सवारीमा विद्युतीय क्रान्तिको कालो पाटो: गुणस्तर र सुरक्षा सवालले अटो बजारमै त्रास

समाचार टिप्पणी
ईभी गाडी-सुन्दा आधुनिकता र वातावरणमैत्री भविष्यको कल्पना आउँछ । तर नेपालका सडकमा ती भविष्यका गाडीहरू आज भय र त्रासको प्रतीक बन्दै गएका छन् । सुन्दर डिजाइन, सस्तो मूल्य र लामो वारेन्टीको प्रलोभनमा नेपाली ग्राहकहरू तीव्र रूपमा विद्युतीय सवारीतर्फ आकर्षित भइरहेका बेला देशभर ईभी कार र भ्यान दुर्घटनाका घटना एकपछि अर्को भइरहेका छन् । कुनै आगलागी, कुनै ब्रेक फेल, कुनै स्टेयरिङ जाम यी घटना यति बढिरहेका छन् कि अहिले ईभी चढ्नु नै जीवन जोखिममा पार्ने निर्णय सरह बन्दै गएको छ ।
पछिल्लो केही महिनामात्र देशभरका सडकमा भएका ईभी दुर्घटनाका तथ्यहरूले यात्रुहरूमा गहिरो डर पैदा गरेका छन् । जस दिन समाचार नआएको हुन्छ, त्यस दिन मानौँ ईभी दुर्घटनाले बिश्राम लिएको भान पर्न थालिसकेको छ । आज मात्रै दुई वटा भयानक दुर्घटनाले फेरि यही विषयलाई केन्द्रमा ल्याएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपलभञ्ज्याङमा लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् । सोही दिन कन्चन गाउँपालिका–५ फायरलाइनस्थित भित्री सडकमा बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी कार दुर्घटना हुँदा तीन जनाको मृत्यु र चार जना घाइते भएका छन् । यी घटनाहरू कुनै अपवाद होइनन् यस्ता दुर्घटनाहरू अब दैनिक दैनिकीसरह भइरहेका छन् ।
नेपालका सडकमा विद्युतीय सवारी साधनको आकर्षण बढेसँगै यसको जोखिम र दुर्घटनाको ग्राफ पनि समानान्तर रूपमा माथि चढ्दै गएको छ । कहिले चलिरहेको ईभी कारमा एक्कासी आगलागी हुन्छ, कहिले स्कूल गाडीको ब्रेक नलागेर विद्यार्थी घाइते हुन्छन्, त कहिले रातको समयमा अनियन्त्रित गतिमा ठोक्किएर जनधनको क्षति हुन्छ ।
ईभी अर्थात् इलेक्ट्रिक भेहिकल्स नेपालमा आधुनिकताको प्रतीकको रूपमा प्रचार गरिएको छ । पेट्रोलियम इन्धनको बढ्दो मूल्य, वातावरणीय प्रदूषण घटाउने तर्क, सस्तो सञ्चालन लागत र विदेशी प्रवृत्तिको पछ्याउने प्रतिस्पर्धाका कारण नेपाली बजारमा यस्ता सवारीको आकर्षण तीव्र गतिमा बढेको छ । तर सस्तो र द्रुत विकासका नाममा आयात भइरहेका यी सवारीहरू कतिपय अवस्थामा यात्रुको मृत्युको कारण बनेका छन् ।
दुर्घटनामा परेका सवारीहरूको सूची हेर्दा फार्ड, हुन्डाईजस्ता ब्रान्डका ईभी कारहरू अग्रस्थानमा देखिन्छन् । भ्यानको हकमा सिजीले भित्र्याएको किङलङ र केवाईसी भिजी मोटर्सले ल्याएको एसआरएम ब्रान्ड बढी दुर्घटनामा परेको पाइएको छ । यी सबै सवारीहरू बजारमा विद्यालय, ट्याक्सी र निजी प्रयोजनका नाममा तीव्र रूपमा बिक्री भएका छन् । तर सञ्चालनमा आएपछि तीमध्ये धेरैमा स्टेयरिङ जाम, ब्रेक फेल, ब्याट्री निकास र नियन्त्रण नहुने समस्या देखा परिरहेको छ ।
गाडीहरूमा अचानक गतिवृद्धि, एक्सिलरेटर अड्किने, मोड्दा स्टेयरिङ नफर्किने वा पूर्ण रूपमा ब्रेक फेल हुने समस्या देखिने गरेको सवारी चालकहरूका गुनासा छन्। तर कम्पनीहरूले यी गुनासाहरूलाई प्रयोगकर्ताको गल्ती भनेर पन्छाउँदै आएका छन् । कुनै परीक्षण नतिजा सार्वजनिक गरिएको छैन, कुनै सुधार प्रक्रिया देखिएको छैन । उपभोक्ताको ज्यान गुम्दा पनि कम्पनीको चासो बजार प्रचारमै सीमित छ ।
नेपालमा सवारीसाधन आयातको प्रणाली अझै पनि जोखिमपूर्ण र असुरक्षित छ । कुनै पनि नयाँ मोडलका सवारी नेपाल भित्रिँदा प्राविधिक परीक्षण, गुणस्तर प्रमाणीकरण वा सडक उपयुक्तताको मूल्याङ्कन बिना नै वितरणमा आउँछन् । आयातकर्ताहरूको प्राथमिकता बजार विस्तार र बिक्री संख्यामा केन्द्रित हुन्छ, प्रविधिगत सुरक्षा परीक्षणमा होइन । सवारी सञ्चालन अनुमति लिन पनि सरसर्ती प्रक्रिया पूरा गरिएपछि ती सवारी सहजै चलाइन्छन् । यसै कारण विद्युतीय सवारीका नाममा गुणस्तरहीन प्रविधि र परीक्षणविहीन उत्पादनहरू सहजै उपभोक्तासमक्ष आइपुगिरहेका छन् ।
नेपालमा अहिलेका ईभीहरूको ठूलो भाग चीनबाट आयात भएको छ । तीमध्ये कतिपय ब्रान्डहरू चीनमै प्रयोगमा नरहेको वा सीमित क्षेत्रमा मात्र बिक्री भएको पाइन्छ । नेपालमा भने त्यही उत्पादनहरू नयाँ मोडलको रूपमा प्रचार गरिन्छ । सस्तो मूल्यमा बजार कब्जा गर्ने रणनीतिले गर्दा यी ब्रान्डहरूले गुणस्तरको न्यूनतम मापदण्डसमेत बेवास्ता गर्ने गरेका छन् । जसको प्रत्यक्ष असर नेपाली यात्रुहरूको सुरक्षामा परेको छ ।
वर्षदिनमा झण्डै दुई हजार ईभी गाडी दुर्घटनाः ९० जनाको निधन, गुणस्तर कमजोर कि चालकको लापरबाही ?
अझ खतरनाक पक्ष के छ भने यस्ता सवारीहरू विद्यालयमा विद्यार्थी ओसारपसारका लागि प्रयोग भइरहेका छन् । देशभरका धेरै निजी विद्यालयहरूले पेट्रोल वा डिजेलको सट्टा ईभी भ्यान प्रयोग गर्न थालेका छन् । खर्च घटाउने सोच, वातावरणीय देखावट र सरकारी प्रोत्साहनको नाममा यी सवारीहरू विद्यालयका गाडीको रूपमा छिरेका हुन् । तर जसरी दुर्घटनाको श्रृङ्खला बढिरहेको छ, त्यसले विद्यालयका विद्यार्थीहरूको जीवनसमेत जोखिममा पारेको छ ।
विद्युतीय सवारीको प्रचार ‘सस्तो र सफा’ भन्ने नारामा केन्द्रित छ । तर यथार्थमा तीमध्ये धेरैको निर्माण, ब्याट्री म्यानेजमेन्ट सिस्टम, नियन्त्रण सर्किट, ब्रेकिङ प्रविधि र मोटर प्रणालीमा गंभीर कमजोरी देखिन्छ । नेपालजस्तो भौगोलिक र तापक्रमीय विविधता भएको देशमा ती प्रविधि उपयुक्त छैनन् । पहाडी घुम्ती, ओरालो–उकालो र असमान सडकमा ती गाडीहरूको नियन्त्रण गुम्ने सम्भावना बढी हुन्छ ।
त्यसबाहेक, यहाँका चालकहरू पनि ईभी प्रविधिमा पर्याप्त तालिम पाएका हुँदैनन् । साधारण पेट्रोल गाडी चलाउने चालकमाथि ईभी चलाउन जिम्मा दिइन्छ, तर यी दुई प्रविधिबीच ठूलो अन्तर हुन्छ । इन्जिन ब्रेक नहुने, मोटरको तत्कालिक टर्क उच्च हुने र ब्याट्रीको तापमान नियन्त्रण प्रणाली कमजोर हुने कारण ईभी नियन्त्रण गुम्ने सम्भावना उच्च रहन्छ । यस्तो अवस्थामा चालकलाई प्रविधिको बारेमा जानकारी नहुँदा सानो त्रुटिले पनि ठूलो दुर्घटना निम्त्याउँछ ।
यातायात व्यवस्था विभाग र गुणस्तर तथा नापतौल विभागले सवारी परीक्षण र गुणस्तर मापन गर्ने जिम्मेवारी पाएका छन् । तर नेपालमा अहिलेसम्म विद्युतीय सवारीका लागि पृथक परीक्षण प्रयोगशाला छैन । जसका कारण कुनै पनि ब्रान्डका गाडीहरू सिधै भन्सार पार गरी बजारमा बिक्री गर्न सकिन्छ । त्यति मात्र होइन प्रायः आयातकर्ताहरूले देखाउनका लागि बनाइएको कागजी परीक्षण प्रमाणपत्रका आधारमा सवारीको अनुमोदन पाउँछन् ।
यस्ता कमजोर व्यवस्थापनले गर्दा दुर्घटनाको जिम्मेवारी कसले लिने भन्ने पनि अस्पष्ट छ । कम्पनीहरूले चालकको गल्ती भन्छन्, चालकहरू प्रविधिको दोष बताउँछन्, प्रहरी प्रशासनले सामान्य ट्राफिक केसको रूपमा दर्ता गर्छ । अन्ततः पीडितको परिवार न्यायविहीन बन्छ । कतिपय घटनामा त क्षतिपूर्ति दिने कुरा पनि गरिँदैन ।
ईभी दुर्घटनाका घटना तीव्र गतिमा बढिरहँदा पनि नियामक निकायहरू मौन छन् । न कुनै अध्ययन, न अनुसन्धान, न चेतनामूलक कार्य । सरकारले ईभी आयातमा भन्सार छुट, कर छुट, चार्जिङ स्टेशन निर्माणमा सहयोग लगायतका नीतिगत सुविधा दिएको छ तर ती सुविधा सवारी सुरक्षा सुनिश्चिततासँग जोडिएका छैनन् । नीति प्रवर्द्धनमा मात्रै केन्द्रित छ, नियन्त्रण र सुरक्षा परीक्षणमा होइन ।
ईभीको बजार विस्तारको प्रतिस्पर्धामा कम्पनीहरूले उपभोक्तालाई लामो वारेन्टी र सस्तो मर्मतको आश्वासन दिन्छन् । तर जब गाडीमा समस्या आउँछ, त्यसको जिम्मा लिन कोही तयार हुँदैन । नेपालका सडकमा ईभी दुर्घटनाको कारण केवल प्रविधिगत कमजोरी मात्रै होइन, चार्जिङ प्रविधि र ब्याट्री व्यवस्थापन पनि हो । धेरै दुर्घटनामा ब्याट्री ओभरहीट भएर आगलागी भएको पाइन्छ । ब्याट्रीको क्वालिटी र भोल्टेज नियन्त्रण प्रणाली कमजोर हुँदा गाडी एक्कासी बन्द हुने वा सर्ट हुने घटना पनि भएका छन् । विद्युत् सर्किटमा न्यूनतम सुरक्षात्मक ‘कट–अफ’ प्रणाली नभएकाले सानो त्रुटिले पनि ठूलो विस्फोट वा आगलागी निम्त्याउन सक्छ ।
नेपालमा सवारीको गुणस्तर सुनिश्चित गर्न ‘नेशनल क्वालिटी स्ट्यान्डर्ड’ प्रणाली कागजमै सीमित छ । गुणस्तर प्रमाणीकरणको नाममा वर्षेनि परीक्षणको कुरा गरिन्छ तर कार्यान्वयनमा आएको छैन । सडकमा चलिरहेका ईभी गाडीहरू मध्ये धेरैको इन्स्योरेन्ससमेत प्रभावकारी छैन । दुर्घटना हुँदा कम्पनी र बीमा दुवैले जिम्मेवारी टार्ने गरेका छन् ।
यसरी प्रविधि, नियमन र व्यवस्थापन तीनै पक्षमा कमजोरी हुँदा विद्युतीय सवारी अहिले यात्रुका लागि जोखिममय यात्रा बनेको छ । आधुनिकताको मोहमा नागरिकहरूले जुन विश्वाससाथ यी गाडी किनिरहेका छन्, त्यो विश्वास दिनदिनै भत्किँदै गएको छ ।
एसआरएम ब्रान्डका ईभी माइक्रो असुरक्षित, यात्रुको ज्यान जोखिममा
निरन्तर दुर्घटनामा पर्दै किङलङ ईभी माइक्रो, गुणस्तर र सुरक्षा सवालले अटो बजारमै उठायो प्रश्न
गुणस्तरीय गाडीको नाममा धोका: बिच सडकमै जल्छन् हुन्डाई ब्रान्ड, ढाकछोपमा ब्यस्त बिक्रेता कम्पनी













