६३ लाख नजिक डिम्याटको सङ्ख्या, नियामकको सुस्तताले दूर-दराजका दैलोमा भने छैन पुँजीबजार ज्ञान

दिपक विष्ट
२५ जेष्ठ २०८१, शुक्रबार १८:०६

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा शेयर बजारमा प्रवेश गर्नेहरुको आकर्षण थपिदै गएको छ । दिनप्रति दिन डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेख्ख रुपमा वृद्धि भइरहेको छ । विस्तारै शेयर बजार सम्बन्धी ज्ञान विस्तार हुँदै जाँदा डिम्याट खोल्नहरुको संख्या पनि बढ्न थालेको हो ।

चालु आर्थिक वर्ष २०८०।८१ को वैशाख मसान्तसम्म हितग्राही खाता (डिम्याट) को संख्या ६२ लाख ७२ हजार ३ सय ५१ पुगेको छ । पछिल्लो तीन वर्षमै डिम्याट खाता खोल्नेहरुको संख्या तिन गुणाले बढेको देखिन्छ । करिब आज भन्दा तीन वर्ष अघि अर्थात् २०७७।७८ मा ३७ लाख ३६ हजारको संख्यामा डिम्याट खाता रहेका थिए । तर, कोरोनाको समयमा नै डिम्याट खोल्नेहरुको संख्या निकै बढेको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष २०७८।७९ को अन्त्यमा ५२ लाख ६० हजार २ सय ५१ डिम्याट खाता खोलेका थिए । यस एक वर्षको अवधिमा नै धेरै डिम्याट खाता खोलेको देखिन्छ । आ.व. २०७९/८० को अन्त्यमा डिम्याटको संख्या ५८ लाख २३ हजार पुगेको थियो । शेयर बजारमा लगानीकर्ताको उत्साह बढी रहेदा नियामकको भुमिका थप शशक्त हुुनुपर्ने राजस्व सचिव राम प्रसाद घिमिरेले बताए । उनले भने, ‘शेयर बजारमा आएको उत्साह निकै राम्रो रहेको छ । थप शशक्त गराउनको लागि नियामकले सक्रियता देखाउनु पर्छ ।’

डिम्याटमा पुरुषको संख्या धेरै

डिम्याट खाता खोल्नहरुमा महिला भन्दा पुरुषको संख्या बढी रहेको पाइएको छ । डिम्याट खाताको प्रवृत्ति विश्लेषण गर्दा पुरुष ३६ लाख ४ हजार ५ सय ७, महिला २६ लाख ६० हजार ६ सय १२, अन्य ५४ र संस्थागत ७११५ ले उक्त खाता खोलेको बोर्डले जनाएको छ । डिम्याट खाता खोल्ने महिनाको संख्या कम भएपनि यसलाई उत्साजनक नै मानिएको छ ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ३८ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.४५ प्रतिशत खाता खोलेका छन् । त्यसैगरी कोशी प्रदेशमा १८.८२, गण्डकी प्रदेशमा १२.९२ प्रतिशत, लुम्बिनी प्रदेशमा ११.५४, मधेश प्रदेशमा ११.१६ र सुदुरपश्चिम प्रदेशमा ६ प्रतिशत डिम्याट खाता खोलेका हुन् । कर्णाली प्रदेशमा १ लाख ५१ हजार डिम्याट खाता मात्र रहेकोमा बागमतीमा २३ लाख १२ हजारभन्दा बढीको संख्यामा डिम्याट खाता रहेको छ ।

शेयर बजारमा १९ वर्षदेखि ३० वर्ष उमेर समूहकाले सर्वाधिक लगानी गरेको पाइएको छ । यी उमेर समूहमा डिम्याट खाता (हितग्राही खाता) खोल्नेको संख्या बढी रहेको नेपाल क्लियरिङ लिमिटेड (सिडिएसी)को तथ्यांक छ । १८ वर्षदेखि ३० वर्ष उमेर समूहका लगानीकर्ताको संख्या करिब साढे १९ लाख पुगेको छ । यो समग्र लगानीकर्ताको ३१ प्रतिशत हो ।

त्यस्तै, सर्वाधिक कम डिम्याट खाता खोल्ने उमेर समूह भने ७० वर्षदेखि माथिका रहेका छन् । सिडिएसीका प्रवक्ता सुरेश न्यौपानेले सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाताको संख्या बढेको बताए । ‘विशेष गरी युवा उमेर समूहको संख्या पछिल्लो समय बढेको छ । १८ वर्षदेखि ३० वर्षको उमेरदेखि नै लगानी गर्नुपर्छ भन्ने बानीको विकास तीव्र गतिले बढेको हो ।’

विद्यार्थीहरुले आम्दानी स्रोतको रुपमा पुँजी बजारलाई हेरे रहेको लगानीकर्ता विकास थापाले बताए । उनले भने, ‘कोरोनाको समयमा शेयर बजारमा आकर्षण थपिएको छ । विधालय बन्द हुँदा विद्यार्थी लगानीको वातावरण खोलि रहेका थिए । सोहि बेला उनीहरुले शेयर बजारलाई उत्तम मानेर अघि बढेको देखिन्छ । उच्च शिक्षा हासिल गर्नेका लागि विद्यार्थी शेयर बजारको बाटो समालि रहेको अवस्था छ ।’

दुरदराजमा अझै पुगेन पुँजी बजार ज्ञान

शेयर बजार सम्बन्धी ज्ञान अझै व्यापक रुपमा हुनु सकेको छैन । शेयर बजारमा भएकाहरु मध्यपनि कयौले शेयर कारोबार नै गर्ने गरेको छैन । यसको प्रमुख कारण हो जनचेतनाको कमी हो ।

नियामकको शशक्त भुमिका नहुँदा शेयर बजार सम्बन्धी जानकारी अझै दुरदराज तिर पुग्न नसकेको सुदुरपश्चिम प्रदेश डोटीका लगानीकर्ता सिताराम बोहराले बताए । उनले गाउँ घर तिर डिम्याट खोल्न सुझाव दिदा सो सम्बन्धी ज्ञान नै नहुने गरेको बताए । उनले भने, ‘गाउँ घर तिर डिम्याट खोल्नु भन्दा के हो त्यो भनेको प्रश्न गर्छ । बुझाएपनि पैसा डुब्छ कि भने अर्का प्रश्न गर्छन । सहर छिरेकाहरुलाई मात्र ज्ञान छ । गाउँ घर मै जीवन आर्जन गरी रहेकोलाई सो सम्बन्धी ज्ञान नै छैन ।’

दुर दराजसम्म शेयर बजार बारे जनचेतना फैलाउनु राज्यको दायित्व रहेको भन्दै पोखरेलले नियामक शशक्त हुनुपर्न बताए । ‘राज्यले स्थापना गरेको धितोपत्र बोर्डले काठमाडौँ उपत्यका मात्र नेपाल हो सोचेको छ । काठमाडौँमा फाइब स्टार होटलमा कार्यक्रम गरेर बजेट सकाउछ काम गर्छ । तर, गाउँ घर कहिल्यै नजर पर्र्दैन’ उनले भने, ‘सो सम्बन्धी जानकारी तथा ज्ञान दिन बोर्ड चुकेको छ । आम्दानीको एक सबल बाटो हुने शेयर बजारका लागि जनचेतना दुरदराजसम्म पुग्नु आवश्यक रहेको छ ।’

शेयर बजारमा डिम्याट खाता खोल्नेहरुको संख्या थप उत्साहमय बनाउनको लागि सरकारले प्राथमिकता दिनुपर्ने लगानीकर्ता छोटेलाल रौनियारले बताए । उनले भने, ‘शेयर बजार चलयमान भयो भने अर्थतन्त्र समेत सबल बन्दै जान्छ । राज्यले शेयर बजारमालाई बाधा गर्ने नीति फुकुवा गर्दा थप यसमा लगानीकर्ताको आर्षकण थपिने र जसको प्रत्यक्ष फाइदा राज्यलाई हुन्छ ।’

पछिल्लो समय डिम्याट खाता खोल्नेहरुको संख्या बढेपनि थप बढाउन नियामकले भुमिका खेल्नु पर्ने धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल बताए । उनले काठमाडौँ उपत्यका बाहिरसमेत शेयर बजार बारे जानकारी दिनु आवश्यक रहेको बताए ।

अहिले रहेका लगानीकर्ताहरुको पनि शेयर बजार सम्बन्धी ज्ञानको अभाव रहेको लगानीकर्ता सुबास केसीले बताए । ‘हामीले ६३ लाख लगानीकर्ता भनि रहेका छौ । तर सक्रिय लगानीकर्ता निकै कम छन् । आइपीओ आउँदा करिब १५।१६ लाखले मात्र भरेको पाइन्छ’ उनले भने, शेयर बजार ज्ञान भएका सबल लगानीकर्ता आउनु पर्छ । जसका लागि बोर्ड र राज्यले शेयर बजार सम्बन्धी जनचेतना फैलाउनु पर्छ ।’

मेरो शेयरको अवस्था कस्तो ?

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा मेरो शेयरको संख्या ५३ लाख २२ हजार ९ सय ६९ पुगेको छ । २०७७ असारमा करिब ७ लाखको संख्या रहेकोमा २०७८ को असारमा उक्त संख्या वृद्धि भई २८ लाख ५१ हजार ८ सय ३ पुगेको थियो ।

आ.व. २०७८ ७९ को अन्त्यमा उक्त संख्या ४३ लाख ६८ हजार ६ सय ३९ पुगेको छ । आ.व. २०७९।८० को अन्त्यमा उक्त संख्या ४७ लाख ४१ हजार ५५ पुगेको छ ।

धितोपत्रको दोस्रो बजारमा अनलाईन लगईन लिने लगानीकर्ताको संख्यामा समेत उल्लेख्य वृद्धि आएको छ । आ.व. २०८०१८१ को वैशाख मसान्तसम्म उक्त संख्या २२ लाख १६ हजार २ सय ४७ पुगेको छ । २०७७ असारमा धितोपत्रको दोस्रो बजार अनलाइन कारोबार करिब ३५ हजार भन्दा बढीले भन्दा बढीले युजर आई डि लिएकोमा २०७८ असारमा ७ लाख ९५ हजार ९ सय ३४ ले लिएका थिए । आ.व. २०७८।७९ को अन्त्यमा सो लिने लगानीकर्ताहरूको संख्या १४ लाख ८५ हजार ४ सय ६० पुगेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*