परशुराम नगरपालिका-११ का वडाध्यक्ष ऐरको बजारिया शासनः वडा कार्यालय सुनसान, स्थानियलाई पिडा

५ श्रावण २०८२, सोमबार १८:५७

काठमाडौँ ।  डडेल्धुरा परशुराम नगरपालिका–११ का वडाअध्यक्ष प्रकाश ऐर जनताबाट चुनिए पनि जनताकै पहुँचबाट टाढिएका छन्। सिमलबण्डस्थित वडा कार्यालयमा नदेखिने ऐर आफूले रोजेको स्थान जोगबुडा–लालढुंगा बजार क्षेत्रबाटै कार्य सञ्चालन गर्दै आएका हुन् ।

उनी निरन्तर रूपमा सिमलबण्डमा नभई बजार क्षेत्रमा बसेर नागरिकका समस्या समाधान गर्न खोज्दा स्थानीयहरू झनै पीडित बनेका छन्। वडाको स्थायी कार्यालय सिमलबण्डमा रहे पनि सेवा लिन आउने स्थानीयहरूलाई २ देखि ३ घण्टा हिँडेर बजारसम्म जानुपर्ने बाध्यता छ। कार्यालयमा वडाअध्यक्ष मात्र नभई अन्य कर्मचारीहरू पनि देखिने गरेका छैनन् । एउटा कार्यालय सहयोगी बाहेक अन्य सेवा दिने कोही नभएको स्थानीयहरूको गुनासो छ।

‘हामी सिफारिस, जन्मदर्ता, सामान्य प्रमाणपत्रका लागि सिमलबण्ड कार्यालय जान्छौं तर त्यहाँ त सूनसान हुन्छ। वडा अध्यक्ष देखिँदैनन्, न अरू कोही,’ एक स्थानीयले दुखेसो पोखे, ‘बजारसम्म जानुपर्ने अवस्था छ, त्यो पनि पैदल। बाटो छैन, खर्च बेग्लै, दुःख बेग्लै।’

स्थानियहरूका अनुसार वडा अध्यक्ष ऐरले जनताको समस्याभन्दा व्यक्तिगत सुविधा प्राथमिकतामा राख्दै आएका छन्। ‘वडामा बस्न गाह्रो छ भने किन उहीँ कार्यालय बनाइयो? काम बजारबाटै गर्ने हो भने वडा कार्यालयलाई ताला लगाउनु नि? जनप्रतिनिधिले यसरी गैरजिम्मेवार भएर बस्न मिल्छ?’ अर्का स्थानीयले प्रश्न उठाए।

सिमलबण्ड जस्तो दुर्गम स्थानमा रहेको वडा कार्यालयमा आवश्यक सेवा नपाएर स्थानीयले पीडा सहनु परेको छ। साना कामका लागि दिनभर समय र पैसा खर्चेर बजार जानुपर्ने बाध्यतामा उनीहरू परेका छन्। पैदल नै बजारसम्म जानु पर्ने हुँदा वृद्ध, महिलाहरू र बिरामी अवस्थाका मानिसलाई झन् बढी समस्या गर्ने गरेको छ ।

वडा अध्यक्ष प्रकाश ऐर जनताकै सन्देशअनुसार काम नगरेको झन्झटमा पारेको भन्दै स्थानीयहरू आक्रोशित छन्।  नेपाली कांग्रेसबाट निर्वाचित ऐरले वडाको हैसियतलाई ओझेलमा पार्दै व्यक्तिगत पहुँचका आधारमा सत्ताको दुरुपयोग गरिरहेको स्थानियहरूको आरोप छ।

जनप्रतिनिधिका नाममा सुविधा भोग्दै जनतासँग दूरी बनाइरहेका ऐरप्रति असन्तुष्टि बढ्दो छ। सेवाका लागि कार्यालयमा होइन नेता भएको स्थानमा धाउनु पर्ने अवस्था बनेपछि जनतामा ‘चुनाव जितेपछि हराउने प्रवृत्ति’प्रति निराशा झनै गहिरिएको छ।

स्थानिय तहको शासन प्रणाली जनताको पहुँचमा होस् भनेर बनाइएको हो। तर परशुराम–११ मा भने यो व्यवस्था उल्टो दिशा लागि रहेको छ । जनताको करले तलब सुविधा भोग्ने वडाअध्यक्ष कार्यालय नआएपछि, कार्यालयको औचित्य र प्रभावकारिता दुबै प्रश्नमा परेको छ।

यता वडाध्यक्ष ऐरले पनि कामहरू बजारबाटै भइरहेको कुरा स्वीकार गरे। उनले भने, ‘सचिवहरू नहुँदाखेरि हामीले वडा कार्यालयबाट कामहरू गर्न सकेका छैनौँ। सचिवहरू आउने तर दुई महिनाजति पनि नटिक्ने समस्याले गर्दा कार्यालयबाट सुविधा दिन सकेको छैन । बेलाबेला नगरपालिकासँग पनि समन्वय गरिरहेका छौं ।’

नागरिकको समस्यालाई मध्यनजर गर्दै गाउँ गाउँ गएर समस्या सुन्नेदेखि वृद्धभत्ता बाड्नेसम्मका कामहरु भइरहेको उनको दाबी छ। ‘जनतालाई दुःख नहोस् भनेर बेलाबेला हामी गाउँ गाउँ गएर काम गर्ने गरिरहेका छौं । अहिलेका सचिव केही दिन बिदामा हुनुहुन्छ । अब यो आर्थिक वर्षदेखि कार्यालयबाट हामी सेवा दिने भनेर लागिरहेका छौं ।’

One thought on “परशुराम नगरपालिका-११ का वडाध्यक्ष ऐरको बजारिया शासनः वडा कार्यालय सुनसान, स्थानियलाई पिडा

  1. bhan saud says:

    -जनता धाउने कि वडा अध्यक्ष?
    – सेवा लिन कहिले जाने?
    – निर्वाचनमा गरेको प्रतिबद्धता कहाँ गयो?

    अब स्थानीयले सजग भएर आवाज उठाउनुपर्ने समय आएको छ ।

Leave a Reply to bhan saud Cancel reply

Your email address will not be published. Required fields are marked *


*