यस कारण कुटिएका थिए ज्योति विकास बैंकका कर्मचारी, ऋणीमाथि ज्यादतीको पक्षमा राष्ट्र बैंक !

२ पुष २०८२, बुधबार १६:२७

काठमाडौँ । ज्योति विकास बैंकको लापरबाही र असंवेदनशीलताका कारण बैंकका कर्मचारीमाथि ऋणीहरुले कुटपिट र दुव्र्यवहार गरेको खुलेको छ । लिलाम नै नगरेको जग्गा लिलाम बिक्री गरेको भन्दै समाजिक सञ्जालमा ऋणीको जग्गाको भिडियो पोष्ट गर्दा बैंकका दुई कर्मचारी माथि ऋणीहरुले कुटपिट र कालोमोसो दलेको पाइएको हो । बैंकका एकथरी कर्मचारीले त्रुटी गर्ने, अर्को कर्मचारी कुटिन पुगेका थिए । तर, नेपाल राष्ट्र बैंकले यथार्थ नै नबुझी उल्टै ऋणीमाथि ज्यादतीको पक्षमा प्रहरीलाई दवाव दिएको खुलेको छ ।

चार जना ऋणीले पशुपालन, माछा, कुखुरा, बाख्रा, हाँस पालन र तरकारी खेती गर्ने उद्देश्यले ‘इन्टिग्रेटेड एग्रो फर्म’ कम्पनी मार्फत २०७८ बैशाखमा ज्योति विकास बैंकबाट चार करोडभन्दा बढी ऋण लिएका थिए । ऋणीहरुले उक्त ऋणको सुरक्षा स्वरूप चार बिगाहा जग्गा धितो राखेका थिए । कम्पनीको व्यवसाय शुरुमै सफल रहँदै थियो र २०८१ चैत मसान्तसम्म ऋणीहरुले बैंकको किस्ता नियमित तिर्दै आएका थिए ।

तर एकाएक अडिटरको निरीक्षणपछि कम्पनीमा समस्या देखापरेपछि ऋणीहरुले किस्ता समयमै तिर्न सकेनन् । ऋणको किस्ता समयमा नै बुझाउन नसकेपछि उनीहरुले ब्यवसाय गर्दै आइरहेको पशुपालन सम्बन्धी युनिट बिक्री गर्ने निर्णयमा पुगे । ऋण तिर्ने प्रयोजनका लागि उनीहरुले युनिट बिक्री गर्ने लागेको र सो सम्बन्धीमा बैंकले सहयोग गर्नुपर्ने प्रस्ताव लगेर उनीहरु बैंक सामु पुगे ।

बैंकले समेत उनीहरुले राखेको प्रस्ताव उपयुक्त नै रहेको हुँदा सहयोग गर्ने आश्वासन दिएको थियो । तर, सो आश्वासन दिएको २ महिनापछि भने बैंकले सहयोग गर्ने नसकिने सुनायो । पशुपालन सम्बन्धी युनिट नै बिक्री गरेर ऋण चुक्ता गर्ने भनेर ढुक्क साथ बसेका उनीहरुलाई बैंकले सहयोग नगर्दा समस्या आइपर्यो ।

सो पश्चात ऋणीहरु बैंकको ऋण चुक्ता गर्ने सकिने बैकल्पिक बाटोको खोजीमा लागे । बैंकबाट लिएको ऋण तिर्नु नै पर्ने भन्दै उनीहरु बैकल्पिक बाटोको खोजी रहेको रहेको बेला बैंकले भने बजारमा अफबाह फैलायो । मंसिर १९ गते बैंकको आधिकारिक टिकटक अकाउन्टमार्फत ऋणीहरुको धितो राखिएको जग्गा बिक्रीमा रहेको भिडियो सार्वजनिक गरियो । जसमा उक्त जग्गाको समेत विवरण थियो ।
धितो लिलाम गर्दा ३५ दिने सूचना राष्ट्रिय पत्रिकामा प्रकाशित गर्नुपर्ने बैंक तथा वित्तीय संस्थाको नियम उल्लंघन गर्दै बैंकले हचुवाका आधारमा टिकटकमार्फत मात्र सूचना सार्वजनिक गरेको थियो । यसबाहेक स्थानीय बजारमा पनि जग्गा लिलाममा रहेको भ्रम फैलाइएको थियो । यसले ऋणीहरुको आक्रोश बढायो र सामाजिक प्रतिष्ठामा आँच पुगेको भन्दै ऋणी आक्रोसित बन्न पुगे ।

ऋणीहरुले बैंकसँग ऋण भुक्तानीका लागि समय माग्दै वैकल्पिक उपाय खोजिरहेको अवस्थामा बैंकको यस्तो कदमले तनाव र चिन्ता थपियो । ऋणीहरुको व्यवसाय संकटमा परेको बेला बैंकले सहयोग गर्नुपर्ने स्थिति उल्टै समस्या सिर्जना भयो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाहमा सुस्ती देखिँदै आएको छ भने गैरबैंकिङ सम्पत्तिको आंकडा लगातार बढ्दो छ । यस्तो समयमा बैंकको असंवेदनशील र हतारमा गरिएको कार्य ऋणीहरुको लागि अमानविक रहेको पृष्टि भयो ।

सोहि समयमा मंसिर २५ गते सप्तरीको रुपनी शाखाका कर्मचारी सप्तकोशी नगरपालिका–७ स्थित ऋणीहरुको फर्ममा पुगे । कर्मचारीहरुले ऋण भुक्तानी नगरे कानुन अनुसार कारबाही हुने चेतावनी दिन थाले । बैंकको सहयोग नपाउँदा, अफवाह फैलाउँदै जग्गा लिलामको सूचना सार्वजनिक गर्दा र ऋणीहरुले समय माग्दा समेत समय नदिँदा उनीहरुको आक्रोश कर्मचारीमाथि प्रकट भएको थियो । उनीहरुले बैंकका दुई कर्मचारीलाई कालोमोसो दल्नुका साथै हातपात समेत गरे ।

बैंकका कर्मचारीहरूले ऋण असुली गर्ने क्रममा परिवारलाई अपमान गर्ने, गालीगलौज गर्ने र मानसिक तनाव दिने गरेको आरोप स्थानियहरूले लगाएका छन् । बैंकका कर्मचारी कुटपिटमा लघुवित्त पीडित संघर्ष समिति ब्यक्तिहरु पनि संग्लन भए ।

घटनाले वित्तीय प्रणालीमा सुधार र ऋणी–ऋणदाता सम्बन्धमा विश्वास कायम राख्न आवश्यकतालाई झल्काएको छ । बैंकले नियमन र प्रक्रिया पालना गर्दै ऋणीसँग सहकार्य नगर्दा कर्मचारीको सुरक्षा नै खतरामा परेको देखिएको हो । ऋणीको ऋण भुक्तानीमा इच्छुक रहँदा पनि बैंकको हतारो, असंवेदनशीलता र अफवाह फैलाउने कार्यले वित्तीय व्यवहारमा अस्थिरता र सामाजिक विवाद उत्पन्न गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंक भने एकतर्फी कुरा सुनेर ऋणीलाई कडा कारबाहीको विज्ञप्ति सार्वजनिक गरिरहेको छ । नियामक निकायले दुबै पक्षसँग बसेर आवश्यक समन्वयकारी भुमिका खेल्नु गर्नेमा ऋणीलाई नै दोषि बनाएर कारबाही गर्ने प्रहरी प्रशासनलाई दबाब दिदै आइरहेको हो ।

4 thoughts on “यस कारण कुटिएका थिए ज्योति विकास बैंकका कर्मचारी, ऋणीमाथि ज्यादतीको पक्षमा राष्ट्र बैंक !

  1. Filas, Nepal says:

    देशमा व्यावसायिक मन्दी रोजगारी बन्द, भुकम्प, कोभिड १९ देखि आर्थिक बन्दी बैंक वित्तीय संस्थाहरू जस्तोसुकै अवस्थामा होस ऋणी सदस्यहरू अवस्था कस्तो छछैन बुझ्न आवश्यकता मान्दैन संविधानको मौलिक हक: धारा २५, सम्पत्तिको हक।धारा२९, शोषण विरुद्धको हक। धारा ३७ आवासको हक।विपरीत भएको कार्य अहिले देशमा वित्तीय समस्या मुख्य बनेको छ। राष्ट्र बैंक यसको मुख्य कारण हो। राज्य बेलैमा गम्भीर नभए देशको वित्तीय प्रणालीमा वित्तीय माफियाहरुको कारण बैंकिङ प्रणाली ध्वस्त हुने निश्चित छ।

  2. Filas, Nepal says:

    देशमा व्यावसायिक मन्दी रोजगारी बन्द, भुकम्प, कोभिड १९ देखि आर्थिक बन्दी बैंक वित्तीय संस्थाहरू जस्तोसुकै अवस्थामा होस ऋणी सदस्यहरू अवस्था कस्तो छछैन बुझ्न आवश्यकता मान्दैन संविधानको मौलिक हक: धारा २५, सम्पत्तिको हक।धारा२९, शोषण विरुद्धको हक। धारा ३७ आवासको हक।विपरीत कालोसूची र धितो लिलामलाई वित्तीय माफियाहरुले संविधान बनाएको कारणबाट अहिले देशमा वित्तीय समस्या मुख्य बनेको छ। राष्ट्र बैंक यसको मुख्य कारण हो। राज्यको गम्भीर ध्यानाकर्षण नभए देशको वित्तीय प्रणालीमा वित्तीय माफियाहरुको कारण बैंकिङ प्रणाली ध्वस्त हुने निश्चित छ।

  3. अर्जुन विश्वकर्मा says:

    घटना हुनुमा दुवै पक्ष दोषी रहेकोले जाहेरी भन्दा पनि सहजीकरण गर्दा राम्रो हुन्छ।अन्यथा एक पक्षीय ढङ्गले घटनालाई विश्लेषण गरियो भने वित्तीय क्षेत्र नै संकटमा परि विद्रोह जन्माउँछ।जुन समाचार सम्प्रेषण भयो बिमा पोष्टमा यथार्थ त्यही नै हो।यसलाई जतिसक्दो चाडो समस्या समाधान गर्न आवश्यक छ।हार र जित भन्दा पनि दुबै मिली समस्याको निराकरण गर्न जरुरी छ।चेतना भए है।जय संघर्ष !

Leave a Reply to Filas, Nepal Cancel reply

Your email address will not be published. Required fields are marked *


*