बेथितिमा डुब्यो चौतारा साँगाचोकगढी नगरपालिकाः ४ करोड ४२ लाख रुपैयाँभन्दा बढी अनियमितता

पुरुषोत्तम नेपाल
११ असार २०८२, बुधबार १३:४२

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४ करोड ४२ लाख ४९ हजार रुपैयाँभन्दा बढी अनियमितता भएको पाइएको छ।

महालेखा परीक्षकको प्रतिवेदनले चौतारा साँगाचोकगढी नगरपालिकाले विभिन्न १२ वटा शीर्षकमा कानूनविपरीत मनपरी ढंगले खर्च गरेर मोटो रकम अनियमितता भएको देखाएको हो।

कुनकुन शीर्षकमा भयो अनियमितता?

स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी भर्ति
महालेखा परीक्षकको प्रतिवेदनले चौतारा साँगाचोकगढी नगरपालिको स्वीकृत दरबन्दीभन्दा बढी संख्यामा कर्मचारी भर्ति गरेर ८० लाख १९ हजार २९९ रुपैयाँ अनियमितता गरेको देखाएको छ।

यसमा नगरपालिकाले स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न पदमा जम्मा ११ जनाको दरबन्दी स्वीकृत भएकोमा ३७ जनालाई भर्ति गरेको छ। यसमा नगरपालिकाले मागभन्दा १८ जना बढी कर्मचारी भर्ति गरेको हो। भर्ति गरेकोमध्येमा पनि खुला प्रतिस्पर्धाभन्दा आफ्नो नातेदार र नजिकको मान्छेलाई भर्ति गराएको आरोप लाग्दै आएको छ।

उपभोक्ता समितिबाट काम गराउँदा अनियमितता
सार्वजनिक खरीद नियमावली अनुसार निर्माण कार्य वा सो सम्बन्धी सेवा सोही स्थानमा बसोबास गर्ने बासिन्दा र त्यस्तो सेवा उपभोग गर्ने समुदायबाट गराउनुपर्नेमा त्यसो नगरेर मनपरी ढंगले विभिन्न उपभोक्ता समितिबाट काम गराएर ७३ लाख ६६ हजार ५१३ रुपैयाँ अनियमतिता भएको प्रतिवेदनले देखाएको छ।

एउटा उपभोक्ता समितिबाट एकभन्दा बढी काम गराउन नहुने भएपनि एउटै काम पनि बजेट थप भएको भन्दै पटक पटक सम्झौता गरेको पाइएको छ। यसरी वडा नम्बर १० को स्वास्थ्य भवन बनाउन ३ पटक र वडा नम्बर १३ को स्वास्थ्य चौकी भवन बनाउँदा अनियमितता भएको हो।

उपभोक्ताले गर्ने काम ठेक्कामा दिएर अनियमितता

कानुनअनुसार उपभोक्ता समितिका लाभग्राही समुदायले पाएको काम आफैले सम्पन्न गर्नु पर्ने र कुनै ठेकेदार वा सब कन्स्ट्र्याक्टरबाट गराउन नहुने व्यवस्था छ। चौतारा नगरपालिकाभित्र विभिन्न बाटो, खेल मैदान, सडक मर्मत, सडक निर्माण लगायत रोडसँग सम्बन्धित विभिन्न काम ठेकेदारलाई जिम्मा दिएर मेशिन प्रयोग गरेकोमा उपभोक्ता समितिका मानिसले काम गरेको भन्दै बिल पेश गरेर ६५ लाख २९ हजार १४७ रुपैयाँ अनियमितता गरिएको हो।

मासिक डोर र ज्यालादारी कर्मचारी राखेर अनियमितता
स्थानीय सेवाका कर्मचारी आफूले गर्नुपर्ने कामका लागि अरुलाई ज्यालादारी वा करारमा राख्न नपाउने व्यवस्था छ। तर यसको व्यवस्था विपरीत विभिन्न ज्यालादारी कर्मचारी राखेर ५७ लाख १९ हजार ९२० रुपैयाँ गैरकानूनी तरीकाले खर्च गरेको पाइएको छ।

अनुगमन भत्ताको नाममा मनपरी रकम बाँडफाँड

त्यस्तै अनुगमन भत्ताको नाममा नगरपालिकाका ४५ जना जनप्रतिनिधि र कर्मचारीले नियम कानून मिचेर मनपरी तरीकाले भत्ता बाँडेर ५० लाख ४० हजार ४६६ रुपैयाँ हिनामिना गरेको छ।

उपभोक्ता समितिबाट नियम विपरीत सामान खरीद

चौतारा साँगाचोकगढी नगरपालिकाले विभिन्न सामान नियम विपरीत उपभोक्ता समिति वा लाभग्राही समुदायबाट खरीद गराएर ४७ लाख ६३ हजार रुपैयाँ अनियमितता गरेको पाइएको छ।

नाफामूलक संस्थालाई कानून विपरीत रकम बाँडफाँड
कानून अनुसार स्थानीय सरकारले बजेट वितरण गर्दा स्थानीय पूर्वाधार विकास तथा दीर्घकालीन पूँजी निर्माण गर्ने कार्यमा खर्च गर्नुपर्छ। नाफा कमाउने उद्देश्यले स्थापित संस्थालाई अनुदान दिन नहुने कुरा कानूनमा उल्लेख हुँदाहुँदै नगरपालिकाले विभिन्न ८ वटा नाफामूलक संस्थालाई २१ लाख ८६ हजार ३०० रुपैयाँ अनुदान दिएको छ।

ओभरटाइम काम गरेको भन्दै कर्मचारीलाई मनपरी भत्ता वितरण
यदी कुनै सरकारी कर्मचारीले कार्यालय समयभन्दा बाहेक दैनिक दुई घन्टासम्म काम गर्नुपरेको अवस्थामा शाखा प्रमुखले कामको प्रकिृति खुलाएर प्रशासन शाखाको सिफारिसमा कार्यालय प्रमुखले स्वीकृति दिएमा खाजा तथा खाना भत्ता पाउने तर प्राविधिक भत्ता पाउने कर्मचारीले भने नपाउने व्यवस्था छ।

यसरी भत्ता पाउन पनि कार्यालयमा अनिवार्य रुपमा विद्युतिय हाजिर गरेको हुनुपर्छ। तर नगरपालिकाले यस नियम विपरीत हाजिर समेत नभएका कर्मचारीलाई पनि अतिरिक्त समय काम गरेको भन्दै खाजा खाना भत्ता लगायतका शीर्षकमा २० लाख ३ हजार रुपैयाँ अनियमितता गरेको छ।

मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको क्वाटरमा मनपरी खर्च
चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले आफ्नो क्वाटर र आवास तथा खाद्यान्नमा मनपरी खर्च गरेको पाइएको छ। जबकी कानूनमा मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतले यस्तो सुविधा पाउने व्यवस्था नै छैन। उनीहरूले यसरी कानून विपरीत आफ्नो क्वाटरमा १४ लाख ४८ हजार ६२८ रुपैयाँ खन्याएर जनताको रकम मोजमस्तीमै उडाएका छन्। क्वाटरको नाममा भएको खर्च बापत विभिन्न व्यक्ति, फर्म, पसल लगायतलाई भुक्तानीमा सकिएको छ।

स्वास्थ्यकर्मीलाई दिनुपर्ने रकम अन्यत्र खर्च

बजेट खर्च गर्दा नगरपालिकाले स्वीकृत गरेको शीर्षकमा मात्रै खर्च गर्नुपर्ने र अनावश्यक शीर्षकमा खर्च गर्न नहुने प्रावधान छ। यसको बाबजूद नगरपालिकाले स्वास्थ्य शाखा, चौकी, उपचार केन्द्र लगायतमा कार्यरत कर्मचारीलाई तलब, महंगी भत्ता र पोषाक भत्ताका लागि छुट्याएको ५ लाख ४० हजार रकम अन्यत्रै खर्च गरेको छ। महालेखा परीक्षकले यसलाई अनियमितता गरेको भन्दै प्रश्न उठाएको छ।

नियमविपरीत मेयरको राजनीतिक सल्लाहकार
स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकीय सचिव वा सल्लाहकार राख्न पाउने व्यवस्था समेत कानूनमा छैन। तर मेयरले दरबन्दी नै नभएको नगर प्रमुख राजनीतिक सल्लाहकार पद सिर्जना गरेर एक आर्थिक वर्षमै नगरपालिकाको ४ लाख ८८ हजार ४०० रुपैयाँ हिनामिना गरेका छन्। उनले राजनीतिक सल्लाहकारमा चन्द्र प्रसाद सापकोटालाई नियुक्ति दिएका छन्। यसमा पनि उनले आफ्नो मान्छेलाई भर्ति गरेर कानून विपरीत सरकारी सेवा सुविधा दिएको आरोप लाग्दै आएको छ।

भाडाको घरमा बस्छिन् उपमेयर
बाग्मती प्रदेश स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धी कानूनमा घरभाडा जस्ता शीर्षकमा सुविधा दिइने कुनै व्यवस्था नै छैन। तर चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयरले वडा नम्बर ५ का झलक बहादुर थापाको घर भाडमा लिएर बस्दै आएकी छिन्। उनले एक आर्थिक वर्षमा बत्ति, पानी र इन्टरनेट बाहेक मासिक १२ हजार रुपैयाँका दरले भुक्तानी गर्ने गरी सम्झौता गरेर १ लाख ४४ हजार भुक्तानी गरेको पाइएको छ। उनको यो खर्च नियमसंगत नभएको भन्दै महालेखाले अनियमितता भएको उल्लेख गरेको छ।

यस विषयमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटालाई सम्पर्क गरेर बुझ्दा सल्लाहकार नाममा अनिमितता भएको कुरा स्वीकार गरे । उनले भने, ‘राजनीतिक सल्लाहकारलाई सरकारी कोषबाट तलब दिन अहिले बन्द गरिएको छ । पहिला यस्तो काम भइरहेको थियो । अहिले उक्त पद र नियुक्ति भने यथावत रहेको छ । तर तलब दिएको छैन ।’

त्यस्तै क्वाटर लगायत अन्य विषयमा भएको खर्चबारे भने त्यसलाई मितव्ययिता हुने गरी सुधार गरेर लैजाने बताए ।

नगरपालिकामा भइरहेको अनियमितता बारे उपप्रमुख सीता थापा भने अनविज्ञ छिन् । बीमापोष्टले उनीसँग सम्पर्क गर्दा उनले महालेखामा उल्लेख गरेको विषयमा अनभिज्ञता प्रकट गरिन् । आफूलाई यस विषयमा थाहा नभएकाले कार्यालयमा बुझेर पछि प्रतिक्रिया दिने बताइन्।

प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले भने उक्त कुराबाट पन्छिन खोजे । उनले आफु २०८१ कात्तिकमा मात्रै नगरपालिकामा आएकाले यसबारे जानकारी नभएको तर्क राखे । उनले भने, ‘म यहाँ २०८१ सालमा मात्रै आएको हु । अघिल्ला गतिविधि के भए थाहा छैन ।’

नियममा भएको कमजोरीका कारण केही विषयमा महालेखाले अनियमितता भनेको हुन सक्ने सापकोटाको भनाई छ । नगरपालिकाले आवश्यकताको आधारमा खर्च गरेको हुनसक्छ । नियममा नभएका तथा केहि कमजोरीले त्यसलाई अनियमितता भएको भनेर देखाएको हुनसक्छ उनले भने ।

5 thoughts on “बेथितिमा डुब्यो चौतारा साँगाचोकगढी नगरपालिकाः ४ करोड ४२ लाख रुपैयाँभन्दा बढी अनियमितता

  1. सागर says:

    पदबाट बर्खास्त गर्नुपर्यो।

  2. अर्जुन गिरि "मुस्कान " says:

    लुट्न सके लुट कान्छा नेपाल मै छ छुट जय झोले जय पार्टी कार्यकर्ता ✊✊

  3. गजेन्द्र थापा says:

    कानुन विपरीत कार्य गर्ने पदिय दायित्व बहन गर्नु पर्ने ब्यक्ती हरु ले गरेको अनिमिता सहन हुन्न अख्तियार मा मुद्धा दायर गर्नु पर्छ यो ठुलो अपराध हो हिजो बेथिती र भस्टचार विरुद्ध लट्ने भाववादी नै मेयर भएको ठाउँमा यस्तो हुनु भनेको ठुलो गद्वारी हो ।

  4. गजेन्द्र थापा says:

    कार्वही गर्नु पर्छ

  5. दीपक गिरी says:

    भ्रष्टाचारीहरूलाई पदबाट मुक्त गर्न गर्नुपर्छ।

Leave a Reply to गजेन्द्र थापा Cancel reply

Your email address will not be published. Required fields are marked *


*