एसआरएम ब्रान्डका ईभी माइक्रो असुरक्षित, यात्रुको ज्यान जोखिममा

९ जेष्ठ २०८२, शुक्रबार ११:४०

काठमाडौँ । नेपाली अटो बजारमा भित्रिएका एसआरएम ब्रान्डका विद्युतीय माइक्रोबस (ईभी) हरूको सुरक्षा मापदण्डमा गम्भीर प्रश्न उठेको छ । एसआरएम ब्रान्डका सवारीसाधनहरू निरन्तर दुर्घटनामा पर्दा यात्रुहरूको ज्यान जोखिममा परेको तथ्य सतहमा आएइरहेको हो ।

भिजि मोटर्स नामक कम्पनीले चिनियाँ एसआरएम ब्रान्डका विद्युतीय माइक्रोबसहरू नेपालमा आयात गरी बिक्री वितरण गर्दै आएको छ । आकर्षक डिजाइन र तुलनात्मक रूपमा केही सस्तो मूल्यका कारण प्रारम्भिक चरणमा बजार तान्न सफल भए पनि यी सवारीसाधनहरूमा प्रयोग भएको प्रविधि, निर्माण सामग्रीको गुणस्तर र सुरक्षा प्रणाली अत्यन्तै कमजोर रहेको पछिल्ला दुर्घटनाहरूले पुष्टि गर्दै लगेका छन् । नेपालको चुनौतीपूर्ण भौगोलिक अवस्था, कच्ची तथा साँघुरा सडकहरू र बारम्बार आइरहने मौसम परिवर्तनजस्ता पक्षहरूलाई बेवास्ता गर्दै पर्याप्त परीक्षणबिना नै बजारमा उतारिएका यी सवारीहरूले गम्भीर सुरक्षा चुनौती थपेका छन् । कम्पनीले नेपालजस्तो विशिष्ट भौगोलिक र सडक पूर्वाधार भएको मुलुकका लागि आवश्यक पर्ने विशेष किसिमको परीक्षण र सुधार नगरी सिधै बजारमा ल्याउँदा दुर्घटनाको जोखिम बढाएको हो ।

हालसालै भोजपुरबाट धरानतर्फ जाँदै गरेको एसआरएम ईभी माइक्रो पाख्रीबास नगरपालिका अन्तर्गत देबिथान नजिक, चिसाङ खोला पारिपट्टि भाउन्ने भन्ने स्थानमा दुर्घटनाग्रस्त भयो । यसैगरी, अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–३, अर्चलनेता भन्ने ठाउँमा जन्ती बोकेको एसआरएम ब्रान्डकै अर्को माइक्रोबस दुर्घटनामा प¥यो । साथै, एसआरएमको धनकुटा नगरपालिका ९ मुलघाटमा समेत दुर्घटनामा परेको छ ।  यी घटना पछिल्ला उदाहरण मात्र हुन् । यसअघि पनि देशका विभिन्न भागमा एसआरएमका सवारीसाधनहरू दुर्घटनामा परेका र यात्रुहरू घाइते भएका समाचारहरू आएका थिए तर तिनलाई छिटफुट घटनाका रूपमा लिइयो । तर, जब उस्तै प्रकृतिका दुर्घटनाहरू दोहोरिन थाल्छन् तब यो कुनै संयोग मात्र नभएर प्रणालीगत कमजोरीको उपज हो भन्ने स्पष्ट हुन थालेको छ ।

एसआरएमका ईभी माइक्रोे दुर्घटनाहरूमा मानवीय त्रुटिका साथै सवारीसाधनको प्राविधिक कमजोरी, विशेषगरी ब्रेकिङ सिस्टम र सन्तुलन प्रणालीको भूमिका रहेको प्रारम्भिक अनुसन्धान र प्रत्यक्षदर्शीहरूको भनाइ रहदै आइरहेको छ । एसआरएमका गाडीहरू नेपाली बजारमा प्रवेश गरेको धेरै लामो समय भएको छैन । तर, सस्तो मूल्यमा बजार आकर्षण गर्न खोजिएका यी गाडीहरूमा प्रयोग गरिएको विद्युतीय प्रविधि, विशेषगरी ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस), मोटर कन्ट्रोलर, र सबैभन्दा महत्वपूर्ण ब्रेकिङ सिस्टममा कमजोरी रहेको अनुभवी चालक तथा प्राविधिकहरू बताउँछन् ।

कतिपय अवस्थामा उकालो र ओरालोमा गाडीको क्षमता अपर्याप्त हुने, ब्याट्री छिटो तात्ने वा क्षमताभन्दा कम टिक्ने र आकस्मिक अवस्थामा ब्रेकले प्रभावकारी रूपमा काम नगर्नेजस्ता समस्याहरू प्रयोगकर्ताहरूले भोगिरहेका छन् । यस्ता संवेदनशील प्राविधिक पक्षहरूमा गुणस्तरहीन उपकरणको प्रयोगले जुनसुकै बेला ठूलो दुर्घटना निम्त्याउन सक्ने खतरा रहेको छ ।

अझ, गुणस्तरमा नै प्रश्न उठि रहेको माइक्रो कम्पनीले स्कुल भ्यानजस्ता अत्यन्तै संवेदनशील क्षेत्रका लागि समेत सवारीसाधन भित्र्याउने गरिरहेको छ । साना नानीबाबुहरूलाई बोक्ने स्कुल भ्यानहरूमा सुरक्षाको उच्चतम मापदण्ड हुनुपर्नेमा, पटकपटक दुर्घटनामा परी गुणस्तरमा प्रश्न उठिसकेको ब्रान्डलाई यस्तो अनुमति दिनु कत्तिको जायज होला भन्ने प्रश्न खडा भएको छ । उपभोक्ताको सुरक्षा, त्यसमाथि पनि बालबालिकाको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा व्यापारिक लाभलाई मात्रै हेरिनु दुर्भाग्यपूर्ण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*