निर्धन उत्थान लघुवित्तद्वारा हजारौं जनता गरिबमा रुपान्तरण, ११ सय बढी कालो सूचीमा

२३ मंसिर २०८१, आईतवार १७:५८

काठमाडौँ । लघुवित्त भन्ने वित्तीकै आम सर्वसाधारणको सारथीको रुपमा बुझिन्छ। जसले कम ब्याजदरमा सर्वसाधारण जीवनस्तर सुधारका लागि ऋण दिन्छ। यति मात्रै हैन, लघुवित्त संस्थाले गाउँगाउँमा नै गएर सिप समेत सिकाउने गर्दछ। तर, यसै प्रकृतिको निर्धन उत्थान लघुवित्तले गरिबको नाममा कमाउधन्दा चलाइरहेको छ। सर्वसाधारणलाई गरिबमा रुपान्तरण गर्दै संस्थाले जीवन नै जीउन नदिनेगरी बरबाद गर्दै आइएको तथ्य बाहिर आइरहेको हो।

व्यावसायिक तथा सीपमूलक भन्दै विभिन्न किसिमको तालिम दिने, तालिमपछि ऋण दिने र चर्को ब्याज असुल्ने गरेको आरोप लागेको निर्धनले अहिले भने तिनै ग्राहकहरुको धितो लिलामीको लागि दैनिकजसो सयौँको संख्यामा कर्जा चुक्ता गर्न आउन भन्दै पत्रपत्रिकाहरुमा ऋणीको नाम सार्वजनिक गर्ने गरेको छ। हालसम्म कम्पनीले ६ हजारभन्दा बढी ऋणीहरुको नाम पत्रपत्रिकाहरुमा सार्वजनिक गरेको छ।

यता, एक हजारभन्दा बढी ऋणीहरुलाई निर्धन उत्थानले नबाच्नु र नमर्नुको बाटो देखाएको छ। कम्पनीले कालोसूचीमा राखेर उनीहरुलाई बैंक खाता खोल्नदेखि जीवन नै चलाउन धम्मेधम्मे पारेको छ। कुनै पनि बैंक तथा वित्तीय संस्थाको दायित्व गरिबलाई ऋण प्रवाह गरेर उसको जीवनस्तरमा सुधार ल्याउनु हो। तर, सोझा सर्वसाधारणलाई फसाउन सिपालु निर्धनले ठगीधन्दा चलाइरहेको छ।

कम्पनीले जनताको गाउँघरको आँगनमा नै पुगेर स्वरोजगार दिने भन्दै मिठा मिठा कुरामा पार्ने गरेर ठगी खाने कार्यको सुरुवात गर्ने गरेको छ। साँझ बिहान एक छाकलाई भौतारिने सर्वसाधारणलाई स्वरोजगारको नामले मख्ख बनाउने गरेको छ। कम्पनीले एउटै क्षेत्रमा धेरै व्यक्तिहरुलाई साबुन बनाउने, धूप बनाउने, व्यावसायिक च्याउ खेती गर्ने, बाख्रा पालन गर्ने, फलफूल खेती गर्ने लगायतका तालिम दिने र तिनै व्यक्तिलाई तालिमपछि बजारको अध्ययन अनुसन्धान विना कर्जा दिने गरेको थियो। एउटै क्षेत्रमा धेरै व्यक्तिलाई एउटै किसिमको तालिम र एकै प्रकारको व्यावसायिक कर्जा दिएर संस्थाले ग्राहकहरुलाई अघोषित रूपमा फसाउँदै आएको थियो।

एकै गाउँमा एउटै प्रकृतिको व्यवसायको लागि स्थानीयस्तरमा बजार नहुने र उत्पादन गरेको वस्तु बिक्री नहुँदा ऋण लिएका ग्राहक डुब्ने गरेका छन्। डुबेको मौका छोप्दै निर्धनको कमाई खाने बाटोको सुरुवात गर्ने गरेको छ। आफैँ फसाएका कर्जावाला ग्राहकहरुको धितो लिलाम गर्नको लागि संस्थाले दैनिकजसो सयौँको संख्यामा धितो लिलामीको सूचनाहरु प्रकाशन गर्ने गरेको छ।

धितो लिलामीको सूचना र कालोसूचीको डरले ऋणीहरु गहिरो मानसिक तनावमा परेका छन्। यस्तो अवस्थाले गर्दा कैयौँ ऋणीहरुले आत्महत्या गर्ने अवस्थामा पुगेको खबर बाहिर आउने गरेको छ। ऋण तिर्न नसक्ने डरले कैयौँ परिवार टुटफुट भएका छन्। लघुवित्तले गरिबलाई सहयोग गर्ने उद्देश्य भने पनि वास्तविकता भने ठीक उल्टो देखिएको छ।

कम्पनीले सिकाएको सिपबाट उत्पादित बस्तुले बजार नपाएपछि कालोसूचीमा परेको एक निर्धनको ऋणीले बताइन्। उनले भनिन्, ‘सुरुमा सिप सिकायो। घरमा बस्नुभन्दा घर आँगनमा नै जीवन गुजारा गर्ने सकिने भनेपछि सिप सिकियो। साबुन बनाउने कामका लागि ऋण पनि दियो। तर, हामीलाई के थाहा हजुर, भोलि यसले बजार पाउँदैन भनेररु सामान बिक्री नभएपछि ऋण कसरी तिर्नु त ? (आँखा रसाउँदै) अहिले त कालोसूचीमा राख्यो, अब न मर्न नै सक्छु, न बाँच्न।’

साँझ बिहानको एक छाकलाई भौतारिने सर्वसाधारणको आँसु बेचेर निर्धन नामक कम्पनी आफु मोटाउन खोजिरहेको छ। अध्ययन नै नगरी ऋण दिने र पछि गरिबले पसिना र रगत बगाएर जोडेको सानो घर खेत समेत बेचेर खाने संस्था मनपरी गरिरहेको छ।

केही वर्षदेखि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था निरन्तर घाटामा गएको छ। संस्था यसरी घाटामा जानुको प्रमुख कारण निक्षेप तथा कर्जा दुवैमा अपेक्षाकृत वृद्धि हुन नसक्नु, विगतमा प्रवाह भएको कर्जाबाट नियमित रूपमा साँवा ब्याज असुली हुन नसक्दा खराब कर्जा निरन्तर बढ्नु र व्यवस्थापन खर्च उच्चरूपमा बढ्नु प्रमुख कारण देखिएको छ। नाजुक अवस्थामा रहेको कम्पनीले व्यवस्थापन र पदाधिकारी (सीईओसहित) को टिमले दैनिक करोडौँ तलब भत्ता खाइरहेका छन्।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार लघुवित्तको चुक्ता पुँजी दुई अर्ब ६१ करोड २० लाख, निक्षेप सङ्कलन २० अर्ब ३७ करोड ३५ लाख ७७ हजार पाँच सय ९३ रुपैयाँ, कर्जा प्रवाह २३ अर्ब ५४ करोड ३९ लाख ९७ हजार सात सय ८३ रुपैयाँ गरेको छ। यसबाट ५६ करोड २२ लाख ३७ हजार दुई सय ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। संस्था एक करोड ९५ लाख ५८ हजार चार सय ४४ रुपैयाँ खुद नोक्सानीमा छ। लघुवित्तको निष्क्रिय कर्जा १० दशमलव १६ प्रतिशत छ।

अधिकृत पुँजी तीन अर्ब ५० करोड रुपैयाँ रहेको संस्थामा अहिले कुल ग्राहक संख्या झण्डै चार लाखको हाराहारीमा छ। त्यसमध्ये कर्जावाला ग्राहकको संख्या एक लाख ८२ हजार छ सय १४ छ।

9 thoughts on “निर्धन उत्थान लघुवित्तद्वारा हजारौं जनता गरिबमा रुपान्तरण, ११ सय बढी कालो सूचीमा

  1. Posh Raj Khanal says:

    वास्तविक तथ्य नबुझिकन जे पायो त्यही लेख्ने तिमी जस्ता पत्रुकार हो आफू मोटाउनको लागि भ्रामक समाचारहरु प्रेषित गरि भ्रम छर्दै अरुको बदनामी गर्ने ! के निर्धन उत्थानले दिएको पैसा पशुपतिको प्रसाद हो र ???

  2. लोक रावत says:

    पत्रकारिता जस्तो गर्भिलो संस्थाको खेद जनक विश्लेषणले समाजमा कस्तो प्रकारको सन्देश प्रबाह होला।पत्रकारिता के हो ? पत्रकारितामा कस्तो प्रकारको समाचार सत्य तथ्य बुजेर सम्प्रेषण गर्ने भन्ने सम्मको ज्ञान भयको देखियन ।दुई पक्ष लाई नबुजेर एक पक्षिय समाचार बनाउदा कस्तो प्रकारको सन्देश प्रबाह हुन्छ सम्मको कुरा मनन नगरी बनाइयको समाचार पक्का पनि पित पत्रकारिता भित्र पर्दछ ।सत्य तथ्य के हो बुजेर समाचार सम्प्रेषण गरेको भय असल पत्रकारिताको धर्म हुने थियो ।यस्तै यस्तै पत्रकारिताले देशमा सुचना प्रबाहमा जनता को बिश्वास घट्दै गयको देखिन्छ

  3. मनोज साह says:

    लघुबित्तको बारे लेख्नु नु भन्दा पहिला लघुबितको बारेमा केही जानकारी राख्ने नुस झोले पत्रकार नबन्नुस

  4. उमेश says:

    अपरिपक्क एवं खेद्पुर्ण रिपोर्टिङ।

  5. Laxmi Bhattarai says:

    तपाईंले लिएको ऋण कसैले पसिना बगाएर गरेको बचत हो।
    ऋण लिएपछि समयमा तिर्नु पर्छ हाम्रो बचत समयमै फिर्ता पाउन पर्छ । ऋण लिएपछि तिर्न पर्दैन कि भन्ने भ्रम मा नपर्नु , बेलैमा सोचौं।

  6. मिन प्रसाद अधिकारी says:

    लौन के देख्नु पर्यो । बैंकको नाम चाही निर्धन उत्थान रे अनि काम चाही गरिबी उत्पादन गर्ने कारखाना । जनताले रगत र पसिना जम्मा गरेको बचतमा कर्मचारी, सिईओ, व्यवस्थापन समितिका अध्यक्ष मिलेर खानुसम्म खाए । जनतालाई गरिब बनाए । कालोसूचिमा पारिदिए । अनि आफू भने कालो सिसा हालेको गाडीमा चढेर हिँडे । अहिलेका लघु वित्तको नियती यही हो । निर्धन उत्थानको समाचार आएछ । अब अरु पनि सबै लघुवित्तेहरुको समाचार यसैगरी प्रकाशन गर्ने हिम्मत गर पत्रकारहरु ।

  7. suman pariwar says:

    जनतालाई गरिब बनाउने कारखाना खोलेकोमा पत्रकारलाई बधाई । निर्धन उत्थानले जनतालाई कति गरेको छ भन्ने तथ्य गाउँमा आएर हेर्नुपर्दछ । यहाँ कमेन्ट गर्नेहरु कसाही कर्मचारीहरुको कुरा पनि सुने । तिमीहरुको दुई छाक खानको लागि जनतालाई कालोसूचिमा राखेर गरिब बनाउँछौ । लाज हुन्छ कि हुँदैन ? पत्रकारलाई गाली गरेर तिमीहरुको लूटको स्वर्ग धेरै समय टिक्दैन ।

  8. बासु बराल says:

    कालो सुचि, कर्जा असुलीको प्रक्रिया हो। कुनै पनि सस्थाले तेसै अचानक कालोसुचिमा रख्दैन कर्जा तिर्न धेरै पटक स्मरण गराएर पटक पटक सुचाना दिन्छ र पनि कर्जा तिर्न अटेर गरेमा मात्र पत्रीका मा नाम निकाल्ने तेस पश्चात् पनि कर्जा नतिरेमा बल्ल कालो सुचिमा राख्दछ पत्रकार महोदय। कालो सुचिमा राख्नै नहुने हो भने यस्तो सस्था को बिकास किन भएको त?? तेसैले आवश्यक परेमा कर्जा उपभोग गरौ र समयमा कर्जा तिरौ असल नागरिक बनौ ।।

  9. Ram xete says:

    नेपालमा लघुबित्त ले गरेको कुनै एउटा राम्रो काम भन्दिनु पर्यो महसय हरु कसैले अनि के लघुबित्त निति नियम अनुसार चलेको छ त ? ? केहि दिदि बहिनि हरु लाइ जम्मा पारे र बिना धितो कर्जा दिनु नै लघुबित्त को उदेस्य हो त ? त्यो बाहेक के गरेको छ ? कर्ज बिमा भन्छौ त्यो जन्ता को माय ले गरेको हैनौ तिमि हरु को कर्जा डुब्छ भनेर गरेको हुन्छौ अनि त्यो बिमा कम्पनि बाट कति % कमिसन खान्छौ ? ? अनि यो मैना बाख्रा पाल्न एक लाख कर्जा दिन्छौ हात मा पर्छ असि हजार बिस हजार सेवा सुल्क बिमा बचत भनेर आफै राख्छौ अर्को मैना किस्ता आउछ अनि यो मैना किनेको बाख्रा अर्को मैना के को आम्दानि बाट किस्ता तिर्नु अब त्यो किस्ता तिर्न गाउमा मङगो ब्याज को रिन खोज्न पर्यो आफ्नो इजेत बचाउन जस्को अन्य आम्दानि केहि थियन र लगुबित्त समुह मा बस्न भन्दा पहिले एक रुपया रिन थियन अब सुरु भो तनाब हुदा हुदा तेहि लघुबित्त को किस्ता तिर्न सकियन ३ महिना पछि कर्मचारि आउछ रिनु गर्नु राम्रो हुन्छ आफ्नो बिभिन्न बचत खाता मा २०हजार बचत छ तेहि बाट काट्नु भन्दा मान्दैन कर्मचारि बल्ल बल्ल एक लाख कर्जा लेको ७० हार मा झरेको थियो बचत कटाउदा ५० हजार तिर्दा कर्जा सकिने थियो तर सस्था का कर्मचारि यो बचत काट्न मानेन र रिनु गर्न प्रेरित गर्यो लोउन त इजेत के फाल्नु भनेर गरम न त भनेको को ब्याज सावा मा जोडेर बिमा रकम एक किस्ता बचत रकम गरि कर्जा फेरि १ लाख को गर्न पर्नि भो कर्जा घटला भन्यो उल्टो बडेको छ उता यहि किस्ता तिर्न मङगो ब्याज मा लेको रिन को त दुइ गुना भैसक्यो कर्मचारि बिहान ७ बजे देखि बेलुका ९ बजे सम्म घर घर कुदेको छ घम पानी न भनि तेसरि कुद्न्ने कर्मचारि को बर्स मा ३ लाख तलब भत्ता हुन्छ ceo माथिका मान्छे को करोडौ हुन्छ यहा जन्ता मात्र हैन कर्मचारि नि मोरेको छन

Leave a Reply to Laxmi Bhattarai Cancel reply

Your email address will not be published. Required fields are marked *


*