्षमान पुन माथि ठुलो अपेक्षा राखेका थिए । उनि नियुक्ति हुने बेला गरेको प्रतिवद्दताले लगानीकर्तामा उत्साहको महोल समेत बनेको थियो । उनले पुँजी बजार सुधारका लागि सुझाव समेत माग गरेका थिए ।

अर्थमन्त्रीको उक्त सक्रियताले लगानीकर्ताको माग सम्बोधन हुनेमा सबै ढुक्क थिए । तर, माग सम्बोधन नभएपछि लगानीकर्ताको मनोबल केहि कमजोर हुनु पुग्यो । यता, १८ सयमा रहेको पुँजी बजार २१ सय पुग्दा टे«डरहरु नाफा बुक गर्ने तिर हाबि भए । सोहि कारण पनि बजार यो साता करेक्सन देखिएको छ ।
अहिले मार्केटमा आएको करेक्सनलाई नीतिगत असर भन्दा लगानीकर्ताको मनोबलको असर परेको हो । समग्रमा यो साता बजार २.९१ प्रतिशत अर्थात ६१.९६ अंकले घटेर २०६९.५३ बिन्दुमा बन्द भएको छ ।

बजेटले केहि बिगारेको छैन, अब लय लिन्छ

समग्र पुँजी बजारको अवस्था हेर्दा घट्नु पर्ने कुनै कारण देखिदैन । बजेटले पुँजी बजारका लागि केहि पनि बिगारेको छैन । आर्थिक वर्षको बजेटले मार्फत सरकारले शेयर बजारलाई त सहज रुपमै छोडेको छ । मार्केटमा कुनै नीति तथा करका बुँदा थप भएको छैन । यसले गर्दा आत्तिनुपर्ने कारण देखिदैन ।

पुँजी बजारको सत्रुको रुपमा रहेको बैंकको ब्याज निरन्तर ओरालो लागि रहेको छ । बैंकमा पैसा प्रसस्त मात्रामा रहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको तेस्रो समिक्षाले पुँजी बजारलाई केहि सहज पक्कै गरेको छ । मौद्रिक नीति समीक्षापछि बैंकहरुलाई आफूले लगानी गरेको धितोपत्रहरु एक वर्ष पुगेपछि २० प्रतिशतसम्म बिक्री गर्न दिने नीति लिएको छ । यसअघि १ प्रतिशतमात्र बिक्री गर्न पाइन्थ्यो । यस प्रावधानले बैंकहरुले सेयर खरिद बढाउन सक्ने देखिएको छ ।

यसै प्रावधानको सकारात्मक प्रभाव बजारमा परेको छ । अब बैंकहरुले सस्तो मूल्यका सेयरहरु खरिद गर्न सक्ने अवस्था छ । किनेको सेयर एक वर्षपछि नाफा लिएर बिक्री गर्न सक्ने अनुमति केन्द्रीय बैंकले दिएको छ । यी विशेष कारणले गर्दा पुँजी बजार बढ्ने नै देखिन्छ ।

बजेटलाई समेटेर अबको आउने मौद्रिक नीति आउनुपर्छ । अब मौद्रिक नीतिबाट लगानीकर्ताका माग सम्बोधन हुन्छ । यसैले बजार आफ्नै लयमा जाने देखिन्छ । यो बेला नाफा बुक गर्नेहरु हाबि हुँदा केहि घट्न पुगेको हो ।

लगानीकर्ता मनोबलले शेयर बजारलाई ठुलो असर गरेको हुन्छ । अब लगानीकर्ताको मनोबल उच्च हुनु जरुरी छ । लगानीकर्ता मनोबल बलियो भयो भने बजार नयाँ चरणको सुधारमा लम्किनेछ ।

नियामकको नजर शेयर बजारमा पर्नुपर्छ

नियामकको नजर शेयर बजारमा पर्ने गरेको छैन । जसको उदाहरण धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया हो । महिनौ वित्दा समेत बोर्डको अध्यक्ष चयन गर्ने नसक्नुले सरकार कति निरिह छ भन्ने कुरा प्रष्ट हुन्छ । नियामक पुँजी बजारप्रति उदासिन छ ।

शेयर बजारलाई लयमा ल्याउनको लागि ४ वर्षको भिजन भएको बोर्ड अध्यक्ष चाहिन्छ । पुँजी बजारलाई बुझेको र लगानकर्ताको हितमा काम गर्ने सक्ने ब्यक्ति धितोपत्र बोर्डमा आए राज्यलाई पनि राजस्वमा ठुलो योगदान हुनेछ । अहिले राज्यको केहि नीतिको अन्यौलले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् ।

लगानीकर्ताले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतलाई १०० प्रतिशत र १५ करोड र २० करोडको सीमा हटाउनु पर्ने माग गर्दै आइरहेका छन् । यी बुँदा नियामक केहि लचिलो भयो भने बजारले सकारात्मक गति लिनेछ । सोहि कारण सरकारको नजर पुँजी बजारमा पर्नुपर्ने छ ।

यहि नीति हुँदा समेत कुनै समय ९ अर्बको कारोबार भएको थियो । त्यो बेला लगानीकर्ताको मनोबल बलियो थियो । सरकारले लगानीकर्ताको कमजोर मनोबललाई प्रोत्साहन मात्र गरेपनि शेयर बजारले सकारात्मक यात्रा तय गर्छ ।

(नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष ढकालसँग कुराकानीमा आधारित)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*