५३ लघुवित्त: प्रमुख सूचकहरुका आधारमा कुन सबैभन्दा अब्बल ?

३ जेष्ठ २०८१, बिहीबार १०:०७

काठमाडौं । लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।तेस्रो त्रैमासमा अधिकाँश लघुवित्त कम्पनीहरुको वित्तीय अवस्थामा सुधार आएका देखिन्छ। धेरै लघुवित्तहरुले गत वर्षको तुलनामा नाफा बढाएका छन्।

नेपाल राष्ट्र बैंकले लघुवित्तका ऋणीलाई समेत दिएको ऋण पुनसंरचना तथा पुनरतालीकीकरणको व्यवस्थाले पनि लघुवित्त कम्पनीहरुले सम्भावित जोखिमबापत छुट्याउनु पर्ने रकम कम भएको थियो। राष्ट्र बैंकले ऋण पुनसंरचना तथा पुनतालिकीकरणको लागि चैतसम्मको समय दिएको थियो। यसले गर्दा पनि लघुवित्त कम्पनीहरुको नाफामा सुधार भएको हो।

 

चुक्ता पुँजीको आधारमा

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी साना किसान लघुवित्तको रहेको छ । यसको चुक्ता पुँजी गत वर्षको भन्दा १४।२५ प्रतिशतले बढेर ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँ थियो । छिमेक र निर्धन उत्थानको पुँजी २ अर्बभन्दा माथि छ । यी बाहेक ९ कम्पनीको पुँजी १ अर्ब रुपैयाँभन्दा धेरै छ ।

जगेडा कोषको आधारमा

तेस्रो त्रैमासम्ममा सबैभन्दा धेरै जगेडा कोष पनि साना किसान लघुवित्तको नै रहेको छ । यसको जगेडा कोष गत वर्षको तुलनामा ९५।०८ प्रतिशतले बढेर ३ अर्ब ७५ करोड ६९ लाख ३७ हजार रुपैयाँ पुगेको छ । छिमेक र निर्धन उत्थानको जगेडा कोषमा २ अर्ब भन्दा धेरै छ । यी बाहेक अरु ७ लघुवित्त कम्पनीको जगेडा कोष १ अर्बभन्दा धेरै छ ।

खुद ब्याज आम्दानीको आधारमा

नेप्सेमा सूचीकृत लघुवित्त कम्पनीहरुको खुद ब्याज आम्दानी समग्रमा १।३० प्रतिशतले बढेर १८ अर्ब ४१ करोड ५२ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले १८ अर्ब १७ करोड ८८ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । यसअवधिमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी कमाउनेमा छिमेक लघुवित्त रहेको छ । यसको खुद ब्याज आम्दानी २ अर्ब ५ करोड ६६ लाख ४६ हजार रुपैयाँ पुगेको छ । यो बाहेक अरु ४ कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब रुपैयाँभन्दा धेरै छ ।

खुद नाफाको आधारमा

चैत मसान्तसम्ममा लघुवित्त कम्पनीहरुको खुद नाफा समग्रमा २।८१ प्रतिशतले बढेर ३ अर्ब ७५ करोड ८४ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले ३ अर्ब ६५ करोड ५५ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ । यसको खुद नाफा ६४ करोड ३७ लाख ६२ हजार रुपैयाँ छ । यसअवधिमा ८ कम्पनी भने नोक्सानमा छन् ।

खराब कर्जाको आधारमा

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तहरुको खराब कर्जा औसतमा ०।५१ प्रतिशत विन्दुले घटेर ६।५५ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष यसैअवधिमा यिनीहरुको औसतमा खराब कर्जा अनुपात ७।०७ प्रतिशत विन्दु कायम भएको थियो । सबैभन्दा कम खराब कर्जा फस्र्ट माइक्रोफाइनान्सको ०।७४ प्रतिशत छ भने सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तको १३।५६ प्रतिशत छ । ९ कम्पनीको खराब कर्जा १० प्रतिशतभन्दा धेरै छ ।

प्रतिसेयर आम्दानीको आधारमा

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी नेरुडे लघुवित्तको रहेको छ । यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ८१ पैसा छ । यसको प्रतिसेयर आम्दानी अघिल्लो वर्षकोभन्दा १० रुपैयाँ ९० पैसाले बढेको हो । यस अवधिमा ८ कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*