महिद्रा स्कार्पियो आयात गर्दा अग्नि इन्कर्पोरेटेडद्वारा साढे एक करोड रुपैयाँ कर छली

१ जेष्ठ २०८२, बिहीबार १६:०७

काठमाडौँ । महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले नेपालमा सवारीसाधन भित्र्याउँदा साढे एक करोड रुपैयाँभन्दा बढी कर छली गरेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार भैरहवा भन्सार कार्यालयबाट कम्पनीले एक करोड ५० लाख ८४ हजार रुपैयाँ बराबरको राजस्व हिनामिना गरेको उल्लेख गरिएको हो ।

भारतबाट महिन्द्राको एस–५ र एस–११ मोडेलका स्कार्पियो जीपहरू नेपाल आयात गर्दा ती सवारीहरूमा २१७९ सी.सी. क्षमताको डिजेल इन्जिन रहेको जनाइएको छ । नेपालको प्रचलित भन्सार नियमअनुसार २००० सी.सी.भन्दा माथिका डिजेल सवारीसाधनहरूलाई भन्सार उपशीर्षक ८७०३.३२.२९ अन्तर्गत राखी ८० प्रतिशत भन्सार महसुल, ९० प्रतिशत अन्तःशुल्क, १० प्रतिशत सडक निर्माण दस्तुर तथा मूल्य अभिवृद्धि कर (भ्याट) समेत लाग्ने व्यवस्था छ ।

तर, भैरहवा भन्सार कार्यालयले ती जीपहरूलाई नियमनविपरीत ८७०३.३२.१९ उपशीर्षकमा राखेर मूल्यांकन गरी कम दरमा भन्सार जाँचपास गरेको भेटिएको हो । यसअनुसार ती सवारीसाधनहरूलाई २००० सी.सी.भन्दा कम इन्जिन क्षमताका रूपमा वर्गीकृत गरिएकाले सरकारलाई उठ्नुपर्ने महत्वपूर्ण राजस्व छुटेको हो ।

भन्सारमा ‘अनुचित प्रक्रिया’ र ‘गम्भीर लापरवाही’का भएको देखिएको हो । प्रतिवेदनमा कर छुट गरिएको यो रकमको छानबिन गरी सम्बन्धित पक्षबाट असुलउपर गर्नुपर्ने स्पष्ट गरिएको छ । यस प्रकरणले भन्सार प्रशासनको कार्यसम्पादन, पारदर्शिता र उत्तरदायित्वमा गम्भीर प्रश्न उठाएको छ।

भन्सार वर्गीकरणमा भएको अनियमितता र कम्पनीको सहभागिताले सरकारी राजस्व प्रणालीमा नकारात्मक प्रभाव परेको देखिएको हो । यस विषयमा हालसम्म अग्नि इन्कर्पोरेटेड वा भन्सार कार्यालयबाट कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*