धितोपत्र बोर्डद्वारा मार्जिन कारोबार सम्बन्धी निर्देशिका स्वीकृत, फागुन १ देखि लागू (पूर्णपाठ)

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११८ बमोजिम मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका २०८२ स्वीकृत गरेको छ । यससँगै हालसम्म लागू रहेको मार्जिन कारोबार सम्बन्धी निर्देशन २०७४ खारेज गरिएको छ । सेबोनका अनुसार नयाँ निर्देशिका आगामी फागुन १ गतेदेखि लागू हुनेछ ।
नयाँ निर्देशिकामा मार्जिन कारोबारका लागि योग्य शेयरसम्बन्धी स्पष्ट प्रावधान राखिएको छ । यसअनुसार कम्तीमा २५ लाख कित्ता सर्वसाधारण शेयर (लकइन अवधिका शेयर बाहेक) सूचीकृत भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्लो तीन आर्थिक वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा आर्जन गरेको तथा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत् निष्काशन भएको शेयर सूचीकृत भएको कम्तीमा दुई वर्ष पूरा भएको संगठित संस्थाको शेयरमा मात्र मार्जिन कारोबार गर्न पाइनेछ ।
निर्देशिकामा मार्जिन कारोबार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यता पनि तोकिएको छ । जसअनुसार न्यूनतम २० करोड रुपैयाँ चुक्ता पुँजी भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीको शेयरधनी रहेको वा सहायक कम्पनीको रूपमा रहेको तथा मुख्य कम्पनीले निक्षेप सदस्यता प्राप्त गरेको धितोपत्र दलाल व्यवसायीले मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछन् ।
धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको बढीमा पाँच गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ । तर, कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्य वा सम्बद्ध संस्थालाई प्रदान गरिने मार्जिन सुविधा कुल मार्जिन सुविधाको अधिकतम १० प्रतिशतभन्दा बढी हुन नपाउने प्रावधान राखिएको छ ।
मार्जिन कारोबार सुविधाको समयावधि बढीमा एक वर्षसम्म हुने र तोकिएको समयावधि समाप्त भएपछि नविकरण गर्न सकिने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।
निर्देशिकाले ग्राहकको जोखिम व्यवस्थापनलाई विशेष महत्व दिएको छ । धितोपत्र दलाल व्यवसायीले परिस्कृत ग्राहक मूल्याङ्कन पद्धति अवलम्बन गरी ग्राहकको पहिचान गरेपछि मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउनुपर्नेछ । साथै, मार्जिन कारोबार सुविधा प्रदान गर्दा ग्राहकसँग अनिवार्य रूपमा सम्झौता गर्नुपर्ने र उक्त सम्झौतामा प्रारम्भिक मार्जिन, सम्भार मार्जिन, मार्जिन कलसम्बन्धी व्यवस्था र विधि, सेवा शुल्क वा ब्याज, खरिद गरिने शेयरको विवरण, मार्जिन कारोबार खाता तथा मार्जिन कारोबार हितग्राही खाता सञ्चालनसम्बन्धी अधिकृत वारेसनामा (पावर अफ एटर्नी), आवश्यक कागजात तथा तमसुक लगायतका विषय न्यूनतम रूपमा खुलाउनुपर्नेछ ।
QEqv8BHiVwxBlSr06pxoXoy1IrjqMKbZwoVtCHuI











