एसआरएम ईभी माइक्रोको सुरक्षामाथि गम्भीर प्रश्न, दुर्घटनाको शृङ्खला बढ्दै जाँदा मौन बिक्रेता

काठमाडौँ । नेपाली अटो बजारमा एसआरएम ब्रान्डका विद्युतीय माइक्रोबस (ईभी) को गुणस्तर कमजोर रहेको तथ्य पटक–पटक बाहिर आइरहेको छ । नेपालका लागि आधिकारिक बिक्रेता भिजि मोटर्सले भित्र्याएका एसआरएम ब्रान्डका ईभी माइक्रोबसहरूबारे सुरक्षा मापदण्डमै गम्भीर प्रश्न उठ्न थालेको हो ।
पछिल्लो समय विभिन्न स्थानमा भएका दुर्घटनाहरूले यी सवारीसाधनमा प्रयोग गरिएको प्रविधि, निर्माण सामग्रीको गुणस्तर र सुरक्षा प्रणाली कमजोर रहेको आशंका थप बलियो बनाउँदै लगेका छन् । विद्युतीय सवारीसाधनलाई भविष्यको यातायात माध्यमका रूपमा लिइँदै आएको सन्दर्भमा एसआरएमका ईभी माइक्रोबसहरू बारम्बार दुर्घटनामा पर्नु र बाटोमै बिग्रिनु चिन्ताको विषय बनेको छ । प्रारम्भिक अनुसन्धान र प्रत्यक्षदर्शीहरूको भनाइअनुसार धेरैजसो दुर्घटनामा सवारीसाधनको प्राविधिक कमजोरी प्रमुख कारण देखिएको छ । विशेषगरी ब्रेकिङ सिस्टम र सन्तुलन प्रणाली अपेक्षित रूपमा काम नगर्दा सवारी अनियन्त्रित हुने गरेको गुनासो चालकहरूबाट निरन्तर आइरहेको छ ।
एसआरएम ब्रान्डका ईभी माइक्रो नेपाली बजारमा प्रवेश गरेको धेरै लामो समय भएको छैन । तर, सस्तो मूल्यमा बजार आकर्षित गर्ने उद्देश्यले ल्याइएका यी सवारीसाधनमा प्रयोग गरिएको विद्युतीय प्रविधि नै कमजोर रहेको अनुभवी चालक र प्राविधिकहरू बताउँछन् । ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस), मोटर कन्ट्रोलर र सबैभन्दा संवेदनशील मानिने ब्रेकिङ सिस्टममा देखिएका समस्या दीर्घकालीन प्रयोगका लागि जोखिमपूर्ण रहेको उनीहरूको भनाइ छ । कतिपय चालकका अनुसार उकालो–ओरालो सडकमा ब्रेकले समयमै प्रतिक्रिया नदिने, लोड बढ्दा सन्तुलन गुम्ने र अचानक पावर कट हुने समस्या बारम्बार दोहोरिने गरेको छ ।
बजारमा उपलब्ध अन्य विद्युतीय माइक्रोबसको तुलनामा एसआरएम ब्रान्डका सवारीसाधनहरू बढी दुर्घटनामा पर्ने र बिग्रिने गरेको तथ्य पनि बाहिर आउन थालेको छ । काठमाडौँदेखि मकवानपुरतर्फ सञ्चालन हुँदै आएका एसआरएमका ईभी माइक्रोहरू पटक–पटक बाटोमै बिग्रिने, यात्रु अलपत्र पर्ने र कहिलेकाहीँ दुर्घटनासमेत हुने गरेका छन् । नियमित मर्मत र निगरानीका बाबजुद पनि समस्या दोहोरिरहनुले यसको मूल कारण निर्माणस्तरमै रहेको आशंका बलियो बनाएको छ ।
हालै भोजपुरबाट धरानतर्फ जाँदै गरेको एसआरएम ईभी माइक्रो पाख्रीबास नगरपालिका अन्तर्गत देबिथान नजिक, चिसाङ खोला पारिपट्टि भाउन्ने भन्ने स्थानमा दुर्घटनाग्रस्त भयो । उकालो सडकमा सवारी अनियन्त्रित भई दुर्घटना भएको बताइए पनि चालक र स्थानीयले ब्रेकिङ प्रणालीमा समस्या आएको दाबी गरेका छन् । यसअघि अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–३, अर्चलनेता भन्ने स्थानमा जन्ती बोकेको एसआरएम ब्रान्डकै अर्को माइक्रोबस दुर्घटनामा परेको थियो । सो दुर्घटनामा यात्रुहरू घाइते भएका थिए भने सवारीसाधनको अगाडिको भागमा ठूलो क्षति पुगेको थियो । यस्तै, धनकुटा नगरपालिका–९ मुलघाट क्षेत्रमा पनि एसआरएमको ईभी माइक्रो दुर्घटनामा परेको घटना सार्वजनिक भइसकेको छ ।
यी घटना पछिल्ला उदाहरण मात्र हुन् । यसअघि पनि देशका विभिन्न भागमा एसआरएम ब्रान्डका सवारीसाधनहरू दुर्घटनामा परेका र यात्रुहरू घाइते भएका समाचारहरू सार्वजनिक भएका थिए । तर, ती घटनालाई सुरुमा छिटफुट र संयोगका रूपमा लिइयो । जब उस्तै प्रकृतिका दुर्घटनाहरू पटक–पटक दोहोरिन थाले तब यो कुनै संयोग मात्र नभई प्रणालीगत कमजोरीको परिणाम हो भन्ने बुझाइ बलियो बन्दै गएको छ ।
एसआरएम ब्रान्डका ईभी माइक्रो असुरक्षित, यात्रुको ज्यान जोखिममा













