पुँजी बजारमा बल्ल देखियो हरियोः अर्थमन्त्रीको बेवास्ताले लगानीकर्ताको मनोबल कमजोर, आगामी यात्रा कस्तो ?

१७ चैत्र २०८२, मंगलवार १५:११

काठमाडौँ । दुई दिनको भारी गिरावटपछि शेयर बजारमा आज हरियो देखिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले कार्यभार समालेपछिको २ कारोबारको दिनमा बजार राताम्य भएको थियो । तर, आज भने केहि सुधार देखिएको छ । पुँजी बजारमा केहि सकारात्मक संकेत देखिएपनि कारोबार रकम भने अपेक्षाकृत कम रहेको छ ।

नयाँ अर्थमन्त्री आउने वित्तिकै पुँजी बजारका लागि केहि नयाँ कुरा आउने विश्वास आम लगानीकर्तामा रहेको थियो । यसअघिका सरकारका अर्थमन्त्रीले पदभार ग्रहणकै दिन शेयर बजारबारे सकारात्मक तर्क राख्दै आएका थिए । तर, अर्थमन्त्री वाग्लेले शेयर बजार बारे अर्थमन्त्री नियुक्त भएदेखि कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । अझ, सरकारले सार्वजनिक गरेको १०० दिने कार्यसूचीमा समेत शेयर बजारमा पर्ने सकेको छैन । जस कारण पनि लगानीकर्ता पर्ख र हेरको अवस्था रहेको देखिएको छ ।

राजनीतिक वातावरणले पनि बजारमा असर पारेको छ । बालेन शाह नेतृत्वको सरकारले सुरु गरेको धरपकडपछि प्रमुख राजनीतिक दलहरूले देशव्यापी प्रदर्शन थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता दिपक खड्का र रमेश लेखकको पक्राउ पछि उत्पन्न अस्थिरता लगानीकर्तामा डर सिर्जना गरेको छ । विश्लेषकका अनुसार यसले शेयर बजारमा मनोवैज्ञानिक दबाब थपेको छ ।

केहि माफियाहरुको रजगजले समेत शेयर बजारलाई प्रभावित बनाउँदै आइरहेको केहि जानकारहरुको आंकलन भइरहेको छ । सरकारले अबैध लगानी नियन्त्रणका लागि नयाँ नीतिहरू लागू गरेको छ, जसले बजारमा अनिश्चितता पनि बढाएको छ । बैंक खाताबाट हुने कारोबारको निगरानी, अवैध लगानी रोकथाम र कानुनी कारबाहीको संकेतले केही लगानीकर्तालाई सतर्क बनाएको छ ।

यद्यपि दीर्घकालीन दृष्टिमा यसले पारदर्शिता र विश्वास बढाउने अपेक्षा गरिएको छ । यस पटक बनेको सरकार स्थायी ५ वर्षको भएकोले स्पष्ट नीति र स्थिरता ल्याउने विश्वास लगानीकर्तामा बढेको छ । नियामक निकायहरूले लगानी अनुकूल नीतिहरू अवलम्बन गरिरहेका छन् र यदि कुनै ठूलो अवरोध नआएमा, बजार छिट्टै नयाँ रेकर्ड बनाउन सक्ने सम्भावना रहेको छ । लगानीकर्ताहरू दीर्घकालीन रूपमा पुँजी बजारको विकासप्रति आशावादी देखिन्छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.७० अकंले बढेर २८५१.०९ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचकमा हरियाली देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.७६ प्रतिशत, विकास बैंक समूहको ०.९० प्रतिशत, फाइनान्स समूहको १.१२ प्रतिशत, होटल तथा पर्यटन समूहको १ प्रतिशतले शेयर मूल्य बढेको छ ।

मंगलबार १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको घटेको छ । ९ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

यी १० कम्पनीमा सर्वाधिक झुम्मिए लगानीकर्ता

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*