नाफा वृद्धि ऋणात्मक रहेको हिमालयन बैंकः लगानीकर्ता गुमराहमा राख्दै प्रिमियममा एफपिओ ल्याउँदै

३१ असार २०८२, मंगलवार १३:१३

काठमाडौं । निरन्तर संकटमा परिरहेको हिमालयन बैंक सर्वसाधारणलाई गुमराहमा राखेर थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । गम्भीर आर्थिक, व्यवस्थापकीय र संस्थागत संकटमा फसेको बैंकले नियामकको आँखा छल्दै प्रिमियम मूल्यमा एफपिओ ल्याउन लागेको हो ।

१०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थपेर एफपिओ ल्याउने तयारीमा रहेको हिमालयन बैंकले असार ३२ गतेदेखि यसमा आवेदन खुला गर्ने जनाएको छ । तर, बैंकको पछिल्लो वित्तीय अवस्था, व्यवस्थापनमा देखिएको गम्भीर विवाद, संस्थापक शेयरधनीहरूको बहिर्गमन, लाभांश वितरण गर्न नसकेको अवस्था र कमजोर कर्जा प्रशासनले गर्दा एफपिओप्रति लगानीकर्ताको उत्साहभन्दा बढी चिन्ता र अविश्वास देखिएको छ । वित्तीय अवस्थामा अत्यन्तै कमजोर रहेको, मुनाफा वृद्धि ऋणात्मक हुँदै गएको, आन्तरिक रूपमा गुटबन्दीले गाँजिएको, सीईओको निर्णयमाथि गम्भीर प्रश्न उठिरहेको र वैदेशिक लगानीकर्ताको समेत बाहिरिने अवस्था आएको कम्पनीको एफपिओमा पैसा हाल्नु भनेको बालुवामा पानि हाल्नुसरह हुनसक्ने देखिएको हो ।

कम्पनीको हालको शेयर मूल्य करीब २२० रुपैयाँमा सीमित रहँदा एफपिओको मूल्य १५७ रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीको पछिल्लो संकटग्रस्त वित्तीय अवस्था र खराब कर्जामा देखिएको उचाईले लगानीकर्ताका लागि यो लगानी बालुवामा पानी हाल्ने जस्तो जोखिमपूर्ण हुने प्रष्ट देखिएको छ । एफपिओपछि बजारमा शेयर मूल्य घट्ने सम्भावना बलियो देखिएपछि लगानीकर्ताको पूँजीमा ह्रास आउने जोखिमसमेत देखिएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिनासम्म आइपुग्दा बैंकको खुद मुनाफा ६७.२७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा २ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएको बैंक अहिले ९० करोड रुपैयाँमा सीमित भएको छ । बैंकले लगानीकर्ताबाट प्रिमियम मूल्यमा पैसा उठाएर आफूलाई सन्तुलनमा ल्याउने ‘टिके उपाय’ लगाइरहेको छ ।

बैंकको खराब कर्जा पनि दयनीय अवस्थामा छ । वाणिज्य बैंकहरूमध्ये खराब कर्जाको अनुपात उच्च (८ प्रतिशत नजिक) पुगेको देखिएको छ । यो अनुपात वित्तीय स्थायित्वको दृष्टिकोणले निकै खतरनाक सूचक हो जसले बैंकको कर्जा नीति, जोखिम व्यवस्थापन क्षमता र ब्याज आम्दानीको आधारभूत मोडेलमै गम्भीर प्रश्न खडा गरेको छ ।

बैंकले वितरणयोग्य नाफा समेत ऋणात्मकमा पु-याएको छ । अहिले बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब रुपैयाँभन्दा बढी ऋणात्मक छ जसका कारण बैंकले विगत केही वर्षदेखि शेयरधनीलाई लाभांश वितरण गर्न सकेको छैन र भविष्यमा पनि वितरण गर्न सक्ने अवस्था देखिँदैन ।

बैंकको शेयरमूल्य पनि बजारमा निरन्तर ओरालो लागेको छ । बैंकको व्यवस्थापन कमजोर हुँदै गएको, संस्थागत पारदर्शिता हराउँदै गएको र निर्णायक तहमा संस्थापक शेयरधनीको प्रभाव घट्दै गएको खबर बजारमा फैलिएकाले आम लगानीकर्ताले बैंकप्रति विश्वास गुमाइसकेका छन् । पछिल्लो समय विदेशी लगानीकर्ता हबिब बैंक लिमिटेडको पूर्ण रूपमा बाहिरिने निर्णयले यो संकटलाई थप उजागर गरिदिएको छ । सीईओ अशोक शम्भु राणाको नेतृत्वमा बैंकभित्र निर्णय प्रक्रिया एकलव्यक्तिमा केन्द्रित हुँदै गएको, गुटगत संरचना हाबी भएको, संस्थागत हितभन्दा व्यक्तिगत लाभलाई प्राथमिकता दिइएको आरोप लगाइँदै आएको छ ।

त्यसकै असरस्वरूप पछिल्लो एक वर्षमा मात्रै संस्थापक समूहका ३८ भन्दा बढी व्यक्तिहरू ८४ लाख कित्ता शेयर बिक्री गर्दै बैंकबाट बाहिरिएका छन् । म्युचल ट्रेडिङ्ग कम्पनीले ५० लाख कित्ता, प्रभा गोयन्काले १४ लाख ५१ हजार, नम्रता श्रेष्ठले ७ लाख ५० हजार, कृष्ण कुमार श्रेष्ठ, हर्क बहादुर तामाङ, प्रकाश तायल, गिरेन्द्रमान सिंह लगायतले लाखौँ कित्ता शेयर बिक्री गरेका छन् ।

गम्भीर संकटका बिचमा बैंकले नियामक धितोपत्र बोर्डबाट एफपिओको अनुमति पाएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम संस्थापक र सर्वसाधारण समूहबीच ७०ः३० को अनुपात राख्नुपर्ने प्रावधानका आधारमा बैंकले यो एफपिओ ल्याउने तयारी गरेको हो । तर, नियामक निकायले यस्तो गम्भीर संकटग्रस्त संस्थालाई एफपिओ ल्याउन अनुमति दिनु आफैँमा धेरै प्रश्न उठाउने विषय बनेको छ । के धितोपत्र बोर्डले बैंकको वित्तीय अवस्था, लाभांश वितरण नीतिको स्थिति, संस्थापक शेयरधनीको बाहिरिने गति र शेयर बजारमा बैंकको गिरावट मूल्यको गहिरो अध्ययन गरेको थियो ? वा बैंकको शक्ति र पहुँचको आडमा यस्ता अनुमति दिइएका हुन् ? यस्तो प्रश्न अहिलेको परिवेशमा उठ्न थालेका छन् ।

हिमालयन बैंकको व्यवस्थापन र सीईओका कारण सशंकित हबिब बैंक, ३ अर्बको शेयर बेचेर देश छोड्दै

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*