भोटेकोशी–त्रिशूली बाढी पुनर्निर्माणका लागि ५ खर्ब ५९ अर्ब बजेट सिफारिस

१९ आश्विन २०८३, सोमबार १५:३६

काठमाडौँ। सरकारले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ आवश्यक पर्ने ठहर गरेको छ। उक्त बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय सरकारले गरेको हो।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक बजेट अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारका विभिन्न मन्त्रालय तथा निकायबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट आवश्यक पर्ने ठहर गरिएको छ। बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, पुनर्स्थापना तथा प्रभावित समुदायको पुनरुत्थानलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइनेछ।

बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका काम सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा भइरहेको उल्लेख गर्दै अब पुनर्निर्माण तथा पुनर्स्थापनाका काम पनि तीनै तहका सरकारको समन्वयमा अघि बढाइने बताएका थिए।

गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। बाढीबाट प्रभावित क्षेत्रको भौतिक संरचना तथा पूर्वाधारमा समेत व्यापक क्षति पुगेपछि सरकारले दीर्घकालीन पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक योजना अघि बढाएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*