नेरुडे मिर्मिरे लघुवित्तका आन्दोलित कर्मचारी र व्यवस्थापकबीच पुनः सम्झौता, कार्यान्वयनमा शंका

१६ श्रावण २०८२, शुक्रबार ११:११

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तका आन्दोलित कर्मचारी र व्यवस्थापन तहबीच पुनः सम्झौता भएको छ । कम्पनीले यस अघि गत असोज २० गते गरिएको सम्झौता कार्यान्वयन गर्ने सहमति जनाएपछि आन्दोलनरत कर्मचारीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।

कम्पनीको व्यवस्थापन तह र कर्मचारीबीच विभिन्न चार बुदामा छलफल गरी सहमति भएको छ । सम्झौतासँगै कम्पनीको दैनिक कामकाज सामान्य तरिकाले सञ्चालनमा आएको छ । कम्पनीको आन्तरिक विवाद र खिचातानीले सेवाग्राही र लगानीकर्ताहरुलाई निकै तर्साएको थियो ।

सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल, नायब प्रमुख कार्यकारी अधिकृत भाग नारायण साहु, सहायक प्रमुख कार्यकारी अधिकृत बिखे बहादुर बोहरा र कर्मचारी संगठनको तर्फबाठ कटक बहादुर शाह, महम्मद मकसुद अन्सारी, गोपाल प्रसाद तिम्सीना, मनिता कार्की, बिरेन्द्र खड्का तथा देवेन्द्र कुमार यादवले हस्ताक्षर गरेका छन् ।

कम्पनीका व्यवस्थापन तहका कर्मचारीलाई सजिलै विश्वास गर्न सकिने वातावरण नरहेको एक कर्मचारीले बताए । उनले भने, ‘हामीले यस अघि पनि आन्दोलन गर्दाखेरी सम्झौता भएर नै आन्दोलन फिर्ता लिएका थियौ। आज फेरी सोही सम्झौता कार्यान्वयनको लागि आन्दोलन गर्नुपरेको अवस्था छ । यो सम्झौता भोलीको दिन लागु हुन्छ की नाई भन्ने हेर्न बाँकी छ।’

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीलाई व्यवस्थापन तहबाटै धोका, सम्झौता कार्यान्वयन नभएपछि चर्कियो आन्दोलन

नेरुडे मिर्मिरे लघुवित्तको कर्मचारी संगठनले व्यवस्थापन तहले सम्झौता कार्यन्वयन गर्नुको सट्टा उल्टै सम्झौता र सहमतिपत्रको धज्जी उड्ने गरी एकतर्फी रूपमा आफूखुशी कर्मचारीको भावना विपरीत कार्य गरेको भन्दै कर्मचारीहरुले साउन १२ गतेदेखि आन्दोलन सुरु गरेका थिए । संस्थाका सीईओसहितको व्यवस्थापनले सम्झौता लागू गर्नुको सट्टा उल्टै कर्मचारीको धैर्यता, संयमता तथा कर्मचारीको भावनासँग खेलवाड गरेको आरोप लगाएका थिए ।

कर्मचारी संगठनले पटक–पटक सम्झौता कार्यान्वयनको लागि विभिन्न तरीकाबाट पहल गरिराख्दा पनि व्यवस्थापन समुहले बेवास्ता गर्दै आएको छ । गत वर्षमा गरिएको सम्झौता शीघ्र कार्यान्वयनको माग गर्दै कर्मचारी संगठनले देशव्यापी आन्दोलन सुरु गरेपछि फेरी उधारो सम्झौता गरी आन्दोलन तुवाइएको छ ।

प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मनिकुमार अर्याल अध्यक्ष रहेको यस संस्थामा विगत एक वर्षदेखि कर्मचारी आन्दोलित छन् । कर्मचारीलाई विभिन्न प्रलोभन देखाएर गत वर्षझै यो वर्षपनि सम्झौता गरिएको छ । तर, कार्यान्वयनको सन्दर्भमा देशभरीका कर्मचारीहरुमा आशंका पैदा भएको छ ।

कर्मचारी संगठनले केन्द्रीय कार्यालयमा शान्तिपूर्ण धर्ना, सम्पूर्ण कर्मचारीले पेन डाउन, कालोपट्टी बाँधेर विरोध गर्दै आन्दोलन गरीरहेका थिए ।

यो पनि हेनुहोस्,

मर्जरपछि नेरुडे मिर्मिरे लघुवित्तमा लफडा, साविक मिर्मिरेका कर्मचारीको पद घटाइयो, के भन्छन् सीईओ ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*