विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, १९ खर्ब ४२ अर्ब नाघ्यो

एक वर्षभन्दा बढी समयको आयात धान्ने
२८ जेष्ठ २०८१, सोमबार १६:५६

काठमाडौं । बैशाखमा मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

डेढ वर्षअघि निकै कमजोर अवस्थामा रहेको भनिएको विदेशी मुद्रा सञ्चिति गत बैशाखमा अमेरिकी डलरमै हालसम्मकै सबैभन्दा धेरै रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।
बैशाख महिनासम्ममा नेपालको कुल विदेशी मुद्रा सञ्चिति १९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक बर्ष २०८० असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको विदेशी मुद्रा संचिति २६ प्रतिशतले बढेर १९ अर्ब माथि पुगेको हो ।

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च हुनुले नेपाल सरकारलाई पूर्वाधार निर्माणमा लगानी विस्तारको ठूलो अवसर प्राप्त भएको जानकार बताउँछन् ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कम्तीमा १२ महिनाका लागि पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य लिएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई रु.१७२२ अर्ब २ करोड
पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९ खर्ब ३ अर्ब ५९ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा १३.८ प्रतिशतले वृद्घि भई रु२ खर्ब २० अर्ब ३८ करोड कायम भएको छ । २०८१ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ

नेपालमा रहेको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ । २०८०/८१ को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात धान्न सक्छ । यस्तै १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने समेत राष्ट्र बैंकले जनाएको छ।

२०८१ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायकसँगका अनुपात क्रमशः ३४ प्रतिशत, १०५.३ प्रतिशत र २९.२ प्रतिशत छन् । २०८० असार मसान्तमा यी अनुपात क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*