विश्वभर ८१ औं संयुक्त राष्ट्रसंघ दिवस मनाइँदै, शान्ति र पृथ्वीको स्वास्थ्य नयाँ एजेण्डा

७ कार्तिक २०८३, शनिबार १५:५८

काठमाडौं । विश्व–व्यापी शान्ति, सहअस्तित्व र न्यायपूर्ण अन्तर्राष्ट्रिय व्यवस्थाको मुख्य खम्बा मानिएको संयुक्त राष्ट्रसंघको स्थापना भएको ८१ वर्ष पूरा भएको छ । सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको वडापत्र (चार्टर) औपचारिक रूपमा कार्यान्वयनमा आएको ऐतिहासिक दिनको स्मरणमा आज संसारभर विविध चेतनामूलक र औपचारिक कार्यक्रमका साथ ‘संयुक्त राष्ट्रसंघ दिवस’ मनाइँदैछ ।

यस बर्ष विश्वमा शान्ति स्थापना गर्ने र पृथ्वीको स्वास्थ्यबारे बहस गर्न संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेशले आह्वान गरेका छन् । विश्वभर चलिरहेको युद्धको अन्त्य गरी शान्ति स्थापना गर्नु र जलवायु प्रकोप न्यूनिकरणका दीर्घकालिन रणनीतिको रुपमा पृथ्वीको स्वास्थ्य एजेण्डालाई अघि सारिएको हो । नेपालमा दशैं विदाका कारण खासै गतिलो कार्यक्रम आयोजना नगरिएको भएपनि विश्वभर आज विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

दोस्रो विश्वयुद्धको विभिषिका र अपूरणीय क्षतिपछि विश्वलाई पुनः अर्को विनाशकारी युद्धबाट जोगाउन र मानव जातिको रक्षा गर्न ५१ संस्थापक राष्ट्रहरूको अग्रसरतामा संयुक्त राष्ट्र संघको स्थापना भएको थियो। हाल यसका सदस्य राष्ट्रहरूको संख्या १९३ पुगिसकेको छ ।

यस वर्ष विश्वव्यापी मञ्चमा बहुपक्षीयताको आवश्यकता र सान्दर्भिकतामाथि पुनः बहस सुरु भएको छ । विश्वका विभिन्न क्षेत्रमा जारी भू–राजनीतिक तनाव, युद्ध, हतियारको होडबाजी र जलवायु परिवर्तनका कारण निम्तिएको चरम संकटका बीच संयुक्त राष्ट्रसंघको भूमिकालाई अझ प्रभावकारी र सुधारिएको बनाउनुपर्ने आवाज उठिरहेको सन्दर्भमा ८१ औं बार्षिकोत्सव मनाउन लागिएको हो ।
राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरसले ८१ औं संयुक्त राष्ट्र संघ दिवसको अवसरमा जारी गर्नुभएको सन्देशमा गरिबी निवारण, दिगो विकासका लक्ष्यहरू प्राप्ति, मानव अधिकारको पूर्ण रक्षा र नयाँ प्रविधिको जिम्मेवारपूर्ण प्रयोगका लागि सबै राष्ट्रहरूलाई एकजुट हुन आह्वान गर्नु भएको छ ।

महासचिव गुटरेसको सन्देश जस्ताको तस्तैः
संयुक्त राष्ट्रसंघ दिवसका अवसरमा हामी एउटा संस्थाको मात्र होइन, बल्की एउटा विचारको उत्सव मनाउँछौँः
मानवताको भविष्य शान्ति, विकास र मानव अधिकारलाई अगाडि बढाउनका लागि एकसाथ मिलेर काम गर्ने हाम्रो क्षमतामा निर्भर गर्दछ । ८१ वर्षदेखि संयुक्त राष्ट्रसंघले यही विचारलाई जीवन्त रूप दिँदै आएको छ ।

–विवादहरूलाई हतियारबाट होइन—कूटनीति र कानुनको माध्यमबाट सुल्झाउँदै आएको छ ।
– गरिबी र भोक उन्मूलनका लागि कार्य गर्दै आएको छ ।
– मानव अधिकारको प्रवद्र्धन गर्दै आएको छ ।
– र युद्ध, विपद् तथा विस्थापनको सामना गरिरहेका मानिसहरूलाई जीवनरक्षक सहयोग पुर्‍याउँदै आएको छ ।
– यातायात, व्यापार र प्रविधिदेखि लिएर…
– मानिस र पृथ्वीको स्वास्थ्य रक्षा गर्नसम्म…
– लैङ्गिक समानताको वकालत गर्न र महिला तथा बालिकाहरूका लागि अवसरहरू विस्तार गर्नदेखि लिएर…
– विश्व मञ्चमा सबै देशहरूलाई समान आवाज प्रदान गर्नसम्म…
– संयुक्त राष्ट्रसंघ हाम्रो संसारको संरचनाको एक अपरिहार्य हिस्सा हो ।
– र आज यसको आवश्यकता पहिलेभन्दा झनै बढी छ ।
– हाम्रो संसार द्वन्द्वले हल्लिएको छ ।
– जलवायु संकटले थिलथिलो भएको छ ।
– बढ्दो असमानताले आक्रान्त छ ।
– र हामीले नियमन गर्न सक्ने क्षमताभन्दा तीव्र गतिमा अघि बढिरहेका प्रविधिहरूद्वारा रूपान्तरित भइरहेको छ ।

अहिले ती मूल्यहरूलाई पुनः दृढ गर्ने समय आएको छ जसले संयुक्त राष्ट्रसङ्घलाई जन्म दिएका थिएः
– विभाजनको साटो संवाद ।
– टकरावको साटो सहकार्य ।
– डरको साटो ऐक्यबद्धता ।
संयुक्त राष्ट्रसंघ दिवसका अवसरमा, म सबै देशहरूलाई यी साझा मूल्यहरू र तिनको आधारस्तम्भका रूपमा रहेका दायित्वहरूप्रति आफ्नो प्रतिबद्धता नवीकरण गर्न आह्वान गर्दछु ।
अहिले पहिलेभन्दा झनै बढी, संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनलाई अक्षुण्ण राख्न हामी हाम्रो सङ्कल्पमा अडिग रहौं ।
र मानिसहरूको सर्वोत्तम सेवा गर्न तथा हाम्रो समयका चुनौतीहरूको सामना गर्न संयुक्त राष्ट्रसंघलाई अझ बलियो बनाउन मिलेर काम गरौं ।

नेपालले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेदेखि नै वडापत्रका सिद्धान्तहरूमाथि आफ्नो दृढ प्रतिबद्धता जनाउँदै आएको छ । नेपालको परराष्ट्र नीतिको एक प्रमुख मार्गदर्शक सिद्धान्त नै संयुक्त राष्ट्रसंघको वडापत्र रहँदै आएको छ ।

विश्व शान्ति स्थापनामा नेपालको योगदान अतुलनीय छ । राष्ट्रसंघको नीलो झण्डामुनि रहेर विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति बहाल गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पुर्‍याएको योगदानको अन्तर्राष्ट्रिय स्तरमै उच्च प्रशंसा हुने गरेको छ । हाल नेपाल राष्ट्रसंघीय शान्ति मिसनहरूमा सबैभन्दा धेरै शान्ति सैनिक पठाउने अग्रणी मुलुकहरूमध्ये एक हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*