नेपाल बैंकको सीईओ पद रिक्त, जागिर खान को-को छन् दौडमा ?

१६ आश्विन २०८०, मंगलवार ११:३१

काठमाडौं । नेपाली बैंकिङ इतिहासमा सबैभन्दा ज्येष्ठ नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पद रिक्त भएको छ । नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी ४ वर्षे कार्यकाल पूरा गरी बैंकबाट औपचारिक रुपमा विदाई भएपछि नेपाल बैंकमा सीईओ पद रिक्त भएको हो ।

चरम राजनीतिक हस्तक्षेप हुने नेपाल बैंकमा २०७६ असोज १४ गते अधिकारी सीईओ नियुक्त भएका थिए । बैंकको बोर्ड बैठकले अधिकारीलाई पुनःनियुक्त नगर्ने निधो गरेपछि ४ वर्षे कार्यकाल सकिनासाथ उनको विदाई भएको छ । राजनीतिक खिचातानी कै कारण अधिकारी विदा भइसक्दा पनि अर्को सीईओ नियुक्त गर्ने टुंगो लागेको छैन ।

अधिकारी बाहिरिएसँगै आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी समता पन्तलाई दिएको छ । बैंकमा रहँदा विभिन्न विभागको जिम्मेवारी बहन गरेकी पन्तले दुई दशक बढीको बैंकिङ अनुभव सँगालेकी छन् भने एमबीएससम्मको अध्ययन गरेकी छन् ।

यस्तै, बैंकको बोर्ड बैठकले अर्को सीईओको नियुक्तिका लागि आवेदन माग गर्ने निर्णय गर्न सकेन । यसअघि बसेको सञ्चालक समिति बैठकले सदस्य आनन्द काफ्लेको संयोजकत्वमा तीन सदस्यीय सीईओ छनोट समिति गठन गरेको थियो ।

को-को छन् आकांक्षी ?
नेपाल बैंकभित्रै सीईओ बन्ने क्षमता र योग्यता भएका कर्मचारी थुप्रै छन् । तर, नियुक्तिमा सरकारी हस्क्षेप बढी हुने भएका कारण सत्तामा रहेका दल निकट कै व्यक्ति नेतृत्वमा आउने चर्चा चलेको छ । नेपाल बैंकको हाल कामु सीईओ रहेकी पन्तसहित नेपाल बैंकबाटै अन्य ३ जनाले सीईओका लागि आवेदन दिने तयारी गरेका छन् ।

यस्तै, बैंकका चिफ क्रेडिट अफिसर लक्ष्मण पौडेल, चिफ अपरेटिङ अफिसर विश्वराज बराल, चिफ एड्मिनेष्ट्रेटिभ अफिसर प्रकाश कुमार अधिकारी र चिफ फाइनान्स अफिसर होमवहादुर खड्का पनि सीईओ पदका आकांक्षी हुन् ।

नियुक्तिमा सरकारी संलग्नता रहने भएकाले राम्रा भन्दा हाम्राले ठाउँ पाउने सम्भावना समेत उत्तिकै रहन्छ । जसरी निजी क्षेत्रका बैंकले आफ्नै उत्पादनलाई ठाउँ दिन थालेका छन्, त्यो अभ्यास पछ्याए नेपाल बैंकमा भित्रैका समेत अवसर पाउने सम्भावना रहन्छ ।

जस्तै, सिटिजन्स इन्टरनेशल बैंकबाट राजनसिंह बाहिरिएपछि गणेश पोखरेल सीईओ बनेका छन् । यस्तै, सानिमा बैंक, एनएमबी बैंकमा पनि त्यस्तै अभ्यास सुरु भएको छ ।

कार्यकाल सकेर बाहिरिएका अधिकारी नेपाल बैंक कै उत्पादन हुन् । २०७६ मा खुला प्रतिस्पर्धाबाट सीईओमा नियुक्त भएका अधिकारीले १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै बैंकको सीईओ नियुक्त भएका थिए । उनको कार्यकालमा नेपाल बैंकले फड्को मारेको छ ।

कुनै समय ठूलो नोक्सानी व्यहोरेको नेपाल बैंक पछिल्लो समय वाणिज्य बैंकहरुबीच एक अब्बल बैंकका रुपमा स्थापित भएको छ । पहिले त्यसै ठाउँमा बसेर योगदान गरेकालाई प्राथमिकता दिने अभ्यासलाई पछ्याइए फेरि पनि नेपाल बैंक कै उत्पादनले अवसर पाउने सम्भावना रहन्छ । तर, नेपाल बैंकको सीईओका लागि बाह्य व्यक्तिहरुको चर्चा समेत उत्तिकै चुलिएको छ ।

बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिशन प्रक्रियामा गएपछि थुप्रै अब्बल सीईओ एवं अनुभवीहरु बैंक बाहिर छन् । उनीहरूका लागि पनि नेपाल बैंकको सीईओ महत्वपूर्ण अवसर हुनसक्ने बताइन्छ ।

त्यस्तै, चार्टर्ड एकाउन्टेन संघ आइक्यानका पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्य, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जीवी चापागाईं, डा. केशवप्रसाद श्रेष्ठलगायत नेपाल बैंकको सीईओका लागि आवेदन दिन लमतन्न भएर बसेका बुझिएको छ ।

One thought on “नेपाल बैंकको सीईओ पद रिक्त, जागिर खान को-को छन् दौडमा ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*