पुँजी बजारमा पहिरोः लगानी बन्यो बालुवामा पानी, नयाँ सरकारकै कारण अनिश्चित भएको हो ?

१८ चैत्र २०८२, बुधबार १५:०५

काठमाडौँ । दुई दिन राताम्य भएर पुँजी बजारमा मंगलबार सुधार देखियो । तर, उक्त सुधार एक दिन समेत टिक्न नपाउदै फेरी बजारमा पहिरो गएको छ । बुधबार बजार ठुलो अकंले घट्दा लगानीकर्ता त्रसित बनेका छन् । लगानीकर्ताको मनोबल थप कमजोर हुँदै गएको छ ।

नयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेको कार्यभार सम्हालेपछि बजारमा नकारात्मक प्रभाव देखिएको छ । वाग्ले जस्ता विज्ञ अर्थशास्त्री र अनुभवी व्यक्तिलाई स्वागत गर्ने आशा राखिएको भए पनि पदभार ग्रहणपछि उनले शेयर बजारमा कुनै प्रतिक्रिया नजनाउँदा लगानीकर्तामा निराशा बढेको विश्लेषकहरूले बताएका छन् । सरकारको १०० दिने कार्यसूचीमा पनि पुँजी बजारसम्बन्धी कुनै नीति समावेश नभएकाले लगानीकर्ताले पर्ख र हेरको अवस्था लिएको देखिन्छ । विगतका अर्थमन्त्रीहरूले पदभार ग्रहणकै दिन बजारमा सकारात्मक संकेत दिने गरेको भए पनि वाग्लेको मौनताले बजारमा अनिश्चितता थपेको छ ।

अवैध लगानी नियन्त्रणका लागि लागू गरिएको नयाँ नीतिहरूले पनि बजारमा दबाब सिर्जना गरेको छ । बैंक खाताबाट हुने कारोबारको निगरानी, अवैध लगानी रोकथाम र कानुनी कारबाहीको संकेतले केही ठूला लगानीकर्तालाई सतर्क बनाएको छ ।सोहि अन्तर्गत दिपक भट्टको सम्पत्ति छानबिन सुरु भएको छ भने अध्यागमन विभागले कालो सूचीमा राखेको छ । यसले बजारमा ठूलो बिक्री दबाब उत्पन्न गरी घटाउको गति बढाएको छ ।

राजनीतिक अस्थिरता पनि बजारमा दबाब बढाउने कारक बनेको छ । बालेन शाह नेतृत्वको सरकारले सुरु गरेको धरपकडपछि प्रमुख राजनीतिक दलहरूले प्रदर्शन गरेको र एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता दिपक खड्का र रमेश लेखक पक्राउ परेकाले लगानीकर्तामा डर सिर्जना भएको विश्लेषकहरूले बताएका छन् ।

नेप्सेले मार्जिन कारोबारयोग्य कम्पनीको नयाँ सूची सार्वजनिक गरेपछि पनि विवाद उत्पन्न भएको छ। केही कमजोर कम्पनीको नाम सूचीमा परेको र केही बलिया कम्पनीको नाम नराखिएकोमा लगानीकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् । यसबाहेक, चैत मसान्तको कर तिर दबाबले पनि बजारमा असर पु¥याएको छ, जसले सम्पूर्ण लगानीकर्तामा निराशा र अनिश्चितता बढाएको देखिन्छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७४.७३ अकंले घटेर २७७६.३६ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन वाणिज्य बैंक समूहको २.३१ प्रतिशत, विकास बैंक समूहको ३.१८ प्रतिशत, फाइनान्स समूहको ३.०३ प्रतिशत, होटल तथा पर्यटन समूहको २.१२ प्रतिशतले शेयर मूल्य घटेको छ । १३ वटै उपसूचक राताम्य देखिएको हो ।

बुधबार १३ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ भने २५५ कम्पनीको घटेको छ ।

शेयर बजारमा भारी अंकको गिरावट आँउदा हिमालयन रिमा झुम्मिए लगानीकर्ता

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*