नियामकको कसिलो नीतिले राज्यलाई घाटा, शेयर बजार कारोबारबाट प्राप्त राजस्वमा उच्च गिरावट

दिपक विष्ट
६ जेष्ठ २०८१, आईतवार १७:३८

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्म सेयर लगानीकर्ताहरूले सरकारलाई कुल ४ अर्ब १५ करोड ३० लाख ४१ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् । यस अवधिमा लङ ट्रम सेयर होल्ड गर्ने लगानीकर्ताहरूले १ अर्ब १ करोड १४ लाख रुपैयाँ, सर्ट ट्रम कारोबार गरी लाभ लिने लगानीकर्ताले २ अर्ब ६२ करोड ३६ लाख र ५१ करोड ७८ लाख रुपैयाँ कर्पोरेटहरूले पुँजीगत लाभकर बुझाएका हुन् ।

राज्यलाई प्राप्त राजस्व पछिल्ला समय निरन्तर ओरालो लागि रहेको छ । शेयर बजारले गति लिन नसक्दा शेयर बजारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर समेत घटी रहेको हो । यसबिचमा पुँजी बजारमा आएका अनेकौँ उतार–चढावले बजारले सुधार तिर लम्किन दिएन । जसको प्रत्यक्ष असर राज्यलाई प्राप्त हुने पुँजीगत लाभकरमा परेको थियो ।

चैतको तुलनामा २५ प्रतिशतले घट्यो कर

चैत महिनाको तुलनामा वैशाखमा पुँजीगत लाभकर २४.९६ प्रतिशतले घटेको छ । शेयर बजारका लगानीकर्ता नियामकका नीतिगत अवरोधको चेपुवामा पर्दा लाभकर घटेको हो । वैशाखमा लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षमा थिए । पोलिसिमा परिमार्जन हुन्छ भन्ने आशले लगानीकर्ता पर्ख र हेरको रणनीतिमा रहेका थिए ।

चैतमा ४८ करोड ३४ लाख ४० हजार रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएकोमा वैशाखमा भने ३६ करोड २७ लाख ४२ हजार रुपैयाँमा सीमित भएको हो । एक महिनाको अवधिमा राज्यलाई प्राप्त हुने १२ करोड ६ लाख ९८ हजार रुपैयाँ गायब भएको छ ।

वैशाखमा लङ ट्रम ११ करोड ४३ लाख, सर्ट ट्रम १८ करोड ४३ लाख र कर्पोरेट क्यापिटल गेन ट्याक्स ६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

कुन महिनामा कति भयो पुँजीगत लाभकर सङ्कलन ?

शेयर बजारबाट माघ महिनामा सबै भन्दा बढी पुँजीगत लाभकर सङ्कलन भएको छ । बजारबाट सरकारले माघ महिनामा मात्रै ९७ करोड २० लाख रुपैयाँ पुँजीगत लाभकर पाएको छ ।

सबै भन्दा थोरै पुँजीगत लाभकर सङ्कलन कात्तिक महिनामा भएको देखिन्छ । सो बेला बजार निरन्तर ओरालो लागेको थियो । साथै, दसैँ र तिहार लामो बिदा भएका कारणले लाभकरमा समेत प्रभाव परेको हो । कात्तिकमा ८ करोड ४१ लाख ५४ हजार ५६६ रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको हो ।

त्यस्तै, पुसमा ७४ करोड ३९ लाख १३ हजार रुपैयाँ, साउनमा ४० करोड ८ लाख ९१ हजार रुपैयाँ, मङ्सिरमा ३० करोड ५३ लाख २४ हजार रुपैयाँ, असोजमा २१ करोड ९५ लाख ७९ हजार रुपैयाँ, भदौमा १४ करोड ६९ हजार रुपैयाँ र फागुन महिनामा मात्र ४४ करोड ९ लाख रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको सिडिएसको तथ्याङ्कले देखाएको छ । छोटो समयमै नाफा बुक गरी लगानीकर्ता हाबी हुँदा शेयर बजारबाट उठ्ने लाभकर बढ्दो क्रममा रहेको छ । बजारको आकार बढ्दै जाँदा दीर्घकालीन लगानीकर्ता भने घट्दै गएको सिडिएस र क्लियरिङका उपप्रबन्धक तथा सूचना अधिकारी सुरेश न्यौपानेले बताए ।

सरकारले ३६५ दिनभन्दा धेरै धितोपत्र होल्ड गरी नाफामा बिक्री गर्नेलाई ५ प्रतिशत र सो समय भन्दा कम समय धितोपत्र होल्ड गरी पुँजीगत लाभ लिने लगानीकर्तालाई ७।५ प्रतिशत कर लगाउने गरेको छ ।

राज्यको नजर पुँजी बजारमा नपर्दा अर्बौँ राजस्व गुम्दै

नेपालमा धितोपत्रको कारोबारबाट प्राप्त हुने पुँजीगत लाभमा कर लाग्ने प्रचलन २०५८ साल साउन १ गतेदेखि सुरु भएको हो । आयकर ऐन २०५८ को दफा ८९ (क) अनुसार सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबारमा सरकारले २०५८ साउन १ गतेअघि खरिद गर्ने खरिदकर्ताले उक्त मितिको अन्तिम मूल्यलाई खरिद मूल्य मानेर आफ्नो लगानी विक्रीबाट प्राप्त लाभमा अग्रिम पुँजीगत लाभकर कट्टा गर्ने व्यवस्था गरेको थियो ।

लगानीकर्ताको मनोवैज्ञानिकले राज्यलाई घाटा हुने इतिहासले केलाउँदा प्रस्ट हुन्छ । पछिल्लो समय पनि शेयर बजार नीतिगत अवरोधको चेपुवामा परेको छ । बजारलाई नियामकको नीतिले थिचेर राखेको लगानीकर्ताहरूका तर्क रहँदै आइरहेका छन् ।

यसबिचमा कयौँ लगानीकर्ताले बजार अर्बौँ गुमाएका थिए । बैङ्किङ सेक्टरमा लगानी गरेका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । अहिले अधिकांश वाणिज्य बैङ्कहरूको शेयर न्यूनतम मूल्य नजिक पुगी रहेका छन् ।

कारोबार गर्न नजान्दा लगानीकर्ताले तिरे साढे पाँच करोड रुपैयाँ जरिवाना

बेला बेला नीतिगत सुधारको माग गर्दै लगानीकर्ता नियामकको दैलोमा पुग्ने गरी पनि आश्वासन मात्र पाउने गरेका छन् । जसको घाटा राज्यलाई नै पर्ने गरेको छ । पुँजी बजार चलायमान नहुँदा राज्यलाई नै अर्बौँको राजस्व घाटा भइरहेको लगानीकर्ता छिटेलाल रौनियारले बताए । उनले भने, ‘मौद्रिक नीतिको तेस्रो समीक्षा मार्फत लगानीकर्ताका माग सम्बोधन भएन । बजार चलायमान हुनु नसक्दा राज्यलाई प्राप्त हुने राजस्वमा भारी गिरावट आएको छ ।’

राज्यले बोलिमा पुँजी बजारलाई प्राथमिकता दिने गरे पनि काममा भने देखिन सकेको छैन । अर्थमन्त्री वर्षामान पुनले शेयर बजारका लगानीकर्ताका लागि सिन्को समेत भाँच्न नसकेको लगानीकर्ता राधा पोखरेलले बताइन् । उनले भनिन्, ‘अर्थमन्त्री पुन नियुक्ति हुँदा जुन प्रतिबद्धता गर्नु भएको थियो त्यो भएन । सुझाव माग त गर्नु भयो तर सुझाव पेस गर्दा समेत शेयर बजारका लगानीकर्ताका लागि सिन्को समेत भाँच्न सक्नु भएन । सोही कारण बजार ओरालो दिसा तिर अग्रसर  भइरहेको छ ।’

लगानीकर्ता दीपेन्द्र अग्रवालले भने पुँजी बजारमा भइरहेका गतिविधिलाई भने सकारात्मक रूपले हेरी रहेको बताए । उनले भने, ‘म जहिले पनि पुँजी बजारका लगानीकर्तालाई प्रोत्साहन गरी रहन्छु । मौद्रिक नीतिमा केही नआए पनि अब हामीले बजेटमा आस गरेका छौ । आशा छ सकारात्मक रूप लिने छ ।’

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*