जेन-जी आन्दोलनले अर्थतन्त्रलाई धक्काः साढे ८४ अर्ब क्षति, २ हजार ३५३ जनाले गुमाए रोजगारी

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको अर्थमन्त्रालयले जनाएको छ।
बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै मन्त्रालयले सार्वजनिक, निजी र सामुदायिक क्षेत्रमा गरी कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँको क्षति भएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ, निजी क्षेत्रमा ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ र सामुदायिक क्षेत्रमा ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको भौतिक नोक्सानी भएको छ। कुल क्षतिमध्ये सार्वजनिक क्षेत्रमा ५३ प्रतिशत, निजी क्षेत्रमा ४० प्रतिशत र सामुदायिक क्षेत्रमा ७ प्रतिशत क्षति परेको छ।
आन्दोलनका क्रममा क्षतिग्रस्त भवन तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण र सवारीसाधन मर्मतका लागि ३६ अर्ब ३० करोड ३१ लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको मन्त्रालयले जनाएको छ। यस्तै वस्तु तथा सेवा उत्पादनमा १३ अर्ब ८७ करोड रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरिएको छ।
मानवीय क्षतिको दृष्टिले पनि आन्दोलनले गम्भीर असर पारेको छ। मन्त्रालयका अनुसार आन्दोलनका क्रममा ७७ जनाको मृत्यु भएको छ, जसमा ३९ जना युवा रहेका छन्। साथै दुई हजार ४२९ जना घाइते भएका छन् भने दुई हजार ३५३ जनाले पूर्ण रूपमा रोजगारी गुमाएका छन्।
आन्दोलनका कारण सार्वजनिक वित्त र राजस्व संकलनमा समेत नकारात्मक असर परेको अर्थमन्त्री रामेश्वर खनालले बताएका छन्। उनका अनुसार राहत तथा पुनर्निर्माणका लागि बजेटमा समेटिन नसकेको थप दायित्व सिर्जना भएको छ भने औद्योगिक प्रतिष्ठानलाई दिइएको कर छुट र व्यवसायिक शिथिलताका कारण आगामी दिनमा राजस्व संकलनमा संकुचन आउने देखिएको छ।
सरकारले आन्दोलनका क्रममा मृत्यु भएका ५३ जनाका परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराइसकेको मन्त्रालयले जनाएको छ। साथै घाइतेहरूको उपचार खर्च व्यवस्थापन गर्नुका साथै व्यवसायीहरूका लागि कर छुट, सहुलियत तथा ऋणको पुनर्तालिकीकरण समेटिएको ‘एकीकृत व्यवसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याइएको पनि मन्त्रालयले जानकारी दिएको छ।












