राजनीतिक दलका अखडा बन्दै के आई सिंहका विद्यालय, एसईई नतिजाले देखायो खस्किएको शैक्षिक स्तर

काठमाडौं । डोटी जिल्लाको के आई सिंह गाउँपालिकाको शैक्षिक सत्र २०८१ को एसईई नतिजा निराशाजनक रहेको छ । गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको विवरण अनुसार विद्यार्थीहरूको सुनौलो भविष्य मेरुदण्डको रुपमा हेरिएको एसईई परीक्षामा २३.८६ प्रतिशतमात्र विद्यार्थीले उत्तीर्ण भएका हुन् ।
शैक्षिक सत्र २०८१ मा के आई सिंह गाउँपालिकामा रहेका १० वटा विद्यालयका कुल २८१ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी भएका थिए । जसमा ६७ जना मात्र विद्यार्थीहरु उक्त परीक्षा उत्तीर्ण गर्न सफल भएका छन् ।
के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले एसईईको नतिजामा आफू सन्तुष्ट नरहेको धारणा व्यक्त गरेका छन् । उनले भने, ‘यस नतिजाप्रति हामीले सन्तुष्ट हुन सक्ने अवस्था छैन् । शैक्षिक संस्थाहरुको खस्किदो अवस्थाप्रति हाम्रो तर्फबाट पनि केही कमीकमजोरी भएको छ । आउँदो दिनमा सुधार गर्दै अघि बढ्ने छौं ।’
गाउँपालिकाको शैक्षिक स्तर खस्किदै गएको स्वयम् गाउँपालिका अध्यक्ष शाहीले स्वीकार गरेका छन् । उनले अभिभावक, शैक्षिक संस्थाका शिक्षक तथा हामी सबैको केही कमजोरीका कारण शिक्षाको अवस्था खस्किदै गएको बताए ।

स्रोतः के आई सिहं गाउँपालिका, एसईई परीक्षाको नतिजा
शक्ति र सत्ताको आडमा महत्वपूर्ण पदमा रहेर विद्यालय सञ्चालन गरिरहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र विशेषगरी योग्यता नै नपुगेका तर, राजनीतिक पहुँचको आधारमा नियुक्ति लिएर विद्यालय शिक्षकको नाममा विद्यार्थीहरूको भविष्यसँग खेलवाड गरिएको कारण के आई सिंह गाउँपालिकाको शैक्षिकस्तर दिन प्रति दिन खस्किदै गएको एक स्थानीयले बीमापोष्टलाई बताए ।
भौतिक पूर्वाधार र सडक सञ्जालले समेत पूर्ण रुपमा जोडिएको के आई सिंह गाउँपालिकाका पदाधिकारीहरुले समेत प्रत्येक वर्ष शिक्षा क्षेत्रमा कायापलट गर्ने गरि बजेटको व्यवस्था गरेको भन्दै ठूला–ठूला गफ दिने गरेका छन् ।
नाम नखुलाउने शर्तमा सोही गाउँपालिकाका शिक्षकले भने, ‘राजनीतिक पार्टीका नेताहरुलाई शिक्षा जस्तो पवित्र संस्थाको जिम्मा लगाएको कारण गाउँपालिकाको शैक्षिक स्तर हरेक वर्ष खस्किदै गएको छ । आफ्नो व्यक्तिगत स्वार्थका लागि उनीहरूले हजारौं विद्यार्थीको भविष्यमाथी खेलवाड गरिरहेका छन्। शैक्षिक योग्यता नपुगेका व्यक्तिलाई शिक्षकको रुपमा विद्यालय जस्तो ठाउँमा नियुक्त गर्दा यस्तो हालत भएको हो । शैक्षिक संस्थाको सुधारका लागि सबैले जिम्मेवारीपूर्वक अघि बढ्न आवश्यक छ ।’

२०८२ साल असार १० गते, आगामी आर्थिक वर्षको बजेट ल्याउन उपस्थित प्रतिनिधीहरु
शैक्षिक सत्र २०८१ मा के आई सिंह गाउँपालिकामा रहेका विद्यालयहरुमध्ये सरस्वती माध्यमिक विद्यालय रानागाँउ, डोटीको नतिजा सन्तोषजनक रहेको छ । सो विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका ४९ जना विद्यार्थीमध्ये २१ जना अर्थात ४२.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै, भिमेमालिका मा.वि. वायलका २१.५६ प्रतिशत, मुहुन्यालमाण्डौं मा.वि. लोलीका १५.३९ प्रतिशत, इन्द्र मा.वि. लेकगडाका १०.५३ प्रतिशत, वासुदेव मा.वि. वासुदेवीका २१.४२ प्रतिशत, भुवनेश्वरी मा.वि. जमलकटीयाका ३० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यता, देवस्थल मा.वि. फलेडीका १७.२४ प्रतिशत, छत्रेश्वर मा.वि. फलेडीका ९.९ प्रतिशत, भूमिराज मा.वि. का २०.५८ र नवदीप विद्यानिकेतन सलेनाका ३८.८८ प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षा उत्तीर्ण गर्न सफल भएका छन् ।













