हाइड्रोमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् सूचीकृत ८९ मध्ये कुनको नाफा, इपिएस र नेटवर्थ कति ?

४ फाल्गुन २०८१, आईतवार १२:३१

काठमाडौँ । पछिल्लो समय दोस्रो बजारमा हाइड्रोपावर कम्पनीको शेयर लगानीकर्ताहरुका लागि मुख्य आकर्षण बनेको छ । पुँजी बजारमा हाइड्रोपावर समूह सर्वाधिक कारोबार हुने पहिलो स्थानमा रहेको छ । पुष मसान्तसम्ममा कुल कारोबारमा हाइड्रो क्षेत्रको योगदान ३५.६ प्रतिशत पुगेको छ । यस अवधिमा हाइड्रोपावर कम्पनीहरुको ३ खर्ब ६० अर्ब ८७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत ८९ मध्ये अधिकांश हाइड्रोपावर कम्पनीको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा (साउनदेखि पुषसम्म) हाइड्रोपावर कम्पनीहरुले नाफा, प्रतिशेयर आम्दानी लगायतका वित्तीय सूचकमा उल्लेख्य सुधार गरेका छन् । शेयर बजारमा राम्रो प्रदर्शन गरिरहेका यी कम्पनीहरुले लगानीकर्ताको ध्यान आकर्षित गरेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा हाइड्रोपावर कम्पनीहरुले ३ अर्ब ९० करोड ४९ लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.५९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा हाइड्रोपावर कम्पनीहरुले २ अर्ब ७३ करोड ८४ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका थिए ।

पछिल्लो समय हाइड्रोपावर कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको देखिन्छ । पहिले कमजोर वित्तीय सूचकमा कहलिने हाइड्रो क्षेत्र अहिले सकारात्मक फड्को मार्दै अगाडि बढिरहेको छ । वित्तीय सूचकहरुमा सुधारसँगै लगानीकर्ताको आकर्षण पनि बढ्दै गएको छ । लगानीकर्ताले हाइड्रोपावर कम्पनीहरुबाट उच्च प्रतिफलको अपेक्षा गरिरहेका छन् । वित्तीय सुधार र शेयर बजारमा राम्रो प्रदर्शनले हाइड्रोपावर क्षेत्रमा लगानीको आकर्षण थप बलियो बनेको विश्लेषकहरुको भनाइ छ ।

कुन कम्पनीको नाफा

यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीमा शाहस उर्जा पहिलो नम्बरमा रहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले नाफा ५४.७८ प्रतिशतले बढाएर ७० करोड९८ लाख रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ४५ करोड ८६ लाख रुपैयाँमा सीमित रहेको थियो।

नाफा धेरै हुने दोस्रो नम्बरमा सानिमा माई हाइड्रोपावर रहेको छ । कम्पनीको नाफा ३३.७१ प्रतिशतले घटेर ६२ करोड १४ लाख पुगेपनि नाफा सर्वाधिक हुने दोस्रो नम्बरमा पर्ने सफल भएको हो ।

क्रमशः माउन्टेन इनर्जीको ५१ करोड २० लाख, चिलिमे हाइड्रोपावरको ३८ करोड २८ लाख, ग्रिन भेन्र्चसको ३७ करोड ४१ लाख, सुपर माईको ३५ करोड ४१ लाख, अपि पावरको ३१ करोड १६ लाख र सानिमा मिडिल तमोरको २७ करोड १६ लाख रुपैयाँ नाफा रहेको छ ।

पुष मसान्तसम्मको अवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा अरुण भ्यालिहाइड्रोपावर रहेको छ । कम्पनीले आफ्नो नाफा ७३४.९८ प्रतिशतले बढाएर १९ करोड ४२ लाख रुपैयाँ पुराएको छ । साथै, तेह्रथुम पावरले ५१५ प्रतिशतले बढाएर ३ करोड ९७ लाख, मकर जितुमाया सुरीको ३४० प्रतिशतले बढेर ७ करोड ५९ लाख र मिड सोलु हाइड्रोपावरको २२५ प्रतिशतले बढेर ७ करोड २३ लाख रुपैयाँ नाफा कमाएका छन् ।

सूचीकृत ८९ कम्पनी मध्ये ६२ कम्पनीहरु नाफामा रहेका छन् । बाँकी ३७ कम्पनीको नाफा भने ऋणत्मक अवस्थामा रहेको छ । बाढी पहिरोलगायतका कुराले प्रभावित हुँदा केहि कम्पनीहरु भने वित्तीय रिपोर्टमा सुस्त देखिएका हुन् ।

सबैभन्दा बढी ऋणत्मक हुने कम्पनीमा अप्पर तामाकोशी हाइड्रो रहेको छ । पुष मसान्तसम्मको अवधिमा कम्पनी ८२ करोड ११ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा पनि कम्पनी २५ करोड ७६ लाख रुपैयाँ ऋणत्मक रहेको थियो । कम्पनीको नाफा थप थाला पर्दै गएको देखिन्छ ।

सर्वाधिक घाटामा रहेको दोस्रो नम्बरमा मेन्छियाम हाइड्रोपावर रहेको छ । यसअवधिमा कम्पनी ३८ करोड ६७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । गत वर्ष पनि कम्पनी ९ करोड ३८ लाख रुपैयाँ ऋणत्मक अवस्थामा रहेको थियो ।

त्यस्तै, क्रमशः माउन्टेन हाइड्रोपावरले ३८ करोड १६ लाख, बलेफी हाइड्रोपावरले १८ करोड १४ लाख, सान्जेन जलविद्युतले १३ करोड ५६ लाख, पाँचथर पावरले ७ करोड ७६ लाख र शिव श्री हाइड्रोले ६ करोड १५ लाख रुपैयाँ घाटा ब्यहोरेको कम्पनीले जारी गरेको दोस्रो त्रैमासम्मको वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिशेयर आम्दानीमा कुन कम्पनी अगाडी

नाफामा अग्र स्थानमा रहेको साहस उर्जा प्रतिशेयर आम्दानीमा समेत नम्बरमा वानमा रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी हाइड्रो कम्पनीहरु मध्ये कै धेरै ३७ रुपैयाँ ५६ पैसा पुगेको छ ।

त्यस्तै, दोस्रो नम्बरमा रहेको नेपाल हाइड्रो डेभलोपर्सको २४ रुपैयाँ १८ पैसा रहेको छ । क्रमशः माण्डू हाइड्रोपावरको २३ रुपैयाँ ७७ पैसा, सिक्लेस हाइड्रोपावरको २३ रुपैयाँ ४२ पैसा, अप्पर हेवाखोलाको २२ रुपैयाँ ३५ पैसा र युनाइटेड इदी मार्दीको २१ रुपैयाँ ११ पैसा रुपैयाँ रहेको छ ।

अब हेरौं कम्पनीहरुको समग्र वित्तीय चित्र रिपोर्टः

 

One thought on “हाइड्रोमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् सूचीकृत ८९ मध्ये कुनको नाफा, इपिएस र नेटवर्थ कति ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*