भविष्यका लागि सुरक्षित लगानी गर्न जीवन बीमा किन नगर्ने ? –प्रकाश श्रेष्ठ, चिफ बिजनेश म्यानेजर, नेशनल लाइफ

२४ जेष्ठ २०८१, बिहीबार १०:०८

नेशनल लाइफ इन्स्योरेन्सका चिफ विजनेश म्यानेजर प्रकाश श्रेष्ठ विगत एक दशकदेखि बीमा क्षेत्रमा आवद्ध रहेका छन् । उनले काठमाडौं उपत्यकाका नागरिकहरुलाई बिभिन्न जोखिमबाट सुरक्षित गर्न र बीमा पोलिसीलाई परिचालन गरी आर्थिक समस्याबाट लाभ उठाउन आफ्ना बीमीतहरूलाई बीमा शिक्षा र सुझाव मात्र दिँदैनन् आर्थिक रुपमा सुरक्षित रहने कुरा पनि सिकाउँदै आएको छन् ।

आफ्नो कार्यमा व्यस्त रहेका श्रेष्ठ कैयौपटक एमडिआरटी बन्दै सिओटी र टीओटी समेत बनीसकेका छन् । उनका बुझाईमा नागरिकहरुले पैसालाई राम्रो र निश्चित समयको लागि मुविलाईजेशन गर्न सक्यो भने बीमा निःशुल्क गर्न सकिन्छ ।

युवा उमेरमै जीवन बीमा क्षेत्रमा उल्लेख्य प्रगति गर्न सफल भएका श्रेष्ठ बीमा क्षेत्रमै लागेर जीवन सफल र समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएका छन् ।

प्रस्तुत छ, उनै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका चिफ बिजनेश म्यानेजर प्रकाश श्रेष्ठसँग बीमापोष्टका लागि राजन कठायतले गरेको कुराकानीको अंशः

बीमा क्षेत्रमा आवद्ध हुनुभएको कति समय भयो ?

विगत एक दशकबढी समयदेखि बीमा क्षेत्रमा आवद्ध रहेको छु । म नेशनल लाइफमा आवद्ध भएको मात्रै २ वर्ष हुन लागेको छ । म यस कम्पनीमा आउनुपूर्व अर्को एक कम्पनीमा आवद्ध भएर काम गरेको थिए ।

अभिकर्ता पेशामा कसरी जोडिनु भयो ? यसको भविष्य कस्तो देख्नुहुन्छ ?

म पहिलादेखि नै व्यापारी मान्छे हुँ । मैले बीमाको बारेमा त पहिलादेखि नै पढ्दै आएको थिएँ । त्यतिबेला आफु २३ वर्षको हुदाँ एउटा बीमा गराएको थिएँ । अनि विवाह गरेपश्चात छोरो जन्मियो अनि छोराको पनि बीमा गराई दिएँ ।

यसैक्रममा एक कम्पनीको अभिकर्ताले मेरो ससुरा बुवाको बीमा गराए । सोही क्रममा मेरो जिवनमा एउटाँ सानो दुर्घटना घट्यो । ५२ वर्षको उमेरमा ससुरा बुवाको निधन भयो । उहाँको निधन पछि बीमा दावी भुक्तानी माग गर्दा उक्त कम्पनीले बीमा भुक्तानी दिए । अनि मैले मेरो छोराको बीमा गर्ने समयमै मैले मेरो पसलमा काम गर्ने कर्मचारीको छोराको पनि बीमा गराउन भनेर सुझाव दिएँ । तर, उहाँले मान्नुभएन । एक दिन नयाँ घर निर्माणको क्रममा उहाँको छोराको दुर्घटनामा परी ज्यान गुम्यो र त्यो परिवारको बिच्चली बनेको देख्दा मलाई महशुस भयो की, मैले यस्ता समस्याबाट बचाउन भएपनि नागरिकहरुलाई बीमा गराउन आवश्यक रहेको सोचेँ र म निरन्तर बीमा अभिकर्ताका रुपमा आवद्ध भए ।

बीमा अभिकर्ताहरुको भविष्य पहिलेको भन्दा राम्रो छ । हिजो आज बीमाको बजार पनि विस्तार हुने क्रममा रहेको छ । यस क्षेत्रमा आवद्ध भएर काम गर्न चाँहने अभिकर्ताहरुको भविष्य आउँदो दिनमा राम्रो हन्छ भन्ने मैले बुझेको छु ।

 

तपाईले बीमा अभिकर्ता पेशालाई मात्र व्यवसायिक बनाउनु भएको छ की, यो बाहेक अन्य कुनै पेशा, व्यवसाय पनि गर्दै हुनुहुन्छ ?

मैले काठमाडौंको विर अस्पताल पछाडी कपडाको व्यवसाय गर्दै आएको छु । तर आम जनता तथा नागरिकहरुले मलाई कपडा व्यापारी भन्दा पनि बीमा बेच्ने अभिकर्ताको रुपमा बढी चिन्ने गर्दछन् । म एउटा सफल बीमा अभिकर्ता भएको कारण आमनागरिकहरूले मलाई बढी चिन्ने गरेको मैले महशुस गरेको छु।

तपाईको विचारमा बीमा अभिकर्ता भनेर कसरी बुझ्नु भएको छ ?

मैले बीमा गर्ने तरिका पनि अलि फरक छ । मैले नागरिकहरुलाई पैसा कमाउनको लागि मात्र बीमा गर्नुस् भन्ने गर्दछु । किनभन्नु हुन्छ भने, पैसा कमाउनको लागि पैसा चाँहिने भएकोले बीमा गरेपछि अप्ठ्यारो अवस्थामा अप्ठेरो टार्न सहज हुन सक्छौं । हामीले विभिन्न समस्याको सामाधान गर्न बीमा गर भने पो त्यो पैसाले सुरक्षा प्रदान गर्नुको साथै पैसा पनि कमाउन सहयोग गर्दछ् ।

नागरिकहरुलाई बीमाबारे बुझाउन कत्तिको सजिलो, अप्ठ्यारो कस्तो छ अवस्था ?

बीमाको बारेमा बुझाउन खासै गाह्रो त छैन् । तर, प्रमुख समस्या के रहेछ भने बीमा भनेको रुपैयाँ तिरेर किन्ने चिज हो । नागरिकहरुले बीमा गर्छौ भने पनि रुपैयाँ जोहो गर्न नसक्दा समस्या उत्पन्न हुने अवस्था छ । मेरो अनुभवमा, मैले बीमा गर्न प्रस्ताव गर्दा १० जनामध्ये १० जनाले नै हुन्छ भन्छन्, तर १ जनाले मात्र बीमा गर्ने गर्छन् ।

अर्को, सबैभन्दा रोचक कुरा त के छ भने, बीमा गर्नलाई हामीसँग पैसा नै आवश्यक नचाहिने रहेछ । तपाईहरुसँग पैसालाई घुमाएर पैसा कमाउने कला छ भने, निःशुल्क बीमा पनि हुँदो रहेछ । कसरी निःशुल्क बीमा हुन्छ भन्दा हामीलाई शुरुमा खाता खोल्दा चाहीँ पैसा चाँहिने हो, तर पछि त त्यहीँ पैसालाई चलाउन सक्छौं ।

बीमा पोलिसी बिक्री गर्न नागरिकहरुको घर–घरमा जानुपर्छ, दिक्क लाग्दैन् ?

सबैको आ–आफ्नो काम हुन्छ । बीमाको बारेमा जनचेतना प्रवाह गर्ने काम हाम्रो भएकाले यसमा दिक्क मानुपर्ने त्यस्तो कुनै कारण देखिदैन् । बीमाबारे जनचेतना जोगाउन हामीले कहिले सेमिनार गरिरहेका हुन्छौ, कहिले घर–घरमा पुगिरहेका हुन्छौं । यस्ता कार्यमा मलाई कहिल्यै पनि दिक्क लाग्दैन् ।

मैले त झन् १० मिनेटको लागि कसैसँग समय लिएको छु भने उल्टै ३–४ घण्टा नै कुरा सुनिदिनु हुन्छ । अनी खुशी लाग्छ । आफु व्यवसायिक भएपछि दिक्क लाग्दैन् झन् रमाईलो लाग्छ । मैले बीमा गराएर कतिपय मानिसको आर्थिक आयस्तर नै बढाएको बीमितहरुबाट प्रष्टै थाहा पाउन सक्छौं ।

 बीमितहरुको सर्वाधिक रोजाईमा पर्ने बीमा पोलिसी कुन्–कुन हुन् ?

सम्पूर्ण बीमा पोलिसीहरुको फरक–फरक विशेषता हुन्छ । मैले चाहीँ नागरिकहरुलाई ज्यान गुमाएपश्चात पैसा लिउँला अर्थात परिपक्व अवधि भए पश्चात पैसा पाउँला भन्नुहुन्छ भने, त्यसको लागि बीमा नै नगर्नुस् भन्ने गर्छु । किनभने, तपाईले अबको १० वर्षको लागि १० लाख रुपैयाँको बीमा पोलिसी बिक्री गर्नुभयो भने, उक्त समयपछि त्यो पैसाको भ्यालु नै के रहन्छ र हैन् ।

तपाईको बीमा गराउने अभिकर्ता राम्रो र दक्ष छ भने बीमा गराएर तपाईलाई आर्थिक रुपमा आयस्रोत बढाउने कार्य गर्दछ । त्यसकारण व्यवसायिक बीमा अभिकर्ताहरुसँग बीमा गराउन अतिनै आवश्यक छ ।

नागरिकहरुका लागि बीमा किन महत्वपूर्ण छ ?

हरेक व्यक्तिको लागि बीमा एकदम महत्वपूर्ण हुन्छ । हामीले बीमाबाट पाउने सेवा, सुविधा तथा जोखिम हस्तान्तर लगायत अन्य कुनै पनि सुविधा अन्य निकायबाट पाउन सक्दैनौं । बीमाबाट पाउने कुरा न बैंक, सहकारी, लघुवित्त कुनैले पनि दिन सक्दैन् । हाम्रो छिमेकी राष्ट्र भारतको नै कुरा गरौं न, त्यहाँ प्रधानमन्त्री नरेन्द्र दास (दामोदर) मोदीले सम्पूर्ण भिख मागेर बस्ने भिखारीहरूलाई समेत बीमा गराईदिएका छन् ।

जब राज्यलाई अप्ठ्यारो पर्दछ, त्यतिबेला राज्यलाई आवश्यक पर्ने भनेको बीमा कम्पनी नै हो । देशमा प्राकृतिक प्रकोप ः भूकम्प, हूरीवतास, बाढीपहिरो लगायतका प्रकोपहरु आयो भने बीमा कम्पनीहरुले त्यसका लागि अन्तर्राष्ट्रियस्तरका पूनर्बीमा कम्पनीमा बीमा गरेका हुन्छन् । निकट भविष्यमा आउने भैपरी समस्याको सामना बीमा गर्न आवश्यक छ ।

नेशनल लाइफमा आवद्ध भएर बीमा पोलिसी बिक्री गरिरहँदा तपाई आफू कत्तिको खुशी हुनुहुन्छ ?

म एकदमै खुशी छु । मैले आम नागरिकहरुको बीमा गर्दै उनीहरुको जोखिम हस्तान्तरण गर्नुका साथै राज्यको पूँजी वृद्धिमा योगदान पु¥याउन पाएको छु । नागरिकहरुले मबाट बीमा गराएपश्चात म उहाँहरुलाई पैसाको मुभिलाईज गराउन पनि सिकाउँछु । बीमाका साथै बीमा गरेको पैसाले बीमितहरुले पैसा कमाएको देख्दा एकदमै खुशी हुन्छ ।

प्रायः मानिसहरुले पैसा कमाउँन भनेर व्यापार गरिरहेका हुन्छन् । उहाँहरुको व्यापार नै डुब्दा मैले गराईदिएको बीमाले उहाँहरुलाई आर्थिक संकटबाट बचाउन ठूलो भूमिका खेल्ने गरेको छ ।

बजारमा अभिकर्ताहरुको चर्को अस्वस्थ प्रतिस्पर्धा रहेको छ ? यस्तो अवस्थामा स्वस्थ र वास्तविक व्यवसायिक अभिकर्ताहरूलाई नागरिकहरुले कसरी पहिचान गर्न सक्छ ?

व्यवसायिक अभिकर्ता, साधारण अभिकर्ता र पार्ट टाइम अभिकर्ताहरुमा फरक त भै हाल्छ । म आफै यस क्षेत्रमा आवद्ध भएको १३ वर्ष बढी भैसकेको छु । साधारण अभिकर्ताहरुले नागरिकहरुलाई बीमा गराउदाँ कर गर्ने, मेरो लागि गरिदिनु भन्ने, यस्तो फाइदा हुन्छ, त्यस्तो हुन्छ भन्दै जवर्जस्ती अस्वस्थ रुपमा बीमा गराउने गर्छन् ।

तर, एउटा व्यवसायिक अभिकर्ताले नागरिकहरुलाई बीमा गराउन कहिल्यै पनि कर गर्दैनन् । उसले समयलाई प्रतिक्षा गर्दछ । उनीहरुले नागरिकहरुलाई बीमाको पैसालाई मुभिलाईजेशन गर्नेतिर जोडदिन्छन् । उनीहरुको बोलीबाट नै नागरिकहरुले साधारण अभिकर्ता र व्यवसायिक अभिकर्ता भनेर छुट्याउन सक्छन् ।

बीमा दावी भुक्तानीका विषयमा धेरै समस्या आइरहेका छन् । अभिकर्ताहरुले बीमा गराउदाँ ठुला–ठुला गफ दिने र बीमा गराउने अनि दावी गर्नुपर्ने बेला अनेक वहानागरी पन्छिने प्रवृति छ, यसलाई कसरी लिनुभएको छ ?

अभिकर्ताहरुले बीमा गराईसकेपछि बीमितहरुलाई समस्या परेको अवस्थामा आवश्यक सेवा, सुविधा उपलव्ध गराई दिनुपर्छ । म जहिले पनि बीमितहरुका लागि आफ्नो समय उपलब्ध गराईरहेको हुन्छु । म बीमितको फोन जुनसुकै समयमा उठाउने गर्छु ।

बीमा दावी भुक्तानीलाई लिएर बजारमा रहेका सबै कम्पनीहरु इमान्दार रहेका त छैनन् । मैले हिजोमात्रै कता–कता पढेको थिए, एक बीमा कम्पनीले बीमितको बीमा पोलिसी नैै रद्द गरिदिएको भन्ने कुरा सुने । यदि यस्तो हो भने, अभिकर्ताहरुले पनि सबै कुरा बुझेर केहो ?, किन यस्तो भयो भनेर, आवाज उठाउन पनि जरुरी छ ।

अहिलेसम्म मैले गराएका बीमाहरुमा कुनै पनि समस्या आएको रेकर्ड छैन् । बीमा अभिकर्ता पेशाका लागि दावी भुक्तानीमा सहज वातावरण सिर्जना गरिदिनु अत्यन्त्यै आवश्यक कुरा हो । यसमा नियमानकारी निकाय बीमा प्राधिकरण, बीमा कम्पनी सबै अभिकर्ताहरु सचेत बन्न आग्रह गर्दछु ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*