बजारमा भारी गिरावट आएपछि लगानीकर्ताहरु सडकमा: रास्वपा कार्यालयमा धर्ना, हेर्नुहोस् तस्बिर

काठमाडौँ । पुँजी बजारमा लगातार अस्वभाविक गिरावट भएपछि शेयर लगानीकर्ताहरुले प्रदर्शनमा उत्रिएका छन्। आइतबार मात्रै बजार १०५ अंकले घटेपछि लगानीकर्ताहरु त्रसित भएका हुन्।

लगानीकर्ताहरु आज दिउँसो करिब ३ बजे सिंहदरबारको पूर्वी गेटमा आएर प्रदर्शन गरेका थिए। उनीहरुले प्रतिनिधि बोकेर सिंहदरबारभित्र प्रवेश गर्ने प्रयास गरे पनि प्रहरी प्रशासनले निषेधित क्षेत्र भनेर रोक्दै तिनलाई लखेटेको थियो। त्यसपछि प्रदर्शनकारी समूह रास्वपा कार्यालयतिर गएर धर्ना बस्न पुगेका छन्।

लगानीकर्ताहरुले रास्वपा कार्यालय घेराउ राखेका छन्। प्रहरी प्रशासनले अनुमति नदिएकोले त्यहाँ धर्ना बस्न भने रोक लगाएको छ।

प्रदर्शनमा सहभागी तिलख कोइरालाले भने, ‘सरकारले पहिलो दिनदेखि नै कुनै ठोस पहल नगरेकाले हामी आक्रोशित भएका हौं। सरकारको १०० दिने कार्यसूचीमा पनि पुँजी बजारसम्बन्धी नीति समावेश नभएकोमा हामी निराश छौं।पटक पटक ध्यानाकर्षण गरेपनि अर्थमन्त्रीले हाम्रो मागको बेवास्ता गरे’












