बैंकको अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी प्रकाउ

२ श्रावण २०८२, शुक्रबार २२:०९

काठमाडौं । कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी प्रकाउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

बैंक गम्भीर समस्यामा फसिसकेका बेला समेत अनुगमन अधिकृतका रुपमा खटिएका उनले अवस्था ठिक रहेको भन्दै प्रतिवेदन दिएको आरोप बस्नेतमाथि छ । यसअघि सीआईबीले अनुगमनमा गएकाहरूको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । पत्र गएपछि राष्ट्र बैंकका कर्मचारीहरूबीच यो विषयले तनाव सिर्जना गराएको थियो ।

त्यसपछि सीआईबीसहित प्रहरी उच्च अधिकृतहरूसँग गर्भनर विश्व पौडेलले समेत चासो देखाएका थिए ।यो बैंकमा भएको घोटालामा प्रहरीले हालै भारतबाट संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ गरेर ल्याएको थियो । यो ठगीमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, निरजविक्रम शाह समेतको संलग्नता खुलेको प्रहरी अधिकृतहरूको भनाइ छ ।

कर्णाली विकास बैंकको अन्य बैंक खातामा रहेको रकम र बैंकको कोर बैंकिङ प्रणालीमा प्रविष्ट रहेको रकमबीच अन्तर निस्किएपछि यसमा घोटाला भएको खुलेको थियो । विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि अपचलन लुकाएको आन्तरिक छानबिन समितिले देखाएपछि अनुसन्धानका लागि सीआईबीलाई पत्र पुगेको थियो ।

One thought on “बैंकको अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी प्रकाउ

  1. प्रशुराम थारु says:

    कृपया निक्षेपकर्ताहरुको रकम यथाशिघ्र फिर्ता गर्न माग गर्दछु।

Leave a Reply to प्रशुराम थारु Cancel reply

Your email address will not be published. Required fields are marked *


*