नेपाल बीमा प्राधिकरण आजबाट ५७ औं वर्षमा, बीमाको पहुँच गरिब बस्तीसम्म पुर्याउने प्रतिबद्धता

काठमाडौं । नेपाल बीमा प्राधिकरण आफ्नो स्थापनाको ५६ वर्ष पूरा गरी ५७ औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसरमा यस अवसरमा बीमा प्राधिकरणका अक्ष्यक्ष शरद ओझाले बीमितको हितको रक्षा गर्दै विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउने प्रतिबद्धता गरेका छन् ।
५७ औं बार्षिकोत्सवको अवसरमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिएको शुभकामना सन्देशमा बीमा प्राधिकरणले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरेका छन् । प्राकृतिक तथा मानव सिर्जित जोखिमबाट जनधनको रक्षावरण गरी वित्तीय सुरक्षा प्रदानमा ठूलो भूमिका प्राधिकरणले खेलेको अर्थमन्त्री पौडेलले उल्लेख गरेका छन् ।
मन्त्री पौडेलले आगामी दिनमा शीघ्र दाबी भुक्तानीको व्यवस्था गरी अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत अनुशरण गर्दै सेवालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।
५७ औं बार्षिकोत्सवको अवसरमा अध्यक्ष ओझाले बीमा क्षेत्रलाई पारदर्शी र विश्वसनीय बनाउँदै भरपर्दाे सेवाबाट मानब जीवन र सम्पत्तिको रक्षावरण गर्दै मुलुकको आर्थिक विकासमा योगदान पुर्याउने बताए ।
अध्यक्ष ओझाले बीमा कार्यालयलाई विस्तार गरेर नयाँ उपकरणद्वारा बीमाको दायरा बढाउदै लैजाने बार्षिकोत्सवको अवसरमा जारी प्रतिबद्धतामा उल्लेख छ ।
हाल नेपालमा बीमाको दायरा वैदेशिक रोजगार समेत गरी ४४.६४ प्रतिशत जनसंख्या पुगेको उल्लेख गर्दै उनले दाबी भुक्तानी र मुद्दा फर्छ्यौट र सेवा प्रवाहमा सुधार आएको बताए ।
आगामी दिनमा न्यून आय भएका विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउन डिजिटलाइजेशन मार्फत् सेवा प्रवाह गर्ने दूरदराजसम्म पुग्नपर्ने आवश्यकता रहेको औंल्याए ।
नेपालमा बीमा प्राधिकरणको इतिहासलाई हेर्ने हो भने नेपाल सरकार अर्थ मन्त्रालयको एक शाखाको रूपमा ‘बीमा समिति’ को नामबाट औपचारिक रुपमा सुरुवात भएको थियो । नेपालमा पहिलो पटक २०२५ सालमा बीमा ऐन जारी भएको थियो । सो ऐन बमोजिम २०२६ साल जेठ १ गते तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट नेतृत्वको मन्त्रिपरिषदको बैठकले बीमा समिति गठन गरेको थियो ।
बीमा समिति गठन भएपनि समितिलाई स्वायत्त निकायको रुपमा नभई अर्थमन्त्रालयको एउटा सानो कार्यालयको रुपमा एउटा कोठाबाट बीमा नियमनको कार्य हुँदै आएको थियो । बीमा समिति भन्दा पहिले राष्ट्रिय बीमा संस्थान ऐन २०२४ अन्तर्गत राष्ट्रिय बीमा संस्थान २०२४ सालमै सञ्चालन भइसकेको थियो । अर्थात बीमा नियामक संस्था भन्दा बीमा कम्पनी पहिले स्थापना भएको इतिहास छ ।
सो समयमा २०२४ सालदेखि बीमा कारोबार गर्दै आएको सालमा राष्ट्रिय बीमा संस्थान र २००४ सालदेखि कारोबार गर्दै आएको नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लि.लाई मात्रै नियमन गर्न स्थापना भएको बीमा समिति ५६ बर्ष पुरा गरी ५७ औं बर्षमा प्रवेश गर्दासम्म नेपाल बीमा प्राधिकरणको नामबाट देशका तीन दर्जन कम्पनीहरुलाई प्रत्यक्ष नियमन गर्दै आएको छ । लघुबीमा, निर्जीवन बीमा, जीवन बीमा र पुनर्बीमा कम्पनी समेत गरी नेपालमा कूल ३७ वटा बीमा कम्पनीको नियमन बीमा प्राधिकरणबाट हुँदै आएको छ ।
बीमा ऐन २०४९ बमोजिम नयाँ र आधुनिक बीमा समितिमार्फत अघि बढेकोमा २०७९ साल कार्तिक २३ गतेबाट बीमा प्राधिकरणमा रुपान्तरण भई सञ्चालनमा आएको हो ।
हाल बीमा प्राधिकरणका ६ वटा प्रदेशमा प्रदेश कार्यालय र राजधानी काठमाडौं उपत्यकाको ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय सहित सञ्चालित छ । बीमा प्राधिकरणमा सञ्चालक समिति र कर्मचारी प्रशासनसहितको संरचनामा सञ्चालित छ ।














Rastriya beema sansthan, beema samity agadi char ota bharatiya sarkari, Co.ltd. gari branch office ko rupama kam gardai ayeka thiya. Yek bharatiya life insurance Co.pani branch office ko rupama Kathmandu ra biratnagar ma kam gardai thiye.