गुडिरहेको अवस्थामै महिन्द्रा ब्रान्डको बीई ६ ईभी कारमा आगलागी, गुणस्तरमाथि गम्भीर प्रश्न!

काठमाडौँ । महिन्द्रा ब्रान्डको बीई ६ विद्युतीय (ईभी) कार गुडिरहेको अवस्थामै भीषण आगलागी भएको घटना सार्वजनिक भएको छ । नेपाली अटो बजारमा करिब ६८ लाख रुपैयाँ मूल्यमा बिक्री भइरहेको उक्त मोडेल भारतको उत्तर प्रदेशस्थित हापुर जिल्लामा राजमार्गमा गुड्दागुड्दै अचानक आगलागी भएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार यूपी १३ यू ७५५५ नम्बरको महिन्द्रा बीई ६ ईभी कार बुलन्दशहरबाट हापुरतर्फ जाँदै गर्दा कुराना टोल नजिकै पुगेको समयमा कारबाट अचानक धुवाँ निस्किन थालेको थियो । केही क्षणमै धुवाँले आगोको रूप लिँदै कार पूरै जलेर नष्ट हुने अवस्थामा पुगेको बताइएको छ । कारका मालिक अमन खरबन्दाले यात्रा गरिरहेका बेला गाडीभित्र असामान्य गन्ध र धुवाँ महसुस गरेपछि कार रोक्ने प्रयास गरेका थिए । तर, धुवाँ निस्किएको केही सेकेन्डमै आगोले उग्र रूप लिँदा कारभित्र बस्न सम्भव नभएको र चालकले तुरुन्तै बाहिर निस्किएर ज्यान जोगाएको समाचारमा उल्लेख छ । आगलागीका कारण कार पूरै आगोको लप्कामा परेको थियो । राजमार्गमै कार जल्न थालेपछि केही समयका लागि यात्रु र सवारी चालकहरूमा आतंक मच्चिएको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ हाफिजपुर प्रहरी स्टेशनबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीसँगै पुगेका अग्निनियन्त्रकहरूले लामो प्रयासपछि मात्र आगो नियन्त्रणमा लिन सफल भएको जनाइएको छ । विद्युतीय कार भएकै कारण आगो निभाउन सामान्यभन्दा बढी कठिनाइ भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आगो नियन्त्रणमा ल्याइएसम्म राजमार्गमा ट्राफिक पूर्ण रूपमा अवरुद्ध भएको थियो । यद्यपि, यस घटनामा कुनै मानवीय क्षति नभएकोमा प्रहरी प्रशासनले राहत महसुस गरेको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट कारमा आगलागी हुनुको कारण प्राविधिक कमजोरी भएको खुलेको छ । घटनापछि महिन्द्राले पनि आगलागी भएको तथ्य स्वीकार गरेको छ । कम्पनीले आधिकारिक प्रतिक्रिया दिँदै ब्याट्रीकै कारण आगो नलागेको दाबी गरे पनि प्रारम्भिक विवरणमा ब्याट्री प्रणालीमै कुनै न कुनै प्रकारको त्रुटि रहेको संकेत गरिएको छ । विद्युतीय सवारीसाधनमा ब्याट्री नै प्रमुख संवेदनशील भाग मानिने भएकाले कम्पनीको दाबी र प्रारम्भिक अनुसन्धानबीचको विरोधाभासले उपभोक्तामा थप अन्योल सिर्जना गरेको छ ।
महिन्द्राको बीई ६ ईभी भारतमा सर्वाधिक रुचाइएको विद्युतीय सवारीमध्ये एक मानिन्छ । आकर्षक डिजाइन, आधुनिक फिचर र एकपटक चार्ज गर्दा लामो दूरी तय गर्न सक्ने दाबीका कारण यो मोडेल छोटो समयमै लोकप्रिय बनेको थियो । तर, गुड्दागुड्दै आगलागी भएको घटनाले उक्त मोडेलको सुरक्षामाथि नै प्रश्न खडा गरेको छ ।
नेपाली अटो बजारमा पछिल्लो समय महिन्द्रा ब्रान्डका सवारीसाधनप्रति उपभोक्ताको विश्वास क्रमशः कमजोर हुँदै गएको छ । विशेषगरी महिन्द्राको स्कोर्पियो मोडेलमा दिनप्रतिदिन विभिन्न समस्या देखिन थालेको उपभोक्ताहरूको गुनासो छ । दुर्घटनादेखि आगलागीसम्मका घटनाहरू बढ्दै गएको भन्दै उपभोक्ताहरूले निर्माण दोष, इन्जिनसम्बन्धी समस्या तथा सेफ्टी फिचरहरूको कमजोरीबारे आवाज उठाउँदै आएका छन् । गुणस्तरसम्बन्धी यस्ता निरन्तर समस्याका कारण नेपाली बजारमा महिन्द्राको स्कोर्पियो किन्न इच्छुक उपभोक्ताको संख्या घट्दै गएको व्यवसायीहरू बताउँछन् । केही उपभोक्ताले गाडी चलाउँदा असामान्य आवाज आउने, ब्रेक प्रणाली अपेक्षित रूपमा काम नगर्ने र इलेक्ट्रिकल सिस्टममा बारम्बार समस्या देखिने गरेको अनुभव सार्वजनिक गरेका छन् । यसले महिन्द्रा ब्रान्डप्रति रहेको विश्वासमा धक्का पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा समेत महिन्द्राका विभिन्न मोडेलहरू सुरक्षाजन्य कमजोरीका कारण पटक–पटक फिर्ता (रिकल) गरिएका उदाहरणहरू प्रशस्त छन् । ब्रेक फेल, इलेक्ट्रिकल फाल्ट, गाडीको अस्थिर सञ्चालन र सेफ्टी स्ट्यान्डर्ड पूरा नगरेको आरोप महिन्द्रामाथि लाग्दै आएका छन् ।
सम्बन्धीत समाचारः–
महिन्द्राको स्कोर्पियो गाडी सडकमा गुड्दा गुड्दै आगो लाग्यो, सुरक्षा चुनौति बढ्यो
महिन्द्राको स्कोरपियो दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु
महिद्रा स्कार्पियो आयात गर्दा अग्नि इन्कर्पोरेटेडद्वारा साढे एक करोड रुपैयाँ कर छली












