८४ वटा हाइड्रोले बेचे साढे २१ अर्बको बिजुली, कुनको बिद्युत बिक्री आम्दानी कति ?(सूचीसहित)

काठमाडौँ । ६ महिनामा हाइड्रोपावर कम्पनीले साढे २१ अर्बको बिजुली बेचेका छन् । नेप्सेमा सूचीकृत ८४ हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अवधिमा २१ अर्ब ४९ करोड ५० लाख ५० हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेका हुन् ।
यो गत आवको सोही अवधिको तुलनामा भने ८.२२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कम्पनीहरुले १९ अर्ब ८६ करोड २७ लाख ८१ हजार रुपैयाँको विद्युत बिक्री गरेका थिए ।
विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफामा समेत उल्लेख सुधार भएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा हाइड्रोपावर कम्पनीहरुले ३ अर्ब ९० करोड ४९ लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.५९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा हाइड्रोपावर कम्पनीहरुले २ अर्ब ७३ करोड ८४ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका थिए ।
यसअवधिमा २९ वटा कम्पनीको विद्युत बिक्री घटेको छ भने ४४ कम्पनीको बढेको छ । ८ वटा आयोजनाले विद्युत उत्पादन सुरु गरेका छन्।
चालु आर्थिक वर्षको ६ महिनामा अपर तामाकोशी हाइड्रोपावरले ३ अर्ब ३४ करोड ८८ लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । कम्पनी सर्वाधिक विद्युत बिक्री गर्ने हाइड्रोपावरमा परेको छ । तर, उक्त विद्युत बिक्री गत वर्षको सोहि अवधिको भन्दा ३७.४८ प्रतिशतले कम हो । बाढीले गर्दा आयोजना बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको हुँदा विद्युत बिक्री आम्दानी प्रभावित बन्न पुगेको हो ।
सर्वाधिक विद्युत बिक्री गर्ने दोस्रो नम्बरमा साहस उर्जा रहेको छ । पछिल्लो ६ महिनामा कम्पनीले १ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको विद्युत बिक्री गरेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ५३ करोड ३६ लाख रुपैयाँको विद्युत बिक्री गरेको थियो ।
तेस्रो नम्बरमा रहेको सानिमा मिडिल तमोरले १ अर्ब ७ करोड ३ लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । गत वर्ष भने कम्पनीले विद्युत बिक्री सुरु गरि सकेको थिएन् ।
त्यस्तै, क्रमशः ग्रिन भेन्र्चसले ९९ करोड ५८ लाख, अपि पावरले ८५ करोड ८० लाख, माउन्टेन इनर्जीले ७९ करोड ८१ लाख, चिलिमे हाइड्रोपावरले ६४ करोड ९ लाख, सुपर मादी हाइड्रोपावरले ६० करोड ६० लाख र पिपुल्स हाइड्रोपावरले ५३ करोड ३७ लाख रुपैयाँ विद्युत बिक्री गरेका छन् ।
सर्वाधिक विद्युत बिक्री आम्दानी वृद्धि गर्नेमा अरुण भ्याली हाइड्रोपावर पहिलो नम्बरमा रहेको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कम्पनीले आफ्नो विद्युत बिक्री ३४१.२६ प्रतिशतले बढाएर १४ करोड १२ लाख रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ करोड २० लाख रुपैयाँमा सीमित रहेको थियो ।
तस्बिरः एआई
हाइड्रोमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् सूचीकृत ८९ मध्ये कुनको नाफा, इपिएस र नेटवर्थ कति ?