भारतमा आगलागी र प्राविधिक समस्याले बदनाम बजाज चेतक ईभी स्कुटर नेपालमा, बजार चुनौतीपूर्ण

२० श्रावण २०८२, मंगलवार १७:४१

काठमाडौँ । भारतीय बजारमा प्राविधिक समस्याले बदनाम बन्दै गएको बजाजको ‘चेतक’ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक गरिएको छ । भारतमा प्राविधिक समस्या, आगलागी तथा प्रयोगकर्ताको असन्तुष्टिपछि बजार खुम्चँदै गइरहेको अवस्थामा बजाजले नेपाललाई वैकल्पिक बजारका रूपमा रोजेको देखिएको हो । नेपालको लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आइतबारदेखि चेतक ३५०१ मोडेलको औपचारिक सार्वजनिक घोषणा गरेको हो । यद्यपि, बजारमा प्रतिस्पर्धी ब्राण्डको तुलनामा यसको मूल्य, फिचर र प्रदर्शन सबै क्षेत्रमा चेतक कमजोर देखिएको छ ।

भारतमा चेतक स्कुटरको सुरुवात उत्साहका साथ भएको भए पनि समय बित्दै जाँदा प्रयोगकर्ताको निराशा झन् गहिरिँदै गएको छ । चार्जिङ प्रणालीदेखि ब्याट्री कार्यसम्पादन, सफ्टवेयर प्रणाली र सेवापछिको अनुभवसम्म चेतकले प्रयोगकर्तालाई निराश पारेको देखिएको हो । विभिन्न सामाजिक सञ्जाल र उपभोक्तामाझको प्रतिक्रियाले स्कुटरप्रतिको असन्तुष्टि स्पष्ट झल्किएको छ । भारतमा चेतक स्कुटर प्रयोग गरिरहेका धेरै ग्राहकहरूले चार्जिङ त्रुटि, ब्याट्री छिट्टै डिस्चार्ज हुने, स्टार्ट नहुने र कम्पनीले दाबी गरेभन्दा कम रेञ्जमा सीमित हुने समस्याको अनुभव गरिरहेका छन् । स्कुटरको सफ्टवेयरले समेत ठोस प्रदर्शन गर्न नसक्दा धेरै प्रयोगकर्ताले स्क्रिन फ्रिज हुने, गलत सूचना देखिने, मोबाइल एप स्कुटरसँग समन्वय गर्न नसक्ने जस्ता समस्याको गुनासो गरेका छन् ।

चेतकको फ्रन्ट सस्पेन्सन कमजोर भएको गुनासो पनि व्यापक छ । असमान सडकमा झट्का लाग्ने, सवारी असहज हुने र यात्रा अप्ठ्यारो बनाउनेजस्ता समस्याले यो स्कुटरको विश्वसनीयतालाई थप कमजोर बनाएको छ । चेतकको ब्याट्रीसम्बन्धी समस्या झनै गम्भीर रूपमा उजागर भइरहेको छ । स्कुटर एक–दुई दिन प्रयोग नगरिए पनि ब्याट्री आफैं डिस्चार्ज हुने समस्या देखिन्छ । यस्तो अवस्थामा स्कुटर स्टार्ट नै नहुने र फेरि ब्याट्री चार्ज नगरेसम्म चलाउनै नसकिने अवस्था आउने गरेको छ । केही प्रयोगकर्ताले भने जम्मा एक दुईहजार किलोमिटर चलाउँदामात्रै स्कुटरको ब्याट्री क्षमतामा भारी गिरावट आएको बताएका छन् ।

यसबाहेक भारतीय बजारमा चेतक स्कुटरको अर्को गम्भीर समस्या भनेको आगलागी हो । स्कुटर गुडिरहेको अवस्थामा अचानक आगलागी हुने, पार्किङमा रहँदा आफैं जलेर नष्ट हुने घटना थुप्रै रिपोर्ट भएका छन् । यस्ता घटनाले स्कुटरको गुणस्तरमा गम्भीर प्रश्न उठाएको छ । सामाजिक सञ्जाल र भारतीय मिडियामा चेतक स्कुटरमा आगलागीसम्बन्धी सामग्रीहरू व्यापक रूपमा सार्वजनिक भएका छन् । यसले कम्पनीको सुरक्षा मापदण्डप्रति गम्भीर चिन्ता पैदा गराएको छ ।

नेपालमा सार्वजनिक गरिएको सोहि चेतक स्कुटरको मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको छ जुन प्रतिस्पर्धी विद्युतीय स्कुटरहरूको तुलनामा महँगो छ । नेपाली बजारमा थुप्रै स्कुटरहरू सस्तो मूल्यमा उच्च गति, लामो रेञ्ज र भरपर्दो प्रविधिसहित उपलब्ध छन् । यस्तो अवस्थामा चेतकको प्रवेश प्रतिस्पर्धात्मकभन्दा प्रचारात्मक देखिएको छ ।

कम्पनीले चेतक स्कुटरमा ३.५ किलोवाटको लिथियम आयन ब्याट्री जडान गरिएको र १५३ किलोमिटरको रेञ्ज दिन सक्ने दाबी गरेको छ । स्कुटर अधिकतम ७३ किलोमिटर प्रतिघण्टाको गतिमा कुद्ने बताइएको छ । यद्यपि, भारतीय प्रयोगकर्ताले कम्पनीले दाबी गरेको रेञ्ज र स्पीडको वास्तविक अनुभव मिल्दो नपाएको बताएका छन् । स्कुटर चार्ज हुन ८० प्रतिशतसम्म पुग्न ३ घण्टा लाग्ने बताइएको छ जुन आजको प्रविधिमा तुलनात्मक रूपमा ढिलो मानिन्छ ।

बजारमा ९० किलोमिटर प्रतिघण्टा भन्दा बढी स्पीड दिने, १५० किलोमिटरभन्दा बढी रेञ्ज दिने र न्यून मूल्यमा सहज सुविधा दिने स्कुटरहरू सर्वसुलभ भइसकेका छन् । यस्ता सन्दर्भमा चेतक महँगो मूल्यको बाबजुद फिचरमा कुनै उल्लेख्य नयाँपन प्रस्तुत गर्न असफल देखिएको छ । कम्पनीले वाटरप्रुफ आईपी६७ रेटिङ, ४ किलोवाटको मोटर, ३५ लिटर बराबरको अन्डर सिट स्टोरेज, ५ इन्चको रंगीन टीएफटी डिस्प्ले जडान गरिएको जस्ता फिचरको चर्चा गरे पनि यस्ता सुविधा हाल सस्तो मूल्यमा उपलब्ध स्कुटरमा समेत पाइन थालेका छन् ।

मोबाइल एपबाट स्कुटर नियन्त्रण गर्ने, ओभरस्पिड चेतावनी दिने, चोरी भएमा स्कुटर लक गर्नेजस्ता सुविधा राखिएको बताइएको छ । तर, यस्ता फिचरमा प्राविधिक समस्या, नेटवर्क कनेक्टिभिटीको भरपर्दोपन र सर्भर डाउन हुने सम्भावना उच्च देखिन्छ । अझ नेपालमा मोबाइल एपमार्फत विद्युतीय सवारी व्यवस्थापनको विश्वसनीय पूर्वाधार अझै कमजोर अवस्थामा रहेकोले यस्ता प्रविधि व्यवहारिकभन्दा प्रचारमुखी जस्ता देखिन्छन् ।

बजाज ब्राण्ड मोटरसाइकल क्षेत्रमा लामो अनुभव बोकेको भए पनि इलेक्ट्रिक स्कुटर क्षेत्रमा यसको यात्रा प्रारम्भिक मात्र हो । चेतक स्कुटर बजाजको यो क्षेत्रमा पहिलो ठूलो प्रयास भए पनि बजारमा दशकौंदेखि विद्युतीय स्कुटर उत्पादन गर्दै आएका ब्राण्डहरूसँग प्रतिस्पर्धा गर्न सजिलो देखिँदैन । प्राविधिक विश्वास, बजारमैत्री मूल्य, सुविधा र स्थायित्वमा अझै परिपक्व नभएको देखिन्छ ।

भारतमा चेतक स्कुटर प्रयोगकर्ताले डिस्प्ले अपडेट पछाडि टचस्क्रिन फ्रिज हुने समस्या झेलेका छन् । यसबाहेक अक्सिलियरी ब्याट्री, जुन स्कुटरका फिचरहरू चलाउन प्रयोग हुन्छ त्यससम्बन्धी पनि समस्या देखिएको छ । स्कुटरको रेञ्ज घट्ने, मोबाइल एप कनक्ट नहुने, नेभिगेसन फिचर ठीकसँग नचल्ने, स्कुटर चलाउँदा झट्का लाग्ने लगायतका अन्य समस्याहरूले चेतक स्कुटरको समग्र गुणस्तरप्रति गम्भीर प्रश्न उठाएको छ ।

अहिलेको विद्युतीय सवारीको बजार तीव्र प्रतिस्पर्धात्मक बनिसकेको छ । कम मूल्य, उच्च प्रदर्शन, दीर्घकालीन भरोसा र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने ब्राण्डहरूले आफ्नो पकड बनाइरहेका छन् । यस्तो परिवेशमा चेतकले जुन मूल्यमा आफूलाई प्रस्तुत गरेको छ त्यो मूल्यअनुसारको सुविधा र विश्वास निर्माणमा पूर्णतः चुकिरहेको देखिएको छ । जसले गर्दा नेपाली अटो बजार समेत चेतकको लागि चुनौतीपूर्ण देखिएको छ ।

सम्बन्धीत समाचार

महँगो मूल्य, सीमित फिचर र कमजोर प्रतिस्पर्धा क्षमतासहित नेपाल भित्रियो चेतक ईभी स्कुटर

एनएस मोडलका बजाज पल्सर बाइकमा आगो लाग्ने समस्या बढ्दै

बजाज पल्सरमा आगलागी घटना बढ्दै, जोखिम उच्च

पल्सर मोटरसाइकल एसेम्बल गर्ने हुलास अटोक्राफ्टको आम्दानी ४७ प्रतिशतले घट्यो, बजाज बाइकको बिक्रीमा उच्च गिरावट

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*