घोटाला राष्ट्रिय बीमा कम्पनीमा, अख्तियार धाउने अध्यक्ष सिलवाल, बीमा क्षेत्रमा नियमन खोई ?

३० जेष्ठ २०८१, बुधबार ०८:२३

समाचार टिप्पणी

महालेखा परिक्षकको कार्यालयले यस वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणमा रहेको नेतृत्व तथा उच्च तहका जनशक्तिमा गम्भिर कार्य क्षमताको समस्या ठम्यायो । अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको बजेटमै बीमा क्षेत्रको नियामक प्राधिकरणमा दक्षतायुक्त जनशक्ति नभएकोले क्षमता अभिबृद्धि गर्ने कुरा समावेश गरे । पछिल्लो समय बीमा नियामकमा रहेका सञ्चालक समिति तथा उच्च तहका कर्मचारीहरुमा गम्भीर विचलन तथा नेतृत्व क्षमतामाथि प्रश्न चिन्ह उठेको छ ।

महालेखा र अर्थमन्त्रालयले समेत किटान गरेको प्राधिकरणभित्रको कार्यक्षमता समस्या राष्ट्रिय बीमा कम्पनीमा घटेको भेरी बबई सिंचाई आयोजनाले पुष्टि गरेको छ । भेरी बबई सिंचाई आयोजनाको बीमा राष्ट्रिय बीमा कम्पनीमा गरिएको थियो । जम्मा दुई करोड चानचुनको काम भएको थियो । आयोजनामा क्षति पुग्यो । सो बापत आठ करोड ८८ लाख भन्दा बढि बीमा दावी पर्यो । सो बीमा दावीको भुक्तानी सेटिङमा गरियो । राष्ट्रिय बीमा कम्पनीका सञ्चालकहरु, तत्कालिन कामु सिईओ, लेखा प्रमुख, दावी विभाग प्रमुख सहितका कर्मचारी समेतको मिलेमतोमा जानाजान बन्दै नबनेको आयोजनालाई क्षति भएको भन्दै रकम भुक्तानी गरियो ।

सो काण्ड अख्तियारमा पर्यो । बीमा प्राधिकरणले पनि छानविन गर्यो । छानविनको क्रममा राष्ट्रिय बीमा कम्पनीको दावी भुक्तानी त्रुटीपूर्ण भेटियो । त्रुटीपूर्ण दावी भुक्तानी भएको सम्बन्धमा प्राधिकरणले कुनै कारवाही गरेन । नियामक निकाय हुनुको नाताले बीमा कम्पनीहरुमा भएका हरेक गैर कानुनी, अवैध भुक्तानी तथा हिनामिनाका घटनाको सुक्ष्म अध्ययन गरी दोषी देखिने वित्तिकै कारवाही गर्ने दायित्व, जिम्मेवारी र अधिकार बीमा प्राधिकरणलाई दिइएको छ । तर, अँह कारवाही भएन ।

सो काण्डमा अख्तियार पस्यो । जब अख्तियारले छानविन गर्यो । चारैतिर त्रुटीमात्रै फेला पार्यो । बन्दै नबनेको आयोजनालाई दावी भुक्तानी दिएको विषय र सो सूचना थाहा पाएर पनि बीमा प्राधिकरणले कारवाही नगरको विषयमाथि अहिले अख्तियारले छानविन गरिरहेको छ ।

राष्ट्रिय बीमा कम्पनीमा डेटुपी सिईओ सुवास कोइराला, सञ्चालक समितिका पदाधिकारीहरु, लेखा प्रमुख, कम्पनी सचिव, दावी विभाग प्रमुख सहित भएर घोटाला गरेको काण्डमा अहिले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल अख्तियार धाएर बयान दिइरहेका छन् । घुस खाने राष्ट्रिय बीमा कम्पनीका कर्मचारी र सञ्चालक, बीमा प्राधिकरणका अध्यक्ष सिलवाल अख्तियार धाउनु परेको घटनाले प्राधिकरणको नियमन क्षमतामाथि गम्भीर प्रश्न मात्रै उठेको छैन, त्यहाँ काम गर्ने उच्च तहका कर्मचारी र निर्देशकहरुको नियतमाथि पनि प्रश्न उठेको छ ।

अहिले बीमा प्राधिकरणका अध्यक्षमाथि उठेको प्रश्न भनेको कारवाही गर्नुपर्ने पर्याप्त आधार, प्रमाण र कारण हुँदा हुँदै कारवाही किन नगरेको भन्नेमा बढि केन्द्रीत छ । भ्रष्टाचार भयो, घोटाला भयो भन्ने जान्दा जान्दै कारवाही किन गरिएन ? भन्ने प्रश्नको जवाफ शायद फेरि पनि प्राधिकरणका उच्च तहबाट दिनुपर्नेछ ।
हो, बीमा प्राधिकरणमा यही समस्या छ, गल्ती हो पनि भन्ने, गल्ती पनि देख्ने तर कारवाही नगर्ने परिपाटी बीमा नियमनको मुख्य समस्या हो । समयमै राष्ट्रिय बीमा कम्पनीमाथि कारवाही गरेको भए सायद अहिले बीमा प्राधिकरणका अध्यक्षले अख्तियारको कठघरामा उभिएर बयान दिनु पर्ने थिएन की !

पछिल्लो समय प्राधिकरणले बीमा कम्पनीहरुबाट हुँदै आएका अपराधमाथि आँखा चिम्लने काम गरिरहेको छ । सुर्यज्योति लाइफले बीमा प्राधिकरणलाई चुनौती दिँदै बीमितको निधनपछि बीमा पोलिसी रद्द गरेर सिंगो बीमा क्षेत्रलाई बद्नाम गरेको घटना होस वा राष्ट्रिय जीवन बीमा कम्पनीमा बर्षौदेखि अडिट समेत नभई लावारिस अवस्था सिर्जना भएको घटनाहरुमा होस् । कसै न कसैले जिम्मेवारी लिनु पर्दैन र ? नियमनको जिम्मेवारी पाएको बीमा प्राधिकरणका कर्मचारी, सञ्चालक र अध्यक्षहरुले तोकिएको जिम्मेवारी पूरा नगर्नु पनि अख्तियार दुरुपयोग होइन र ?

 

बीमापोष्टमा प्रकाशित समाचार राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइरालाद्धारा खण्डन

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*