शेयर लगानीकर्तामा डर, बजारमा निराशाः राजनीतिक अस्थिरता र विवादले पुँजी बजार धरमर

१० कार्तिक २०८२, सोमबार १६:२६

काठमाडौँ । पुँजी बजार निरन्तर दबाबमा छ । लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ भने बजारमा फैलिएको निराशाको वातावरणले थप त्रास सिर्जना गरेको छ । बजारमा देखिएको उतारचढाव, राजनीतिक अस्थिरता, उद्योग–सरकारबीचको विवाद र हालैका आन्दोलनहरूले लगानीकर्ताको विश्वासमा गहिरो असर पारेका छन् । परिणामस्वरूप, लगानीकर्ताहरू जोखिम लिन हिचकिचाइरहेका छन् र बजारप्रति आशावाद हराउँदै गएको छ ।

तिहार बिदा सकिएपछि खुलेको बजारले सामान्य सुधार देखाए पनि लगानीकर्तामा उत्साह फर्किएको छैन । मुलुकको राजनीतिक अस्थिरता र सामाजिक आन्दोलनको प्रभावले बजारलाई स्थायित्वमा ल्याउन सकेको छैन । निरन्तर घट्दै गएको ब्याजदरले पनि लगानीमा गति ल्याउन सकेको छैन । बैंक प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग सुस्त छ, जसले अर्थतन्त्रको गति कमजोर बनाएको छ ।

पुँजी बजारमा देखिएको संकट समाधानका लागि केही समयअघि तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले बजार सुधारका लागि विभिन्न सुझावहरू राष्ट्र बैंकमार्फत कार्यान्वयनमा ल्याइए पनि त्यसको प्रभाव देखिन सकेको छैन । नीतिगत सुधारका प्रयासहरू राजनीतिक अस्थिरतामा अल्झिँदा बजारमा सकारात्मक प्रभाव नपरेको लगानीकर्ताहरूको भनाइ छ ।

जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक संरचनामा आएको परिवर्तनले आर्थिक स्थायित्वमा चुनौती थपेको छ । आन्दोलनका क्रममा भएका तोडफोडका घटनाहरूले पर्यटन र सेवा क्षेत्र प्रभावित बनेका छन् । पाँचतारे होटल ह्यात रिजेन्सी र चन्द्रागिरी केबलकारले सेवा स्थगित गर्नुपरेको घटनाले लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पारेको मानिन्छ ।

त्यसैगरी, दोस्रो बजारमा सूचिकृत सिमेन्ट उद्योगहरूमा विद्युत महसुल विवादका कारण लाइन काटिनुले बजारमा थप अनिश्चितता फैलिएको छ । शिवम सिमेन्ट, घोराही सिमेन्ट लगायतका उद्योगहरूको बिजुली कटौतीका घटनाले औद्योगिक उत्पादन र लगानी दुवैमा असर पारेको छ । साथै, बजार प्रवेशको तयारीमा रहेका जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, त्रिवेणी स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टमा समेत यसको नकारात्मक प्रभाव परेको उद्योग क्षेत्रका स्रोतले जनाएका छन् ।

उद्योग र सरकारबीचको बढ्दो मतभेदले लगानीकर्तामा अझ ठूलो अनिश्चिता सिर्जना गरेको छ । आर्थिक वृद्धिदर सुस्त छ, लगानी वातावरण कमजोर छ, र नीति स्थायित्व नहुँदा विदेशी र आन्तरिक दुवै प्रकारका लगानीकर्ताले पर्ख र हेरको नीति अपनाइरहेका छन् ।

बजारमा देखिएको अस्थिरताले देशको समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर पार्न थालेको छ । व्यवसायीहरू नयाँ लगानी गर्न हिचकिचाइरहेका छन् भने कतिपय उद्योगहरू सुधारको प्रयासका बीच अवरोधको सामना गरिरहेका छन् । सरकार र नियामक निकायका प्रयासहरू सीमित रहँदा बजारमा विश्वासको वातावरण निर्माण हुन नसकेको विश्लेषकहरूको मूल्याङ्कन छ ।

यता, लगानीकर्ताहरू फेरि आन्दोलनको तयारीमा जुटेका छन् । धितोपत्र बोर्डको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरूले बजार राताम्य हुने अवस्थासम्म पुगेको दाबी गरेका छन् । लगानीकर्ताहरूले बोर्डसँग २८ बुँदे माग प्रस्तुत गर्दै बजार सुधारको खाका पनि अघि सारेका छन् । ती मागमा बोर्ड अध्यक्षको राजीनामादेखि लिएर एनआरएनका लागि फ्री इन्ट्री–एक्जिट व्यवस्था, शेयर धितो कर्जामा सहजता, ब्रोकर कमिसनमा कटौती, पूँजीगत लाभकरमा छुट, आईपीओ नियम सुधार, बजार समय परिवर्तन र नयाँ लगानी औजारको प्रवर्द्धनजस्ता विषय समावेश छन् ।

यी माग पूरा नभएसम्म बजार सुधारको बाटोमा जान नसक्ने लगानीकर्ताको तर्क छ । बजारमा देखिएको निराशा, राजनीतिक अस्थिरता र नीतिगत अस्पष्टता अन्त्य नभएसम्म पुँजी बजार पुनः स्थायित्वमा पुग्ने सम्भावना न्यून रहेको विश्लेषण हुन थालेका छन् । जसले गर्दा शेयर बजारको अबको यात्रा अनिश्चितबाट गति तिर त गएको होइन प्रश्न उठ्न थालेको छ ।

One thought on “शेयर लगानीकर्तामा डर, बजारमा निराशाः राजनीतिक अस्थिरता र विवादले पुँजी बजार धरमर

  1. धर्मेन्द्र बहादुर थापा says:

    यी मागहरु पूरा हुन जरुरी छ !बोर्ड अध्यक्षको राजीनामादेखि लिएर एनआरएनका लागि फ्री इन्ट्री–एक्जिट व्यवस्था, शेयर धितो कर्जामा सहजता, ब्रोकर कमिसनमा कटौती, पूँजीगत लाभकरमा छुट, आईपीओ नियम सुधार…

Leave a Reply to धर्मेन्द्र बहादुर थापा Cancel reply

Your email address will not be published. Required fields are marked *


*