यस कारण कुटिएका थिए ज्योति विकास बैंकका कर्मचारी, ऋणीमाथि ज्यादतीको पक्षमा राष्ट्र बैंक !

काठमाडौँ । ज्योति विकास बैंकको लापरबाही र असंवेदनशीलताका कारण बैंकका कर्मचारीमाथि ऋणीहरुले कुटपिट र दुव्र्यवहार गरेको खुलेको छ । लिलाम नै नगरेको जग्गा लिलाम बिक्री गरेको भन्दै समाजिक सञ्जालमा ऋणीको जग्गाको भिडियो पोष्ट गर्दा बैंकका दुई कर्मचारी माथि ऋणीहरुले कुटपिट र कालोमोसो दलेको पाइएको हो । बैंकका एकथरी कर्मचारीले त्रुटी गर्ने, अर्को कर्मचारी कुटिन पुगेका थिए । तर, नेपाल राष्ट्र बैंकले यथार्थ नै नबुझी उल्टै ऋणीमाथि ज्यादतीको पक्षमा प्रहरीलाई दवाव दिएको खुलेको छ ।
चार जना ऋणीले पशुपालन, माछा, कुखुरा, बाख्रा, हाँस पालन र तरकारी खेती गर्ने उद्देश्यले ‘इन्टिग्रेटेड एग्रो फर्म’ कम्पनी मार्फत २०७८ बैशाखमा ज्योति विकास बैंकबाट चार करोडभन्दा बढी ऋण लिएका थिए । ऋणीहरुले उक्त ऋणको सुरक्षा स्वरूप चार बिगाहा जग्गा धितो राखेका थिए । कम्पनीको व्यवसाय शुरुमै सफल रहँदै थियो र २०८१ चैत मसान्तसम्म ऋणीहरुले बैंकको किस्ता नियमित तिर्दै आएका थिए ।
तर एकाएक अडिटरको निरीक्षणपछि कम्पनीमा समस्या देखापरेपछि ऋणीहरुले किस्ता समयमै तिर्न सकेनन् । ऋणको किस्ता समयमा नै बुझाउन नसकेपछि उनीहरुले ब्यवसाय गर्दै आइरहेको पशुपालन सम्बन्धी युनिट बिक्री गर्ने निर्णयमा पुगे । ऋण तिर्ने प्रयोजनका लागि उनीहरुले युनिट बिक्री गर्ने लागेको र सो सम्बन्धीमा बैंकले सहयोग गर्नुपर्ने प्रस्ताव लगेर उनीहरु बैंक सामु पुगे ।
बैंकले समेत उनीहरुले राखेको प्रस्ताव उपयुक्त नै रहेको हुँदा सहयोग गर्ने आश्वासन दिएको थियो । तर, सो आश्वासन दिएको २ महिनापछि भने बैंकले सहयोग गर्ने नसकिने सुनायो । पशुपालन सम्बन्धी युनिट नै बिक्री गरेर ऋण चुक्ता गर्ने भनेर ढुक्क साथ बसेका उनीहरुलाई बैंकले सहयोग नगर्दा समस्या आइपर्यो ।
सो पश्चात ऋणीहरु बैंकको ऋण चुक्ता गर्ने सकिने बैकल्पिक बाटोको खोजीमा लागे । बैंकबाट लिएको ऋण तिर्नु नै पर्ने भन्दै उनीहरु बैकल्पिक बाटोको खोजी रहेको रहेको बेला बैंकले भने बजारमा अफबाह फैलायो । मंसिर १९ गते बैंकको आधिकारिक टिकटक अकाउन्टमार्फत ऋणीहरुको धितो राखिएको जग्गा बिक्रीमा रहेको भिडियो सार्वजनिक गरियो । जसमा उक्त जग्गाको समेत विवरण थियो ।
धितो लिलाम गर्दा ३५ दिने सूचना राष्ट्रिय पत्रिकामा प्रकाशित गर्नुपर्ने बैंक तथा वित्तीय संस्थाको नियम उल्लंघन गर्दै बैंकले हचुवाका आधारमा टिकटकमार्फत मात्र सूचना सार्वजनिक गरेको थियो । यसबाहेक स्थानीय बजारमा पनि जग्गा लिलाममा रहेको भ्रम फैलाइएको थियो । यसले ऋणीहरुको आक्रोश बढायो र सामाजिक प्रतिष्ठामा आँच पुगेको भन्दै ऋणी आक्रोसित बन्न पुगे ।
ऋणीहरुले बैंकसँग ऋण भुक्तानीका लागि समय माग्दै वैकल्पिक उपाय खोजिरहेको अवस्थामा बैंकको यस्तो कदमले तनाव र चिन्ता थपियो । ऋणीहरुको व्यवसाय संकटमा परेको बेला बैंकले सहयोग गर्नुपर्ने स्थिति उल्टै समस्या सिर्जना भयो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाहमा सुस्ती देखिँदै आएको छ भने गैरबैंकिङ सम्पत्तिको आंकडा लगातार बढ्दो छ । यस्तो समयमा बैंकको असंवेदनशील र हतारमा गरिएको कार्य ऋणीहरुको लागि अमानविक रहेको पृष्टि भयो ।
सोहि समयमा मंसिर २५ गते सप्तरीको रुपनी शाखाका कर्मचारी सप्तकोशी नगरपालिका–७ स्थित ऋणीहरुको फर्ममा पुगे । कर्मचारीहरुले ऋण भुक्तानी नगरे कानुन अनुसार कारबाही हुने चेतावनी दिन थाले । बैंकको सहयोग नपाउँदा, अफवाह फैलाउँदै जग्गा लिलामको सूचना सार्वजनिक गर्दा र ऋणीहरुले समय माग्दा समेत समय नदिँदा उनीहरुको आक्रोश कर्मचारीमाथि प्रकट भएको थियो । उनीहरुले बैंकका दुई कर्मचारीलाई कालोमोसो दल्नुका साथै हातपात समेत गरे ।
बैंकका कर्मचारीहरूले ऋण असुली गर्ने क्रममा परिवारलाई अपमान गर्ने, गालीगलौज गर्ने र मानसिक तनाव दिने गरेको आरोप स्थानियहरूले लगाएका छन् । बैंकका कर्मचारी कुटपिटमा लघुवित्त पीडित संघर्ष समिति ब्यक्तिहरु पनि संग्लन भए ।
घटनाले वित्तीय प्रणालीमा सुधार र ऋणी–ऋणदाता सम्बन्धमा विश्वास कायम राख्न आवश्यकतालाई झल्काएको छ । बैंकले नियमन र प्रक्रिया पालना गर्दै ऋणीसँग सहकार्य नगर्दा कर्मचारीको सुरक्षा नै खतरामा परेको देखिएको हो । ऋणीको ऋण भुक्तानीमा इच्छुक रहँदा पनि बैंकको हतारो, असंवेदनशीलता र अफवाह फैलाउने कार्यले वित्तीय व्यवहारमा अस्थिरता र सामाजिक विवाद उत्पन्न गरेको हो ।
बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंक भने एकतर्फी कुरा सुनेर ऋणीलाई कडा कारबाहीको विज्ञप्ति सार्वजनिक गरिरहेको छ । नियामक निकायले दुबै पक्षसँग बसेर आवश्यक समन्वयकारी भुमिका खेल्नु गर्नेमा ऋणीलाई नै दोषि बनाएर कारबाही गर्ने प्रहरी प्रशासनलाई दबाब दिदै आइरहेको हो ।













