७ महिनामा विकास बैंकको नाफा ४ अर्ब २० करोडः अग्रस्थानमा मुक्तिनाथ र गरिमा, १७ मध्य कुनले कति कमाए ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ७ महिनामा विकास बैंकहरुले ४ अर्बभन्दा धेरै नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १७ विकास बैंकले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ४ अर्ब २० करोड १० लाख रुपैयाँ नाफा कमाएका हुन् ।
बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को ७ महिनाको अवधिको तुलनामा भने ४.१९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सो अवधिमा विकास बैंकहरुले ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए । आर्थिक मन्दि, खराब कर्जाको आकारमा भइरहेको वृद्धि र विभिन्न आन्दोलनकाबीच पनि विकास बैंकहरुले आर्जन गरेको नाफा सन्तोषजनक नै रहेको देखिएको छ । समिक्षा अवधिमा ५ बैंकको नाफा घटेको देखिएको छ भने १२ बैंकको नाफामा आकर्षक सुधार देखिएको हो ।
यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक पहिलो नम्बरमा रहेको छ । ७ महिनाको अवधिमा बैंकले ८२ करोड १५ लाख रुपैयाँ नाफा कमाएको हो । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३०.५० प्रतिशतले बढी हो ।
माघ मसान्तसम्मको अवधिमा गरिमा विकास बैंकको नाफा १४ प्रतिशतले बढेर ७७ करोड ९४ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १६ प्रतिशतले बढेर ५१ करोड ८२ लाख र कामना सेवा विकास बैंकको १४.८० प्रतिशतले बढेर ४७ करोड ६० लाख रुपैयाँ पुगेको हो ।
यता, ज्योति विकास बैंकको नाफा २६.३९ प्रतिशतले बढेर ३८ करोड ५६ लाख, सांग्रिला डेभलपमेन्ट बैंकको ३६.४२ प्रतिशतले बढेर ३५ करोड ७६ लाख, महालक्ष्मी विकास बैंकको साढे १५ प्रतिशतले घटेर २८ करोड ३४ लाख र लुम्बिनी विकास बैंकको १४ प्रतिशतले बढेर २६ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको नाफा ६१ प्रतिशतले घटेर ७ करोड १९ लाख, मितेरी डेभलपमेन्ट बैंकको ३ प्रतिशतले घटेर ६ करोड ८० लाख, नारायणी विकास बैकको ५०० प्रतिशतले बढेर ५ करोड १४ लाख, कर्णाली डेभलपमेन्ट बैंकको ९५ प्रतिशतले घटेर २ करोड ९१ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको ३० प्रतिशतले बढेर २ करोड ७३ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको ८४२ प्रतिशतले बढेर १ करोड ९३ लाख र ग्रिन डेभलपमेन्ट बैंकको २३ प्रतिशतले बढेर १ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
साथै, सिन्धु विकास बैंकको नाफा १ करोड ५२ लाख र सालपा विकास बैंकको १ करोड ४२ लाख रुपैयाँ रहेको हो ।












