एनएमबि बैक झलारीद्वारा २९ लाखको ऋणलाई ३७ लाख बनाउँदै घर लिलाम, बिएमकै भुमिका शंकास्पद!

५ माघ २०८२, सोमबार १८:१०

फलोअल/काठमाडौँ । अन्याय पूर्ण रुपमा सर्वसाधारण घर लिलाम एनएमबि बैंकले लिलाम गरेको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा गरेको घरको विषयमा नयाँ तथ्य बाहिर आएको छ । शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋण स्वीकृत र मालपोत तथा भूमि सुधार कार्यालयमा धितो रोक्का गर्दा पेश गरिएका कागजातमा फरक रकम उल्लेख गरिएको भेटिएको हो । यस घटनाले बैंकको आन्तरिक प्रक्रिया, कागजात व्यवस्थापन र ऋण स्वीकृतिको पारदर्शितामाथि नै प्रश्न खडा गरेको छ ।

बैंकले बिकले ३७ लाख रुपैयाँ ऋण लिएको र त्यसको सावाँ–ब्याज नतिरेको भन्दै घर लिलाम गरेको थियो । तर, बिकलाई बैंकले उपलब्ध गराएको कर्जा सुविधा प्रस्ताव पत्रमा भने ऋण रकम २९ लाख ५० हजार रुपैयाँ मात्रै उल्लेख गरिएको देखिएको छ । यो कर्जा प्रस्ताव २०७५ साल कार्तिक २० गते तत्कालीन कञ्चन डेभलपमेन्ट बैंक (हाल एनएमबी बैंकमा विलय) को झलारी शाखाबाट जारी गरिएको थियो । उही दिन बैंकले मालपोत तथा भूमि सुधार कार्यालयमा बिककी श्रीमती ज्ञानु विश्वकर्माको नाममा रहेको जग्गा धितो राखी ‘दृष्टि बन्धक लिखत’ मार्फत रोक्का गराएको थियो । तर, मालपोत कार्यालयमा पेश गरिएको उक्त लिखतमा भने बिकले ३७ लाख रुपैयाँ ऋण लिएको स्पष्ट रूपमा उल्लेख गरिएको छ । एउटै मिति, एउटै ऋण प्रयोजन तर कागजातमा फरक–फरक रकम देखिनुले बैंकले जानाजानी वा लापरबाहीपूर्वक गलत विवरण पेश गरेको देखिएको हो ।

घर लिलाम भइसकेपछि मात्रै बिकले आफूले नलिएको ऋण देखाएर घर खोसिएको थाहा पाएको बताएका छन् । त्यसपछि उनले बैंकसँग सम्बन्धित सम्पूर्ण कागजात माग गरेका थिए । सुरुमा बैंकले सबै कागजात केन्द्रीय कार्यालयमा पठाइसकेको भन्दै दिन आनाकानी गरेको थियो । तर, विक सो विषयमा लिएर अदालत गएपछि मात्रै बैंकले कागजात उपलब्ध गराएको र त्यसपछि मात्रै दृष्टि बन्धक लिखतमा उल्लेख गरिएको ऋण रकम आफूले लिएकोभन्दा धेरै रहेको तथ्य खुलेको हो ।

झलारीस्थित ६१६ नम्बर कित्तामा बनेको घर १५ वर्षका लागि धितो राखेर २९ लाख ५० हजार रुपैयाँ आवास कर्जा लिएका थिए । तर, बैंकले यही ऋणलाई बढाएर ३७ लाख ५० हजार देखाई लिलाम प्रक्रिया अघि बढाएको पाइएको हो ।

शाखा प्रमुखको भुमिका नै शंकास्पद

उक्त घटनामा झलारी शाखाका शाखा प्रमुख दिपक कार्कीको भुमिका नै शंकास्पद रहेको देखिएको छ । ऋण चुक्ता नगर्दा बैंकले लिलामीको ३५ दिने सूचना प्रकाशितको समयमा ऋणी बिक कर्जा तिर्ने जाँदा बैंकका शाखा प्रमुख कार्कीले देखाएको ब्यवहारले गम्भीर प्रश्न उठेको हो ।

लिलाम प्रक्रिया सुरु भएपछि बैंकको झलारी शाखामा विक २ लाख नगद र १ लाखको चेक लिएर गएका थिए । तर, बैंकको शाखा प्रमुख कार्कीले सूचना प्रकाशित गरेको समयमा उक्त रकम नबुझेर धनगढी प्रदेश कार्यालय पठाएका थिए । ३५ दिने सूचना भनेको ऋणीले सो समयमा ऋण चुक्ता गरे धितो लिलाम गर्ने मिल्दैन । तर, ऋणी विकले एक हप्ता बैंंक सबै ऋण चुक्ता गर्ने भनेपनि बैंकले समय नै नदिई बिकको डेढ करोड बराबरको घर लिलाम गरेको हो ।

बैंकले घर लिलाम गर्दाको आवश्यक कागजात माग गर्दा समेत कार्कीले दिएका थिएनन् । ऋणी वकिलको परामर्शमा गएपछि मात्रै बैंक आवश्यक कागजात लिएको थिए । तर, उक्त कागजातमा विकले लिएको ऋणभन्दा बढी रकम देखाएर घर लिलाम गरेको देखिएको हो । ऋणीले एक हप्ताको समयमा माग समेत नदिएको र घर लिलामपछि ऋणीले आवश्यक कागजात माग गर्दा समेत कार्कीले विभिन्न आनाकानी गरेको घटनाले शाखा प्रमुख माथि नै गम्भीर प्रश्न उठेको छ ।

अहिले विक कानुनी बाटोमा गएका छन् । जेनजी संघर्ष समितिले विकलाई साथ दिदै केहि दिन अघि बैंकको झलारी शाखामा तालाबन्दी गरेको थियो । अहिले सोहि घर विप्लवको कब्जामा रहेको छ ।

सो विषयमा शाखा प्रमुख कार्कीसँग सोध्दा उनले गैरजिम्मेवार उत्तर दिए । बीमापोष्टसँग कुरा गर्दै उनले भने, ‘म लाई केहि थाहा छैन । पार्टीले कब्जा गरेको छ रे । अरु मलाई थाहा छैन ।’

शाखाको जिम्मेवार ब्यक्ति भएका कारण प्रहरी प्रशासन र स्थानिय तहसँग समन्वयकारी भुमिका किन खेल्न नसकेको भन्दै बीमापोष्टले गरेको प्रश्नमा समेत उनले स्पष्ट जवाफ नै दिन सकेनन् । ऋण स्वीकृत र मालपोत तथा भूमि सुधार कार्यालयमा धितो रोक्का गर्दा पेश गरिएका कागजातमा फरक रकम भएको विषयमा पनि उनले आफुलाई जानकारी नै नभएको भन्दै अदालतले हेर्ने भन्दै कुरा आलटाल गरे ।

एनएमबि बैंकले लिलाम गरेको करोडौं पर्ने घर विप्लवको कब्जामा, न्यायोचित ढङ्गले छानबिनको माग

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*