पुँजीकोषको दबाबमा रहेका वाणिज्य बैंकलाई अग्राधिकार सेयर जारी गर्न दिने तयारी, लाभांश वितरणमा होला त राहत ?

२१ जेष्ठ २०८१, सोमबार १४:४५

काठमाडौं । केन्द्रिय बैंकले पुँजीकोषको दबाबमा रहेका वाणिज्य बैंकहरूलाई पुँजी पु¥याउन अग्राधिकार सेयर जारी गर्न दिने भएको छ।मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले विभिन्न उपकरणहरूमार्फत बैंकहरूको प्राथमिक पुँजीकोष सहज बनाएर कर्जा प्रवाह बढाउने नीति लिएको छ। सो अनुसार पुँजीकोषको दबाबमा रहेका बैंकहरुलाई सहज कर्जा दिने निति अघि सार्न लागेको राष्ट्र बैंकले जनाएको छ।

तेस्रो समीक्षामार्फत प्राथमिक पुँजीकोष बढाउने विभिन्न उपकरण जारी गर्न दिनेबारे सम्बोधन भइसकेको छ। अब केही समयभित्रै सर्कुलर जारी गरेर बैंकहरूलाई यसमा सहजीकरण गर्ने तयारीमा राष्ट्र बैंक रहेको छ।

नबिल बैंकले गत चैत महिनामा नै ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार थियो । उचित नितिमा समावेश नभएको भन्दै पाँच अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर राष्ट्र बैंकमा अड्केको थियो । राष्ट्र बैंकले अग्राधिकार सेयर जारी गर्न अनुमित दिएपछि नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको ८ प्रतिशत लाभांशसहितको अग्राधिकार सेयर जारी गर्नेछ।

चालु आर्थिक वर्षको ९ महिनासम्ममा ५ वाणिज्य बैंकहरू प्राथमिक पुँजीकोषको दबाबमा छन्। एनआइसी एसिया, कुमारी बैंक, प्रभु बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंकहरूमाथि रहेको पुँजीकोषको चापले कर्जा प्रवाहमा समस्या भएको छ। यी वाणिज्य बैंकहरूले कर्जा प्रवाहभन्दा पनि असुली बढाएर पुँजीकोष पु¥याउने दिशामा अगाडि बढिरहेका छन्।

कुमारी बैंकको ८.०३ प्रतिशत, एनआइसी एसिया बैंकको ८.२५ प्रतिशत, प्रभु बैंकको ८.८५ प्रतिशत, माछापुच्छ्रे बैंकको ८.८० प्रतिशत र हिमालयन बैंकको ८.८६ प्रतिशत प्राथमिक पुँजीकोष रहेको छ। दोस्रो त्रैमासमा ८.५ प्रतिशत तल प्राथमिक पुँजीकोष पुगेको प्रभु बैंकले सीमाभन्दा पु¥याएको छ।

बैंकहरूले प्रत्येक महिना आफ्नो पुँजीकोषबारे राष्ट्र बैंकमा रिपोर्टिङ गनुपर्ने व्यवस्था रहेको छ। कुनै पनि महिना अपुग भएमा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउन सक्ने व्यवस्था एकीकृत निर्देशनमार्फत गरेको छ।

जसले गर्दा प्रभु बैंक, एनआईसी एसिया बैंक र कुमारी बैंकले आगामी आर्थिक वर्ष लाभांश वितरण गर्ने क्षमता गुमाइसकेका छन्। पुँजीकोष कायम गरेका हिमालयन र माछापुच्छ्रे बैंक पनि ठूलो कर्जा प्रवाह गर्न सक्ने स्थितिमा छैनन्।

यस्तै नबिल बैंक पनि पुँजीको दबाबमै देखिन्छ। यस बैंकको प्राथमिक पुँजीकोष ९.१० प्रतिशत छ। यसबाहेक सिटिजन्स इन्टरनेशनल बैंकको ९.१५ प्रतिशत, सिद्धार्थ बैंकको ९.२३ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ९.४८ प्रतिशत प्राथमिक पुँजीकोष रहेको छ। स्टाण्डर्ड चार्टर्ड बैंक पुँजीकोषमा सबैभन्दा सहज अवस्थामा छ। चालु आर्थिक वर्षको ९ महिनामा यस बैंकको प्राथमिक पुँजीकोष १३.२७ प्रतिशत रहेको छ।

स्टाण्डर्ड चार्टर्डपछि कृषि विकास बैंकको ११.३६ प्रतिशत, प्राइम कर्मियल बैंकको १०.५४ प्रतिशत, एभरेष्ट बैंकको १०.४६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १०.४३ प्रतिशत, नेपाल बैंक लिमिटेडको १०.३८ प्रतिशत,नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको १०.३५ प्रतिशत, नेपाल एसबिआई बैंकको १० प्रतिशत प्राथमिक पुँजीकोष रहेको छ।

एनएमबि बैंकको ९.६८ प्रतिशत, सानिमा बैंकको ९.८९ प्रतिशत र ग्लोबल आइएमई बैंकको ९.९३ प्रतिशत प्राथमिक पुँजीकोष छ।

आगामी आर्थिक वर्षबाट राष्ट्र बैंकले ०.५ प्रतिशत बिन्दुले काउन्टर साइक्लिकल बफर थप गर्ने भएकाले ९ प्रतिशत र १० प्रतिशतभन्दा कम पुँजीकोष कायम गरेका बैंकहरू समस्यामा पर्ने निश्चित छ। बैंकहरूले जोखिम बढी भएका क्षेत्रमा लगानी बढी गरेमा बैंकहरूको पुँजीकोष दबाबमा जाने र कम जोखिम भएको क्षेत्रमा लगानी गरेमा पुँजीकोषको दबाब कम हुने स्थिति रहन्छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*