सानिमा रिलायन्स लाइफको वित्तीय विवरणमा चमक, नाफासँगै व्यवसायमा प्रगति

२९ माघ २०८२, बिहीबार ०७:०२

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार व्यवसायमा सामान्य बृद्धि भएको छ भने जीवन बीमा कोषमा करिव २२ अर्ब रुपैयाँ संचित गर्न सफल भएको छ ।

कूल पाँच अर्ब एक करोड चुक्ता पुँजि भएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको महाबिपत्ती कोषमा १७ करोड ५३ लाख रुपैयाँ र जगेडा कोषमा २६ करोड ५७ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कम्पनीको व्यवसायमा पनि बृद्धि भएको छ । कम्पनीको खुद बीमा व्यवसाय १४.२९ प्रतिशतले बृद्धि भई तीन अर्ब ११ करोड रुपैयाँबाट तीन अर्ब ५५ करोड रुपैयाँ रहेको छ । समग्र रुपमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख वित्तीय सूचांकहरुमा चमक देखिएको छ ।

कम्पनीले बीमा अभिकर्तालाई दिने कमिशन रकम १८.७९ प्रतिशतले बढेर ३१ करोड पाँच लाख रुपैयाँबाट ३६ करोड ८८ लाख रुपैयाँ रहेको छ । व्यवसाय बढेसँगै अभिकर्ता कमिशन पनि बढ्न पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १९.२१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २३ करोड १६ लाख रुपैयाँ कमाएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले हाल २७ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, कम्पनीको कुल बीमा दावी भुक्तानी रकम ७९ करोड १२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त ब्याज आम्दानी ७७ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधीमा सानिमा रिलायन्स लाइफको कूल खर्च ७.२९ प्रतिशत बढेर चार अर्ब १६ करोड रुपैयाँ रहेको छ भने कुल आम्दानी ७.९५ प्रतिशतले बढेर चार अर्ब ४४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको ईपीएस ११.१ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*