नेपाल बैंकले माग्यो सीईओका लागि आवेदन, राजनीतिक दलसँग आवद्ध भएको व्यक्ति सोझै अयोग्य

२१ आश्विन २०८०, आईतवार १२:२५

काठमाडौं । बैंकिङ इतिहासमा नेपालकै जेठो ‘नेपाल बैंक लिमिटेड’ले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन माग गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै नेपाल बैंकले सीईओको पदपूर्तिका लागि आवेदन माग गरेको हो । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र बैंकको धर्मपथस्थित प्रधान कार्यालयमा रहेको सञ्चालक समितिको सचिवालयमा दरखास्त दिन सकिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका कुनै पनि व्यक्तिले आवेदन दिन सक्ने छन् ।

यस्तै, चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा दश वषएको कार्य अनुभव भएका व्यक्ति सीईओका लागि योग्य र अनुभवी मानिएको छ ।

योग्यताको तेस्रो नम्बरमा कार्यकारी प्रमुखको नियुक्तिको सम्बन्धमा नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्ने भनिएको छ । नेपाल बैंकले दरखास्त दिने व्यक्तिले प्रमाणित गर्नु पर्ने क्लजको पहिलो नम्बरमा कुनै पनि राजनीतिक दलको सदस्य नभएको भनी उल्लेख गरेको छ ।

त्यति मात्रै नभई दरखास्त दिने व्यक्तिले बैंक सँगको टेक्टापट्टामा संलग्न वा परिवारका सदस्य संलग्न भएको हुन नहुने, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर नभएको, जालसाजीको आरोपमा सजाय नपाएकोृ र कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको प्रमाणित गरी कागजात संलग्न गर्नु पर्नेछ ।

राष्ट्र बैंकले औपचारिक सूचनामा सीईओको आवेदक राजनीतिक दलसँग आवद्ध भएको व्यक्ति हुन नहुने भने पनि नियुक्तिमा सरकारी हस्तक्षेप हुने भएका कारण सत्तासिन राजनीतिक दल निकटस्थ प्रमुख कार्यकारी नियुक्त हुने प्रवल सम्भावना छ । गठबन्धनको सरकार रहेका कारण नेपाल बैंकको सीईओ छनोटको यो सूचना कतै औपचारिकता मात्रै त होइन भन्दै धेरैले आशंका गरेका छन् ।

भरखरै कार्यकाल सकेर बाहिरिएका कृष्णबहादुर अधिकारी भने खुला प्रतिस्पर्धाबाट छनोट भएर नियुक्त भएका थिए । उनले १४ जना प्रतिष्पर्धीलाई पछि पारेर सीईओको नियुक्ति पड्काएका थिए । नेपाल बैंकले सार्वजनिक सूचना जारी गर्दै गर्दा बैंकभित्र र बाहिरबाट आकांक्षीहरु बग्रेल्ती निस्किएका छन् ।

यो पनि पढ्नुहोस्

नेपाल बैंकको सीईओ पद रिक्त, जागिर खान को-को छन् दौडमा ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*