‘प्रचण्डका घरबेटी’पुत्रको रामग्राम परियोजना ‘स्क्याम’ मात्रै, सिंगापुर हुँदै ‘फ्रि-तिब्बत मुभमेन्ट’को पैसा लुट्ने दाउ

१७ माघ २०८०, बुधबार १७:२७

काठमाडौं । नेपालमा ‘फ्रि–तिब्बत मुभमेन्ट’लाई बढावा दिने योजनाकासाथ लुम्बिनी क्षेत्र विकास कोषको उपाध्यक्ष बन्नपुगेका विवादित पूर्व राज्यमन्त्री ल्यारक्याल लामाले प्रधानमन्त्री प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी पुत्र निकेशको प्राइभेट कम्पनी ‘प्रमिस्ड ल्याण्ड’लाई पश्चिम नवलपरासीको ‘रामग्राम’क्षेत्र विकासको जिम्मा दिने सैद्धान्तिक सहमति प्रदान गरेका छन् ।

लामाले कोषमा आफु अनुकुलका सदस्य नियुक्त गरेर अर्बौँको घोटालाका लागि प्रचण्डका घरबेटी शारदा पुत्रलाई सैद्धान्तिक अनुमति दिएका हुन् । ‘रामग्राम’क्षेत्र विकासका लागि आधिकारिक ठेक्का प्रक्रिया तथा सम्झौता हुन भने बाँकी छ ।

लामाले लुम्बिनी विकास कोषलाई आफु अनुकुल चलाउन कुनै पनि विषयविज्ञता हासिल नगरेका आफ्ना सहयोगी समेतलाई कोषको सदस्य नियुक्त गरेका छन् । कोषको सदस्य नियुक्त भएका ती सहयोगी जाली नोट तथा विद्युतीय कारोबार सम्बन्धी अपराधमा मुछिएका व्यक्ति समेत हुन् ।

पश्चिम नवलपरासी उजैनीमा रहेको ‘रामग्राम’ गौतम बुद्धको अस्थिधातु राखिएका आठ स्थलमध्ये एक मानिन्छ । कोषले परियोजना तयार गरी रामग्राम क्षेत्रमा लम्बिनी जस्तै पर्यटकीय ग्रामका रूपमा विकास गर्न प्रचण्डका घरधनी शारदाप्रसादका छोरा निकेश अधिकारीको निर्माण कम्पनी ‘प्रमिस्ड ल्यान्ड’लाई दिन सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

जग्गा अधिग्रहण, गुरूयोजना निर्माण तथा भौतिक निर्माणका लागि प्रमिस्ड ल्यान्डलाई जिम्मा दिने सहमति भएको कोषका उपाध्यक्ष लामाले बताए । उनका अनुसार सिंगापुरमा मुख्यालय रहेको मोक्ष फाउन्डेसन समेत यो ग्राम विकास परियोजनाको प्रस्तावक हो । अर्थ मन्त्रालय र पुरातत्व विभागले सहमति नदिँदासम्म योजना अघि नबढ्ने लामाले बताए ।

परियोजना स्वीकृति अर्थमन्त्रालयले गर्ने छ भने उत्खननको अनुमति पुरातत्व विभागले दिनुपर्ने छ । रामग्राम विकास गर्दा स्थानीयवासीको करिब ११६ बीघा जग्गा अधिग्रहण गरेर संरचना निर्माण गर्नु पर्ने हुन्छ । जहाँ ४०० घर परिवारको उठिबास लाग्ने बताइन्छ । जुन जमिनमा भौतिक संरचना बनाउने अनुमति प्रमिस्ड ल्यान्डलाई दिने सहमति कोषले गरेको छ ।

हाल रामग्राम स्तूप वरिपरि पुरातत्त्व विभागको १० कठ्ठा र कोषको तीन बिघा १५ कठ्ठा जमिन संरक्षित छ । बाँकी जग्गा अधिग्रहण गर्न एक अर्ब ५० करोड र अन्य संरचना निर्माणका लागि साढे पाँच अर्ब रूपैयाँ लाग्ने अनुमान छ । तर, यसमा करिब ७५ अर्बको चलखेल हुन लागेको चर्चा चलिरहेको छ ।

कोषाध्यक्ष ढुण्डिराज (सिद्धिचरण) भट्टराईका अनुसार रामग्राम निर्माणका लागि बजेट जुटाउने जिम्मा मोक्ष फाउन्डेसनले लिएको र निर्माणको जिम्मा निकेशको कम्पनीलाई ठेक्का दिए मात्र आफूले उक्त पैसा जुटाइदिने शर्त राखेको छ ।

उनले भने, ‘फाउन्डेसनले पैसा जुटाइदिने र उसले जुटाएको रकम कोषको खातामा जम्मा हुने कुरा छ । फाउन्डेसनले नै प्रमिस्ड कम्पनीलाई नै ठेक्का दिनुपर्ने शर्त राखेको थियो । त्यस कारण सैद्धान्तिक सहमति दिएर पठाइएको हो ।’

फाउन्डेसनले नै प्रमिस्ड ल्यान्डलाई व्यवस्थापनको जिम्मेवारी दिने शर्त राखेको सार्वजनिक भएसँगै ‘रामग्राम’ विकास परियोजनामाथि झन् शंसय उत्पन्न भएको छ । निकेशको कम्पनीलाई ठेक्का दिए मात्रै दातृ निकायबाट रकम जुटाउन सहज हुने भनेर फाउन्डेसनका प्रतिनिधिले भनेको कोषाध्यक्ष भट्टराईले बताएका छन् ।
फाउन्डेसनको सशर्त प्रस्तावका आधारमा प्रमिस्ड ल्यान्डसँग सैद्धान्तिक सहमति गरी आवश्यक प्रक्रियाका लागि अर्थ मन्त्रालय र विभागीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा पुरातत्व विभागलाई चिठी पठाएको उनको भनाइ छ ।

सम्झौतापछि फाउन्डेसनले रकम जुटाउने र अनि मात्रै जग्गा अधिग्रहण गरेर परियोजनाको काम अघि बढ्ने कुराले झन् यसमा मिलेमतो प्रष्ट भएको छ । कोषाध्यक्ष भट्टराई नै कतै यो स्क्याम छ होइन ? भन्ने शंका लाग्न थालेको छ । यसअघि जापानमा बौद्ध स्तुपा बनाउने भनेर शीर्षस्थ नेतासँग उठबस भएकी आनी भीमसुवा गुरुङले नेपालका ठूला निर्माण कम्पनीबाट करोडौं रुपैयाँ उठाएर हिनामिना गरेकी थिइन् ।

उनीविरुद्ध अहिले पनि ती ठेकेदारकम्पनीहरुले ठगी र जालसाजीविरुद्धको मुद्दा लडिरहेका छन् । गुरुङले पनि अरर्बौंको ठेक्का दिलाउने शर्तमा ट्रष्टमार्फत निश्चित ठेकेदार कम्पनीलाई भित्रि रुपमा अग्रिम पैसा हाल्न लगाएर ठगि गरेकी थिइन् । र, ठेकेदार कम्पनीहरुले सडक कालोपत्रे गर्न छोडेर सरकारी ठेक्काको रकम त्यसमा हालेका थिए भने विभिन्न बैंकको ओभर ड्राफ्ट प्रयोग गरेर वित्तीय नोक्सान गरेका थिए । पैसा लुटाएपछि ति ठेकेदार कम्पनीहरुले अहिलेसम्म बाटो कालोपत्रे गर्न सकेका छैनन्, अदालतको चक्कर काट्दैछन् ।

रामग्राम विकास गर्ने भनिएको ठाउँमा स्तूप परिसरको तीन सय मिटरभित्र र दीप प्रज्ज्वलन क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइदैन । जग्गा अधिग्रहणपछि चार कुनामा चार स्तूप र विभिन्न देशका १६ वटा विहार तथा ध्यान केन्द्र बनाउने योजना राखिएको छ । अहिले रहेको स्तूप परिसरमा हारियाली बनाउने र तीर्थयात्रीले पूजा गरेर दीप प्रज्ज्वलन गर्ने व्यवस्था गरिने भनिएको छ ।

फाउन्डेसनले सशर्त ठेक्काको प्रस्ताव राख्नु र परियोजनाका लागि सात अर्ब रूपैयाँ संकलनको आधार र त्यसको स्रोतबारे प्रश्न उठिसकेको छ । प्रमिस्ड ल्यान्डले प्रधानमन्त्री प्रचण्ड, पर्यटन मन्त्री सुदन किराती तथा कोषका पदाधिकारीलाई प्रभावित पार्न गत पुस २६ गते ‘रामग्राम दूरदर्शी परियोजना’ शुभारम्भ कार्यक्रममा निकै मोटो रकम खर्च गरिसकेको छ भने मंगलबार मात्रै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले ‘रामग्राम’ क्षेत्रको उत्खनन गर्ने निर्णयबारेका कागजात झिकाउने र विनाप्रतिष्पर्धा निजी कम्पनीसँग सम्झौता गर्ने विषयबारे ७ दिनभित्र जानकारी गराउन भन्दै पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री प्रचण्डको जन्मदिन पारेर आयोजना गरिएको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री सवार हेलिकप्टरको भाडा, मन्त्री र अन्य अतिथिको हवाई तथा स्थानीय यातायात भाडा, होटल, कार्यक्रम खर्च लगायतमा प्रमिस्ड ल्यान्डले कम्तीमा ५० लाख रूपैयाँ खर्च गरेको बताइएको छ ।

रामग्राम निर्माणमा ‘फ्रि तिब्बत मुभमेन्ट’को गन्ध
अहिलेसम्म रामग्राम निर्माणमा कस्ता दाताहरुले सहयोग गर्दैछन् र कहाँबाट सहयोग आउदैछ, भन्ने प्रष्ट भएको छैन । अर्कोतर्फ परियोजनाको लगानी जुटाउने भनिएको मोक्ष फाउण्डेशनले निकेश कै प्रमिस्ड ल्याण्डलाई ठेक्का दिनुपर्ने शर्त राखेको छ । जसको मुख्यालय सिंगापुरमा छ । सिंगापुर हरेक दृष्टिकोणबाट विवादित छ । मानव तस्करीको ट्रान्जिटदेखि विभिन्न अवैध धन्दाका लागि उर्वर मानिएको सिंगापुरमा मुख्यालय रहेको मोक्षले निकेश कै कम्पनीलाई ठेक्का दिन किन भन्नुको पछाडि अरु नै रहस्य लुकेको हुनसक्ने एक जना जानकारले बताए ।

उनले भने, ‘जो–जो यो उधारो परियोजनामा हात धोएर लागेका छन् । ती सबै विवादित छवि भएकाहरु नै छन् । मोक्ष फाउण्डेशन ‘फ्रि–तिब्बत मुभमेन्ट’मा जोडिएको संस्था हो । ल्यारक्याल लामाको के कुरा ? उनले ‘फ्रि–तिब्बत मुभमेन्ट’लाई नियमित साथ दिइरहेका छन् । जसका लागि उनले अमेरिकाबाट रकम भित्र्याएर काठमाडौंका विभिन्न थुम्कामा थुप्रै गुम्बा बनाइसकेका छन् । आफ्नो गाउँ हेलम्बुमा मात्रै उनले भव्य गुम्बा बनाएका छन् ।’

लामाले बनाएका गुम्बाको लगानी सबै फ्रि तिब्बत मुभमेन्ट’कै रहेको ति जानकारको भनाई छ । बौद्ध धर्मले मानव तस्करीजस्तो ठूलो अपराध केहिलाई पनि मान्दैन । यस्तै, विभिन्न विस्तारका नाममा ठूलो मानव तस्करी समेत यसमामिलामा लागेकाहरुले गरिरहेका छन् । उनले भने, ‘रामलाल बम्जनको आश्रमबाट बेपत्ता भएको भनिएका बालबालिका तथा युवा युवतीको सन्दर्भमा पनि यो कडी जोडिएको हुनसक्छ । यो भित्र सुसप्त तथा खतरनाक गिरोह छ । किन भने त्यहाँ एकले अर्कालाई सिध्याउने गराब प्रवृत्ति मौलाउँदो छ ।’ नभन्दै अहिले नेपाली युवती तस्करीको मुख्य ट्रान्जिट नै सिंगापुर बनिरहेको छ । कोरोना महामारीका बेला एक विशिष्ट विदेशी पाहुना र उच्च बौद्ध धर्मगुरु ‘रिम्पोछे’को शव ल्यारक्याल लामाले गुम्बाभित्र दम्पच पार्न लगाएका ति जानकारले बताएका छन् ।

‘रामग्राम’स्तूपको महत्व
बौद्ध साहित्य अनुसार सम्राट अशोकले विभिन्न मुलुकमा ८४ हजार स्तूप बनाउने क्रममा सात वटा स्तूपबाट अस्थिधातु निकाले । रामग्राममा राखिएको अस्थिधातु निकाल्ने क्रममा वरिपरिबाट नागराजले घेरेर संरक्षण गरेर राखेको भेटियो । खनेर अस्थिधातु निकाल्न खोज्दा नागराजले आफूले जस्तै शुद्ध गरेर राख्न सक्ने भए मात्रै लैजान र नभए अनिष्ट हुने आज्ञा गरेपछि अशोकले निकालेनन् ।

त्यो स्तूप रामग्राममा सुरक्षित रहेको विश्वास गरिन्छ भने अस्थिधातु छ वा छैन भनेर हालसम्म खोज-अनुसन्धान हुन सकेको छैन । चिनियाँ यात्री फासियान (पाँचौं शताब्दी) र हुएन साङ (सातौं शताब्दी)को यात्रा सस्मरणमा उल्लेख भएका आधारमा बुद्धका आठ अस्थिधातु राखेर बनाएका स्तूपमध्ये रामग्राम एक हो भन्ने गरिन्छ । त्यसको वास्तविकताबारे वास्तविक तथ्य खोजिएको छैन ।

नवलपरासीको सदरमुकाम परासीबाट दक्षिणतर्फ तीन किलोमिटर पर उजैनी गाउँ छ । उजैनीबाट करिब १५ मिनेट पूर्वतर्फ हिँडेपछि झरही खोलाको किनारमा समतल मैदानमा घाँसे थुम्को भेटिन्छ । जुन थुम्को हो, रामग्राम स्तूप । विश्वभरका बौद्धमार्गीहरू गौतम बुद्धको अस्थिधातु रहेको एक मात्र पवित्र स्तूपका रूपमा बौद्ध पाठ र परित्राण पाठका गर्न त्यहाँ पुग्छन् ।

सम्बन्धित समाचार

रामग्राममा ७५ अर्बको घोटाला काण्ड मच्चाइदै, प्राइभेट कम्पनीमार्फत करिब ४०० घर बस्ती उठिबास

विवादित ‘रामग्राम’ निर्माणको उदघाटनमा बौद्ध धर्मगुरु र विक्षुहरुलाई यसरी उतारियो (फोटोसहित)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*